जेष्ठ १३, २०७७ मंगलबार

युएइले बाँडेको मुस्कान पढेपछि

अनुभव/अनुभूति

म स्वदेशमै गर्जो टार्न मुस्किल परेपछि वैदेशिकका लागि अन्तिम विकल्पका रूपमा युएई आएकी सर्वसाधारण नेपाली नारी हुँ । म दैनिक केही लेखिरन्छु तर सार्वजनिक गर्दिनँ । मेरी प्यारी छोरी आशिकालाई सम्बोधन गर्दै मैले कति डायरीहरु भरेकी छु, त्यो अहिलेसम्म मलाई मात्रै थाहा छ । म लेखक त हुँदै होइन तर असल पाठक चाहिँ हुँ । असल पाठकले पढ्नुपर्छ । त्यसैले म नेपालबाट पुस्तक मगाएर केही न केही पढिरहेकी हुन्छु ।

अहिले त अनलाइनमै सुन्न थालेकी छु । पुस्तक अनि अनलाइनमै सुन्ने भनेपछि उज्यालो रेडियो नेटवर्कको श्रुतिसंवेग र अच्युत घिमिरे बुलबुलको नाम अग्रपंक्तिमा आउँछ । उनै अच्युत घिमिरेले परिकल्पना गरेको पुस्तक युएईले बाँडेको मुस्कान युएईबाट सार्वजनिक हुने खबर युएईको नेपाली समुदायमा भाइरल भएको थियो । सन्दर्भ युएइले दिएको मुस्कानको हो ।

यो पुस्तकले युएईमा रहेका हरेक नेपालीहरुको जीवन, जगत, परिवेश, वातावरण, विगत र वर्तमान अवस्थालाई प्रष्ट र सरल शब्दमा उतारेको छ भन्नेमा म केही समय अगाडि नै विस्वस्त थिएँ । त्यही भएर आफ्नो डयुटीको बाबजुत पनि समय व्यवस्थापन गरेर १४० किलोमीटर टाढा रहेको अलएनबाट विमोचन समारोहमा नेपाल एम्बेस्सी पुगेर नै यो पुस्तक हात पार्न सफल भए । यो पुस्तक वितरणमा पनि केही योगदान गर्न पाएँ । विमोचन कार्यक्रम सकेर कम्पनीको आवासगृहमा फर्कदा करिब २ घन्टा लामो बसयात्रामा केही जीवनकथाहरु पढ्न थालेँ ।

यो पुस्तकको अध्ययन गरेपछिको समिक्षा गर्ने हैसियत त मेरो छैन तर यो पुस्तक पढेपछि जानीनजानी केही लेख्ने हिम्मत गरेकी छु । यो हिम्मत पनि यही पुस्तक पढेर नै आएको हो । जति पढ्दै जान्छु, उति कथाहरुले तान्दै लान थाले । आफ्नै अवस्थासँग कथा मिलेपछि यस्तो त मेरो जीवनमा पनि भएको थियो नि भन्ने भावना आउन थाले । पुस्तक पढी सकेपछि मलाई नि आफ्नो जीवनका केही भोगाइ राख्न मन लाग्यो ।

अफजल हुसेन जस्ता प्रतिभाशाली इन्जिनियरलाई नेपाल सरकारले चिन्ने हो भने नेपालले हाइड्रोपावरको क्षेत्रमा कायापलट ल्याउन सक्ने रहेछ । नजाने कति अफजल हुसेनहरु आफ्नो प्रतिभाको कदर नभएर विदेसमा गुमनाम छन् ।

अशोक चापागाईंको कथामा भनेजस्तो सोचेजस्तो हुन्न जीवन । मेरो जीवनमा वहाँको कथाले मेल खायो । म पनि सानैदेखि गाउँमा बस्न मन पराउने तर म २० वर्षको उमेरमा कसैकी बुहारी तथा श्रीमती बन्न पुगेँ । बाल्यकाल हुँदा मेरो बुवाआमाको दुखद सङ्घर्षपुर्ण जीवन मलाई यो पुस्तकले स्मरण गराइदियो । नारीले केही गर्न सक्दैन भन्ने समाजका ब्याक्तिहरुको अभिब्याक्तिहरुले मेरो मनमा इख पलाइ सकेको थियो ।

