सिंहबाहिनीदेवी मन्दिरमा नौ दिवसीय श्रीमद् देवी भागवत महापुराण
इन्द्रकुमार राई
शनिश्चरे । अर्जुनधारा नगरपालिका – ४ रातेखालस्थित सिंहबाहिनीदेवी मन्दिर (भद्रकाली शक्तिपीठ ) मा सीता विवाह पञ्चमीको अवसर पारेर आजदेखी नौ दिवसीय श्रीमद् देवी भागवत महापुराण तथा धनधान्याञ्चल ज्ञान महायज्ञ शुरु भएको छ ।
मन्दिरको बृहत्तर विकासका लागि २३ औं बार्षिक अनुष्ठानका रुपमा महायज्ञ आयोजना गरिएको हो । उद्घाटन समारोहका प्रमुख अतिथि एवं अर्जुनधारा नगरपालिकाका सामाजिक बिकास संयोजक भोला परियार पानसमा बत्ती बालेर महायज्ञको उद्घाटन गरेका हुन् । त्यस्तै सामाजिक व्यक्तित्व तुलसी श्रेष्ठले दानपेटिका उद्घाटन गरेका थिए भने मन्दिरका पूजारी दिनेश काफ्लेले धान्याञ्चल पर्वत उद्घाटन गरेका थिए ।
पण्डित जगन्नाथ भण्डारी प्रमुख कथा वाचक र पण्डित बालकृष्ण दाहाल उपवाचक रहने महायज्ञ २९ गते समापन हुने बताइएको छ । शक्तिपीठका अध्यक्ष राजेन्द्र अधिकारीको सभापतित्व र जग्गादाता ज्ञानेन्द्र अधिकारीको सञ्चालन रहेको कार्यक्रममा प्रमुख अतिथि परियारले बिकास निर्माण पूर्वाधार मात्र हो तर समाजमा विकृति, विसंगतिहरुलाई अन्त्य गर्नु पनि बिकास भएको बताए । उनले भने – मेरो कर्म भूमि र जन्म भूमि यही ठाउँ हो । धार्मिक स्थलका पुराना भौतिक संरचनाहरु भत्काई पुनः नयाँ निर्माण गरिन्छ । भावी सन्ततिका लागि मठमन्दिर, गुम्बाहरु गुरु योजना अनुसार निर्माण गरिनेछ । भाषा, कला, साहित्यको छुट्टाछुट्टै विशेषता छ । धर्म, संस्कृति र संस्कारको जगेर्ना गर्नुपर्छ उनको भनाइ थियोे ।
कार्यक्रममा अर्जुनधारा माविका अध्यक्ष तथा बिन्ध्याबासिनीसिंह देवी मन्दिरका सचिव एकदेव खनाल, दुर्गा पाञ्चायन मन्दिर लक्ष्मीपुरका अध्यक्ष छविलाल लम्साल, बागेश्वरी दुर्गा भगवती मन्दिरका सचिव देवराज बुढाथोकी, नव दुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक तोया ओली, शक्तिपीठका सदस्य तिलक भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
यसअघि झाँकी, पञ्चकन्यासहित कलश यात्राले नगर परिक्रमा गरि श्रवण हलमा ( मण्डप) आएर कार्यक्रममा परिणत भएको थियो । भद्रकाली शक्तिपीठमा हरेक बर्ष सीता विवाह पञ्चमीका दिन देखि महायज्ञ आयोजना गरिदैं आएको छ ।