बैशाख १४, २०८१ शुक्रबार

‘सिन्धुपाल्चोकमा भेटिए कोरोनाको लक्षणसँग मिल्दोजुल्दो बिरामी’

काठमाडौं । सिन्धुपाल्चोकमा कोरोना भाइरस संक्रमितको लक्षणसँग मिल्दाजुल्दा बिरामी भेटिएका छन् । यस्ता बिरामी भेटिएपछि गाउँपालिकाले पहिचान गरिदिन आग्रह गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको छ ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ मा कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो बिरामी भेटिएका हुन् । गाउँपालिकाका अनुसार गाउँपालिका–३ को गुम्बाबस्तीमा रुघा, खोकी र अत्यधिक ज्वरोजस्ता लक्षणका बिरामी भेटिएका छन् ।

संक्रमित भेटिएको स्थान चीनसँगको सीमानजिकै पर्छ । यद्यपि, चीनसँग आवतजावत गर्ने बाटो भने त्यहाँ छैन ।

गुम्बाबस्तीका करिब जनामा कोरोना भाइरसका बिरामीमा जस्तो लक्षण देखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर बिकले अनलाइनखबरलाई जानकारी दिए ।

बिकका अनुसार, स्थानीय स्वास्थ्य चौकीको सम्पर्कमा पुगेका त्यस्ता बिरामीले औषधि सेवन गरे पनि निको भएको छैन । संक्रमित सबै बिरामी घरमै रहेको उनले जानकारी दिए ।

कोरोना संक्रमितमा जस्तो लक्षण बिरामीमा भेटिएपछि गाउँपालिकाले मंगलबार यसको पहिचान गरिदिन आग्रह गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको छ ।

पत्रमा सोमबारबाट यस्ता बिरामी भेटिएकाले यसको पहिचानमा छिट्टै सहयोग गरिदिन आग्रह गरिएको छ ।

‘२३ गतेदेखि यो बस्तीमा फाट्टफुट्ट यस्ता बिरामी भेटिएपछि गाउँपालिकाको स्वास्थ्यकर्मीसहितको टोली जाँदा उनीहरूले औषधिले निको नभएको बताए । त्यसपछि हामीले पहिचान गरिदिनुप¥यो भनेर मन्त्रालय, जिल्ला प्रशासन र जिल्ला स्वास्थ्य कार्यालयमा पत्र लेखेका हौं,’ प्रमुख प्रशासकीय अधिकृत बिकले भने ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठ भने सिन्धुपाल्चोकमा कोरोना भाइरसका संक्रमितमा जस्तो लक्षणका बिरामी भेटिएको हल्ला सुने पनि औपचारिक जानकारी भने नपाएको बताउँछन् । ‘कोरोना भाइरसका संक्रमितको लक्षणसँग मिल्दोजुल्दो बिरामी भेटियो भन्ने सुनेको छ । तर यसबारे औपचारिक जानकारी आएको भने मलाई थाहा छैन,’ प्रवक्ता श्रेष्ठले भने ।

सिन्धुपाल्चोक चीनसँग सीमा जोडिएको जिल्ला हो । यसअघि चीनबाट संक्रमण फैलन सक्ने भन्दै चीनसँग जोडिएको यहाँको तातोपानी नाका बन्द गरिएको थियो ।

चीनको वहानमा देखापरेको कोरोना भाइरस अहिले चीनसहित विश्वका २ दर्जन बढी मुलुकमा देखापरेको छ । यसबाट चीनमा मात्रै करिब १ हजार ज्यान गइसकेको छ भने ४२ हजारभन्दा बढी संक्रमित भएका छन् ।

प्रकाशित मिति : माघ २९, २०७६ बुधबार  ८ : ४० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]