त्यो बेलादेखि नै म पुरुष सोसरह काम गरेर देखाउछु भन्ने इख बोक्थेँ। मेरो मान्यता के थियो भने प्रकृतिले नारीलाई दिएको शक्ति, वरदानलाई नेपाली समाजले बुझ्न सकेको छैन । नारीलाई कमजोर ठान्ने मानिस स्वयम नारीको कोखबाटै जन्म भएको हो भन्ने कुरा किन बिर्सन्छ रु नेपाली संस्कार सभ्यताले नारीलाई उपेक्षापुर्ण नजरले हेर्छन् रु यो पुस्तकमा भएका ३ नारीका कथाहरुले हरेक महिलाहरुलाई ऊर्जा दिन सफल छन् । तारा भुसाल, एलिसा राई र लक्ष्मी शर्मा त उदाहरण र बिम्ब बनेर यो पुस्तकमा समेटिएका छन् । यो कथा बिदेसिएका, बिदेश जान तयार हरेक नेपाली नारीहरुको कथा हो ।

जहाँ गए पनि नेपाली नारीले आफ्नो जिम्बेवारी नारीले पुरा गर्नुपर्छ । म हरेक दिदीबहिनीलाइ यो भन्छु कि तपाईको श्रीमानले तपाईलाई झापड हान्न खोज्नुहुन्छ भने तपाई बदलामा झापड होइन, वहाँको हात समाएर रोक्नुहोस र प्रतिवाद गर्नुहोस् र
कथाकार तारा भुसालको जस्तो गतिलो उदारण बन्नुहोस । नारी शक्तिशाली हुन्छन् । नारी सक्षम र आत्मनिर्भर हुनुपर्छ भन्ने सोच राख्नेलाई कथाकार एलिसा राइको कथाले गतिलो प्रेरणा दिनेछ ।

यस पुस्तकका ३७ जना कथाकार हरुमध्येमा कथाकार राम ढुगेलको जीवन कहानी मर्मस्पर्शी र उत्प्रेरक छ । युएईको नेपाली पत्रकारितामा जबर्जस्त उपस्थिति जनाउने उहाँको क्षमता, धैर्य, लो प्रोफाइलमा रहेर आफ्नो कामलाई मात्रै फोकस गर्ने वहाँलाई मैले संस्थागत कामको सिलसिलामा चिनेकी थिएँ । वहाँले पुस्तकमा भने जस्तो म पनि क्षमता भएर पनि ठाउँ नपाइ बस्न बाध्य छु ।
म जे गर्न चाहान्थेँ, सो पुरा गर्न १५ वर्षे काठमाडौंको बसाइँमा पनि सकिनँ ।

मेरो जागिर त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टमा थियो । युएईले बाँडेको मुस्कानमा भनिए जस्तै दिनमा हजारौ सुटकेसहरुसँगै खुसीले भरिएका अनुहारहरुको आगमन हुन्थियो भने २र४ राता बाकस र २र४ मानसिक सन्तुलन गुमाएका महिलाहरु तथा ८र१० वर्ष परदेशमै जेल जीवनयापन गरेर फर्किने आगन्तुक देख्नु पर्थ्यो ।मेरो दिमागमा हजारौँको खुसी भन्दा पनि २र४ को दुखी अनुहारले बैदेसिक रोजगारप्रति नै नकारात्मक सोच पलाएको थियो ।

जो कोठामा पाहुनाको रुपमा बसेर बिदशिनेहरुलाई हामी श्रीमान् श्रीमती सल्लाह दिन भ्याइ हाल्थियौँ( विदेश जानु हुन्न, नेपालमै केही गर्नुपर्छ । तर कथाकार अशोक चापागाईंले शिर्षकमै भनेजस्तै सोचेजस्तो हुन्न जीवन । अरुलाई विदेश जानुहुन्न भनी सुझाव दिने म आफै मुस्कानको खोजीमा युएई आएको ६ वर्ष हुन लागेछ ।

