चैत्र १५, २०८० बिहीबार

प्रजातन्त्र दिवसमा बुद्धशान्तिमा घुम्ती शिविर

भद्रपुर । जिल्ला प्रशासन कार्यालय झापाले बुद्धशान्ति गाउँपालिकामा निःशुल्क एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने भएको छ ।

राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्य पारेर आगामी फागुन ७ गते आयोजना हुने घुम्ती शिविरमा झापास्थित १८ वटा सरकारी कार्यालयले स्थानीयबासीलाई सेवा तथा सुविधा प्रदान गर्ने प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले जानकारी दिए ।

बुद्धशान्ति–३ स्थित बुद्ध आदर्श माध्यमिक विद्यालयमा शिविर सञ्चालन हुनेछ । कार्यक्रमको व्यवस्थापन गाउँपालिकाले गर्ने जनाइएको छ । जिल्ला प्रशासन कार्यालय झापामा सोमबार बसेको कार्यालय प्रमुखहरुको बैठकले सेवालाई प्रभावकारी बनाउने, कार्यक्रमस्थलमै सार्वजनिक सुनुवाई गर्नेलगायतको निर्णय गरेको छ ।

शिविरमा नेपाल परिवार नियोजन संघले महिलाको पाठेघरको मुखको क्यान्सरको ‘भीआइए’ परीक्षण गर्ने लगायतका यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी परामर्श सेवा प्रदान गर्ने जनाएको छ ।

यसैगरी, कार्यक्रममा नेपाली सेनाले सर्पदंश सम्बन्धी सचेतनामूलक कार्यक्रम गर्ने, नेपाल प्रहरीले साइबर अपराध, लागू औषध निषेध र ट्राफिक नियम सम्बन्धी कार्यक्रम प्रस्तुत गर्ने, मेची अञ्चल अस्पतालले स्वास्थ्य परीक्षण गर्ने, जिल्ला जनस्वास्थ्य कार्यालयले विभिन्न रोगको विषयमा स्वास्थ्य शिक्षा कार्यक्रम गर्ने लगायतका निर्णय भएको प्रजिअ रानामगरले बताए ।

शिविरमा डिभिजन वन कार्यालयले विभिन्न प्रकारका विरुवा वितरण गर्ने र हात्तीबाट बच्ने उपाय सिकाउने, आन्तरिक राजस्व कार्यालयले पान दर्ता फाराम संकलन र कर सम्बन्धी अन्य परामर्श सेवा प्रदान गर्ने, कृषि ज्ञान केन्द्रले माटो परीक्षण गर्ने, जिल्ला आयुर्वेद अस्पतालले विरामीको परीक्षण गर्ने, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले गोबर जाँच, बोका बन्ध्याकरण तथा औषधि उपचार गर्ने, नेपाल रेडक्रस सोसाइटीले रक्तदान कार्यक्रम गर्ने, नेपाल टेलिकमले निःशुल्क फोरजी सिमकार्ड वितरण गर्ने, मेची आँखा अस्पतालले निःशुल्क आँखा जाँच तथा औषधि वितरण गर्ने लगायतका कार्यहरु हुने बैठकमा निर्णय भएको छ ।

प्रकाशित मिति : माघ २०, २०७६ सोमबार  ६ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]