खुद्रा साकोसको साधारणसभामा १३ जना सम्मानित
शिवसताक्षी । झापा शिवसताको दुधेमा रहेको खुद्रा बचत तथा ऋण सहकारी संस्थाले १८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले आज विभिन्न विधामा सहकारीका सदस्यहरुलाई सम्मान गर्दै आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
संस्थाले वार्षिक साधारण सभाको अवसर पारेर संस्थामा शेयर सदस्यहरु १३ जनालाई सम्मान गरेको खुद्रा बचत तथा ऋण सहकारी संस्थाले जनाएको छ । सम्मानित हुनेहरुमा जेष्ठ सदस्यहरुतर्फ छविलाल पाठक, डिकबहादुर बुढाथोकी, रन्जनादेवी जवेगु, र डम्बरकुमारी ढकाल रहेका छन । त्यस्तै असल बचत कर्ता तर्फ भीमबहादुर थाम्सुहाङ्ग, रुद्र बजगाई, असल ऋणीतर्फ मनिकुमारी नेम्वाङ्ग, खगेन्द्र उप्रेतीलाई सम्मान गरिएको संस्थाका अध्यक्ष नारायणप्रसाद बजगाईँले जानकारी दिए ।
त्यसैगरी संस्थाले संस्थाका सदस्यहरुको छोरा छोरी मध्येबाट २०८० सालको एसइइ परीक्षामा उत्कृष्ट जिपिए प्राप्त गर्ने ४ जनालाई सम्मान गरेको छ ।
जसमा सामुदायिक विद्यालयतर्फबाट आर्जु चुडाल, प्रज्वल मैनाली, संस्थागत विद्यालय तर्फका आभास बानिया र मल्लिका दुलाललाई सम्मान गरिएको छ। संस्थाले सबैलाई नगद जनही २५ सय सहित सम्मान गरेको जनाएको छ । त्यस्तै कार्यक्रमकी प्रमुख अतिथि समेत रहकी कोशी प्रदेश सहकारी बचत संघकी वरिष्ठ उपाध्यक्ष चन्द्रा खड्का भट्टराईलाई समेत संस्थाले सहकारी अभियान्ताको रुपमा सम्मान गरेको थियो ।
संस्थाले आ.व. २०८०-८१ मा १ करोड ४४ लाख ८८ हजार ८९२ आम्दानी र १ करोड ६३ लाख ४८ हजार ५१२ खर्च विवरण प्रतिवेदन उल्लेख गरेको छ । त्यस्तै गरी संस्थाले आ.व. २०८०÷ ८१ मा ८ करोड ६४ लाख ३ हजार ५२१ बचत संकलन र ९ करोड ५० लाख ८४ हजार ७४६ रकम ऋण लगानी गरेको संस्थाले जनाएको छ।
साधारण सभामा संस्थाका अध्यक्ष नारायण प्रसाद बजागाईँले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले सहकारी क्षेत्रमा कोभिड पछाडीका समयहरु प्रतिकुल हुँदै गरेको बताए । देश भरी आर्थिक मन्दीका कारण व्यवासयीहरु धारासायी बन्दा त्यसको केही असर आफ्नै सहकारीमा पनि पर्न थालेको छ । उनले भने, यसैका कारण सहकारीले अघिल्लो वर्षमा अनुमान गरेको लक्ष्यमा पुग्न सकिरहेको छैन । कतिपय ऋणीहरु सदस्यहरु अभियान्ता बनेर विद्रोहमा उत्रिएका समेत पाइएको छ । कतिपय ऋणीहरु डिप्रेसनको सिकार भएको विभिन्न सञ्चार माध्यमहरुबाट सुनिएको छ । यस्तो प्रतिकुल अवस्थामा पनि यस संस्थालाई अघि बढाउन हामी सफल भइरहेको अध्यक्ष बजगाईको भनाई छ ।
कार्यक्रमकी प्रमुख अतिथि सहकारी अभियान्ता चन्द्रा खड्का भट्टराईले देशै भरी वित्तीय संकट हुँदा कोभिड पछाडी वित्तीय कारोबार गर्ने सबै क्षेत्रमा समस्या पर्न थालेको बताइन् । सहकारीले आफ्नो कारोबार शेयर सदस्यहरुलाई चुस्त दुरुस्त देखाई अहिलेको वित्तीय संकटको सामाना गर्दै यसलाई माथी उठान भुमिका खेल्नु पर्ने उनले बताइन् । केही सहकारीले ऐन र विनियम विपरित कारोबार गर्दा समस्या आएको छ । सहकारीले सहकारी ऐन र परिधि भित्र रहेर कार्य गर्न समेत उनले सुझाएका थिइन् ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी शिवसताक्षीका सभापति गोविन्द काफ्ले, सतासीधाम खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष दिपक गिरी, सताक्षीधाम साहित्य संगमका अध्यक्ष उमानाथ दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाको लेखा समितिको प्रतिवेदन लेखा समिति संयोजक धनबहादुर कटुवालले प्रस्तुत गरेका थिए भने कार्यक्रमका सञ्चालन संस्थाका लेखापाल लोकेश खनालले गरेका थिए ।