कथाकर जे सागर ले भन्या जस्तो जीवन सोचे जस्तो सजिलो भए सुख, खुसी र मुस्कानलाई नै चिन्न नसकिने रहेछ । सुख चिन्न पनि दुस्खसँग साक्षात्कार गर्नुपर्ने रहेच्ज । यसैमा रहेछ जीवनको मज्जा । चुनौतीका अग्ला पहाडहरु छिचोल्दै अगाडि जानुपर्ने रहेछ जीवन । चुनौती छ र त मजा छ जीवन जस्तो लाग्न थालेको छ । यो पुस्तक पढ्दै जादा कुनैकुनै कथामा आफ्नै भोगाइ मिलेको भेटिन्छ । मेरो पनि त कथा यस्तै त थियो नि भन्ने अनुभुति हुन्छ ।

यो पुस्तक पढिरहदा म पनि यति त लेख्न सक्दो रहेछु नि आत्म बिश्वास पलायो मलाई । मेरो जीवनमा पनि मुस्कानका लेखकहरुको जस्तो परिवारमा सन्तानको आगमनसगै जागिरले दैनिक जीवन धान्न मुस्किल हुन थाल्यो हाम्रो परिवारमा । मेरो श्रीमान फेसन डिजाइनर भएको हुनाले हामीले गार्मेट स्थापना गरेका थियौं काठमाडौंमा ।

तर कथाकार प्रकाश कोइरालाले भने जस्तो नेपालमा बिज्नेसमा स्थापित हुन सजिलो थिएन । फलस्वरुप रिन लाग्यो । म सामान्य मजदुर थिएँ । व्यापाररव्यावसाय गर्न रिन पनि मजदुर साथीहरुबाट लिएकी थिए । दुख गरेर जम्मा गरेको पैसा सदुपयोग गरेर मैले केही प्रगति गरोस भनेर उहाँहरुले दिनु भएको थियो रिन । तर सोचेजस्तो हुन सकेन । राजनीति अस्थिरता र थोरै पुजीले गर्दा गार्मेण्ट्मा घाटा ब्यहोर्नुपर्ने भो । मलाई मेरो ब्यापारको घाटा भन्दा पनि साथीहरुको रिनको चिन्ता थियो ।

यस्तै अवस्थामा मात्रै नेपालीको अन्तिम बिकल्प बैदेसिक रोजगारी बन्न पुग्छ । यो अवस्थामा मेरो श्रीमानले बिदेश जाने सोच गर्नुभयो तर मैले चलिरहेको आफ्नो गार्मेन्ट बन्द गर्न चाहिनँ । वहाँ फेसन डिजाइनको क्षेत्रमा २० वर्षदेखि काम गरेको मानिस । यति दक्ष मानिस परदेशमा सम्बन्धित क्षेत्रमा काम पाए त ठिक हुन्छ तर मासिक ३०र३५ हजार त नेपालमै कमाउन सक्ने मानिस । फ़ेरि म एक्लैले गार्मेन्ट चलाउन पनि गारो हुने भएकोले म नै बिदेस जानुपर्छ भन्ने मैले अठोट गरे । यो विसयमा हामीबीच लामो छ्लफल भयो । महिलाको लागि खाडी असुरक्षित भन्ने मान्यता पहिले अति नै थियो तर त्यो गलत धारणा थियो । मलाई के लाग्छ भने महिलाले आफ्नो सुरक्षा आफै गर्नुपर्ने हुन्छ । बिग्रन खोज्नेलाई खाडी आइरहनु पर्दैन ।

