बैशाख २३, २०८२ मंगलबार

नेपालमा डेंगुका तीन प्रकारका भाइरस सक्रिय

बिर्तामोड । नेपालमा डेंगुका तीन प्रकारका भाइरस सक्रिय रहेको पाइएको छ । डेंगुका भाइरसका स्वरुप सेरोटाइप–१, सेरोटाइप–२, सेरोटाइप–३, सक्रिय रहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जानकारी दिए ।

विगत सात वर्षअघि भने सेरोटाइप–१, सेरोटाइप–२, सेरोटाइप–३, सेरोटाइप–४ सक्रिय रहेका थिए । ‘भाइरसको जीन अध्ययन गर्दा अहिले तीन प्रकारका भाइरसका स्वरुप सक्रिय रहेको पाइएको छ’, उनले भने । शाखाका प्रमुख डा. दाहालका अनुसार कात्तिकसम्म लामखुट्टे सक्रिय हुने भएकाले जोखिम हुने बताए । उनले कात्तिकपछि जाडो अलि बढ्ने र त्यसपछि डेङ्गी सार्ने लामखुट्टे पनि हराउँदै जाने बताए ।

डेङ्गी सङ्क्रमण हुम्ला बाहेक सबै जिल्लामा देखिएको छ । यस्तै देशभर २७ हजार एक सय ५३ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ भने सङ्क्रमणको कारणले अहिलेसम्म ११ जनाको निधन भइसकेको छ । सबैभन्दा बढी कास्कीमा सात हजार ८० जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस्’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएपछि टोकेपछि डेङ्गु रोग लाग्दछ ।

उपत्यकामा डेङ्गी सङ्क्रमण पाँच हजार सात सय ४८ जनामा देखिएको छ । काठमाडौँ जिल्लामा चार हजार ६० जना, भक्तपुर छ सय २८ र ललितपुर एक हजार ६० जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।
वर्षाको बेला पानीका संकलन गरेर राख्ने र संकलन गरिएको पानीमा लामखुट्टे रहने र त्यही लामखुट्टेले टोक्ने भएकाले डेंगुको सङ्क्रमण बढेको हो । डेंगु रोगको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न निर्णय सरकारले गरेको छ ।

प्रकाशित मिति : कार्तिक १४, २०८१ बुधबार  १२ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]