बैशाख १३, २०८१ बिहीबार

दिल्लीमा फेरि आम आदमी पार्टीको सरकार

काठमाण्डौ – दिल्ली विधानसभा चुनावमा आम आदमी पार्टी (आप) ले फेरि एक पटक उत्कृष्ट प्रदर्शन गर्दै ६२ सिटमा जित हासिल गरेको छ । सन् २०१५ मा तीन सिट जितेको भारतीय जनता पार्टी (भाजपा) ले यसपटक आठ सिट जितेको छ । 

चुनाव आयोगका अनुसार जम्मा ७० सिटमध्ये आप ६२ सिटमा विजयी हुँदा भाजपाले आठ सिटमै चित्त बुझाउनु पर्‍याे । गएको चुनावमा शून्यमा रहेको काङ्ग्रेसले यसपटक पनि खाता खोल्न सकेन । 

मत प्रतिशतको कुरा गर्दा आप ५३ दशमलव ६५ प्रतिशत मतका साथ सबैभन्दा ठूलो पार्टी भएको छ । भाजपा ३८ दशमलव ४२ प्रतिशत मतका साथ दोस्रो स्थानमा छ । सन् २०१५ को विधानसभा चुनावमा नौ प्रतिशतभन्दा धेरै मत प्राप्त गरेको काङ्ग्रेस यसपटक मात्र ४ दशमलव २८ प्रतिशतमा सिमित भएको छ । 

मुख्यमन्त्री अरविन्द केजरीवाल, उपमुख्यमन्त्री मनीष सिसोदियासँगै राघव चड्ढा, आतिशी र दिलीप पान्डे विजयी भएका छन् । 

आप सरकारमा मुख्यमन्त्री रहेका सिसोदियाले आफ्नो प्रतिद्वन्द्वी भाजपाका रविन्द्र सिंह नेगीलाई तीन हजारभन्दा धेरै मतले पराजित गरे । सुरुवाती मतगणनामा भने सिसोदिया पछाडि रहेका थिए ।   

राजिन्दर नगर विधानसभा क्षेत्रबाट निवर्तमान विधायकको ठाउँमा चुनावी मैदानमा उत्रिएका राघव चड्ढाले पनि भाजपाका आफ्ना प्रतिद्वन्द्वी सरकार आरपी सिंहलाई पराजित गरे । 

आपका एसके बग्गाले कृष्णा नगर सिटमा जित दर्ता गरे जहाँ उनको प्रतिस्पर्धा भाजपाका अनिल गोयसलसँग थियो । त्रिनगर र शालीमार बाग सिटमा पनि अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टीले जित हासिल गरेको छ । 

आम आदमी पार्टीकी प्रीति तोमर त्रिनगर सिटमा १२ हजार मत प्राप्त गर्दै विजयी भइन् भने शालीमार बाग सिटमा बन्दना कुमारीले आठ सय मतले जित हासिल गरिन् । कोन्डली सिटमा आपका कुलदीप कुमारको प्रतिस्पर्धा भाजपाका राजकुमारसँग थियो, जहाँ कुलदीप विजयी भए । 

सुल्तानपुर माजराबाट आपका मुकेश कुमार अहलावतले भाजपाका रामचन्दर चावडियालाई पराजित गरे । 

आपका मोहिन्दर गोलयले रिठाला सिटमा भाजपाका मनीष चौधरीलाई हराउँदा जङ्गपुरा सिटमा आपका प्रवीण कुमारले भाजपाका इम्प्रीत सिंह बख्शीलाई हराए । आपका राम सिंहले बदरपुर सिटमा भाजपाका रामवीर सिंह बिधूडीलाई हराए । 

यता दिल्ली विधानसभा चुनावमा काङ्ग्रेसले अहिलेसम्मकै खराब प्रदर्शन गरेको छ र कुल मतदानमा पार्टीले पाँच प्रतिशतभन्दा कम मत प्राप्त गरेको छ । काङ्ग्रेसका ६३ जना उम्मेदवारको जमानत जफत गरिएको छ । 

पूर्व मुख्यमन्त्री शीला दीक्षित नेतृत्वको दिल्लीमा १५ वर्षसम्म शासन गर्ने काङ्ग्रेस लगातार दोस्रो पटक विधानसभा चुनावमा एक सिट पनि जित्न सक्षम भएन । 

पार्टीका तीन उम्मेदवार– गान्धी नगरबाट अरविन्दर सिंह लवली, बादलीबाट देवेन्द्र यादव र कस्तूरबा नगरबाट अभिषेक दत्तले मात्र आफ्नो जमानत बचाउन सके । 

दिल्ली काङ्ग्रेसका अध्यक्ष सुभाष चोपडाकी छोरी शिवानी चोपडाको कलकाजी सिटबाट जमानत जफत भयो । 

विधानसभाका पूर्वअध्यक्ष योगानन्द शास्त्रीकी छोरी प्रियङ्का सिंहको पनि जमानत जफत भएको छ । 

काङ्ग्रेस प्रचार समितिका अध्यक्ष कीर्ति आजादकी पत्नी पूनम आजाद पनि सङ्गम विहारबाट आफ्नो जमानत बचाउन सकिनन् । उनले मात्र दुई हजार ६ सय मत अर्थात् २ दशमलव २३ प्रतिशत मत पाइन् । 

मतगणना चलिरहँदा मतगणना केन्द्रमा सुरक्षा व्यवस्था प्रबल बनाइएको थियो । एग्जिट पोलले पनि सत्तारुढ आपको जितको अनुमान गरेको थियो । 

सन् २०१५ को दिल्ली विधानसभा चुनावमा आपले ६७ सिटको साथ प्रचण्ड जित हासिल गरेको थियो र भाजपा मात्र तीन सिटमा सिमित भएको थियो । त्यसबेला दुवै पार्टीको मत प्रतिशत क्रमशः ५४ दशमलव ३ र ३२ दशमलव ३ प्रतिशत थियो । 

प्रकाशित मिति : माघ २९, २०७६ बुधबार  ८ : २० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]