बैशाख १७, २०८१ सोमबार

चारपाने प्रकरण : कसले गर्यो विभत्स हत्या ?

सर्चमा कुकुरको प्रयोग / ससुराली पक्षसँग आशंका

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका – २ चारपानेमा मंगलवार एक जना पुरुषको शव विभत्स अवस्थामा फेला परेको छ । घटनास्थलको दृष्यले हत्या पनि क्रुर ढंगले गरिएको देखाएको छ । यतिसम्म कि घटनास्थल क्षेत्रमा पुरुषको लिङ्गसहित अन्य अंग समेत काटेर फालेको अवस्थामा भेटियो । घटनास्थल क्षेत्रमा जोतिएका खेतबारी मज्जाले माडिएको देखेपछि सबैले निर्मम तरिकाले हत्या गरेको हुन सक्ने अनुमान गरेका छन् ।

चारपाने चोकदेखि दक्षिण करिव ३ सय मिटर क्षेत्रमा भएको रहस्यमय हत्याबारे यथार्थ पत्ता लाग्न सकेको छैन । पहिलो दिन घटना बाहिर आएपछि इलाका प्रहरी अनारमनी, जिल्ला प्रहरी झापा र प्रदेश प्रहरीको टोली यथार्थ पत्ता लगाउन अनुसन्धान गरिरहेको छ । हत्याको घटनाबारे अनुसन्धान गर्न विशेषज्ञ कुकुरले सर्च (खोजी) गरेको छ । प्रहरीले कुकुरको सर्चलाई आधार मानेर पनि अनुसन्धान अघि बढाइरहेको प्रहरीको भनाई छ । संघीय प्रहरी इकाइ कार्यालय धरानबाट ल्याएको विशेषज्ञ कुकुरले एक चरण खोजी गरेको छ । खोजीको क्रममा कुकुरले घटनास्थलबाट पूर्वपश्चिम राजमार्गसम्म पहिल्याएको थियो । त्यसले हत्यारा सडक क्षेत्रबाट सवारीमा चढेर भागेको हुन सक्ने वा हत्याको घटना त्यहाँबाट शुरु भएको अनुमान गरिएको छ ।

आगो लागेको परालको थुप्रोभित्र भेटिएको शव अहिलेसम्म कसको भन्ने आधिकारिक रुपमा खुल्न सकेको छैन । तर, प्रहरी र स्थानीयबासीले एक स्थानीय मजदुर हराइरहेकोले त्यो शव उनैको हो भन्ने आशंका गरेका छन् । अपराधस्थल नजिकै बस्ने एक पुरुष हराइरहेकाले प्रहरीले उनकै शव हुनसक्ने आकलन गरेर अनुसन्धान गरिरहेका छन् ।

शव जलेको ठाउँदेखि केहि मिटर पूर्वमा लिङ्गको टुक्रासहित शरिरका विभिन्न अंग फेला परेपछि प्रहरीले त्यहाँ घेरा लगाएर प्रमाण सुरक्षित गरिरहेको छ । स्थानीयका अनुसार हराएका व्यक्ति रहमान शेखका ज्वाई भन्ने आशंका छ । ज्वाई भनिने भारतीय नागरिक पनि अहिले सम्पर्कमा नहुँदा शंका गरिएको हो । सोहि कारण प्रहरीले रहमान र उनकी छोरी शुष्मालाई प्रहरी कार्यलय अनारमनीमा राखेर अनुसन्धान थालेको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मुकुन्द रिजालले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन् । उनका अनुसार अहिल्यै किटान गर्न सकिने अवस्था छैन । सोधपुछका लागि केहि व्यक्ति नियन्त्रणमा लिइएको छ । घटनाबारे तिब्र अनुसन्धान भइरहेको उनले जानकारी दिए । भारतीय नागरिकको हत्यामा कतै भारतीय नै हत्यारा हुन् कि भन्ने अड्कल काटिएको छ । कुकुर रोडसम्म आएर फर्किएको दृष्यले घटनामा भारतीयहरुकै संलग्नता रहेको हुन सक्ने अनुमान छ । घटनास्थल क्षेत्रमा रगतका धेरै दागसहतिका ढुङ्गा, इटा समेत भेटिएका छन् । सो क्षेत्र हत्याको घटनाले स्तव्ध र त्रसित भएको छ ।

प्रकाशित मिति : माघ २२, २०७६ बुधबार  १० : ५५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]