यहाँ महिलाको उच्च सम्मान हुन्छ भन्ने कुरामा मेरो श्रीमान कन्भिन्स भए पछि मैले पनि त्यही बाटो रोजेँ सन् २०१४ मा र युएई आएकी हु । परदेशमा नेपाली महिला, के होला रु कस्तो होला रु काम गर्न सकिएला कि नसकिएला रु बासस्थान कस्तो होला रु यी विविध प्रस्न्हरु एकैपटक आउथे मनमा । तर मैले अलेनको अर्धसरकारी स्कुलमा काम गर्ने अवसर पाएँ । कम्पनीले सप्लाइमा पठाएको हो । नेपालमा कुरा बुझ्न सक्दैनन्,(सप्लाईको काम सबै खराव हुदैनन् । यहाँ अधिक कम्पनीमा जनशक्ति सप्लाई गरेर नै काम लिइन्छ । एक दुई जनाले दुस्ख पाए भन्दैमा सबैले दुख पाएका छन् भनेर बुझनु गलत हो ।

मैले पनि यही काम गरेर मेरो व्यापारलाई सन्तुलनमा ल्याएकी छु । घरब्याबहार मिलाएकी छु । परिवारलाई हासिखुसी राख्न सकेकी छु । छोरी आशिकालाई मुस्कुराउने बनाएकी छु । श्रीमानले झापामा गार्मेण्ट विस्तार गर्ने क्रममा हुनुहुन्छ । युएईले मलाई लक्ष्मी शर्मा जस्तै माइनसबाट प्लसमा ल्याएको छ । पुस्तकमा मेरो कथा छैन तर हरेक कथाहरुसँग मेरो कथा मिल्न जान्छ । त्यसैले यो पुस्तक मेरो पनि हो ।

अनि हो यो पुस्तक युएईमा कार्यरत करिब ३ लाख नेपालीहरुको पनि । जस्ले आफू, आफ्नो परिवार, समाज र देशकै जीवनमा मुस्कान र खुसी दिइरहेका छन्, समृद्धि दिलाएका छन् । छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिलाएका छन् । कोठामै टाक्सिएर बस्न विवश आफ्नो परिवारलाई एउटा सुन्दर घर दिलाएका छन् । यी सबको पछि परदेशको भुमिका छ । त्यसैले परदेशमा पासो मात्रै होइन, समृद्धिका आधारहरु पनि छन् । परदेशलाई गाली होइन, ताली दिनुपर्ने हुन्छ । यो पुस्तकले पनि त्यही खुसीको खोजी गरेको छ ।

सकारात्मक सन्देश लिएर आएको छ यो पुस्तक । विदेसिने हरेकले आफ्नो कथा, ब्यथा, अवस्था, विपन्न्तादेखि सम्पन्नताको संघर्षको नालीबेली, अभावदेखि सम्पुर्णताको कहानी हरेकले इमानदारिपुर्वक सरल भाषामा बयान गरेका छन् ।

युएईमा करिब ८ वर्षदेखि आफ्नो कामसँगै पत्रकारिता र सामाजिक क्रियाकलापमा सक्रिय झापा स्थायी घर भएका पत्रकार रामप्रसाद ढुंगेल र युएईको नेपाली साहित्यलाई संस्थागत सक्रियता दिलाउन सफल सिन्धुपाल्चोकका जयराम पराजुली उर्फ जे सागरले संयोजन र संकलन गरेको यो पुस्तकको परिकल्पना रेडियोकर्मी अच्युत घिमिरे बुलबुलले गर्नुभएको रहेछ । बुलबुल प्रकाशन प्रा लिले बजारमा ल्याएको यो पुस्तक युएईको नेपाली समुदायमा धेरै खोजिने, चर्चा बटुल्न सफल पुस्तकको सुचीमा परेको छ ।

पुस्तकको सफलताको शुभकामना । यो पुस्तकले युएईको सुन्दर पक्षलाई उजागर गरेको छ । यसलाई अन्य भाषामा अनुवाद गर्न सके युएईको त इज्जत अझ उचो हुने नै छ, त्यसमा नेपालीहरुको त्याग, योगदान र परिवर्तित जीवनको स्पष्ट तस्वीर विस्वले थापा पाउनेछ ।

सरस्वती बास्तोला / अलएन, युएई 

प्रतिक्रिया दिनुहोस्

इजलास डट.कम

बिर्तामोड,झापा
सूचना तथा प्रशारण विभाग दर्ता नं.
टाइम्स मिडिया नेटवर्क प्रा लि