झापा कारागार खचाखच : सबैभन्दा धेरै लागुऔषध र जक मुद्धाका कैदी
बिर्तामोड । खचाखच रहेको झापा जिल्ला कारागारमा अहिले भ्रष्टाचारको मुद्धामा सजाय भुक्तान गर्ने कैदीबन्दीको संख्या शून्य देखिएको छ । कारागारको अभिलेखमा भ्रष्टचारीसँगै सैनिक ऐन, खोटा चलन, मापसे, बैदेशिक रोजगार र कुटपिट अंगभंग मुद्धामा एक जना पनि कैदी नरहेको जिल्ला कारागार स्रोतले जनाएको छ ।

शुक्रवारको तथ्याङकमा कारागारभित्र ११ सय ५० कैदीबन्दी रहेको विवरण प्राप्त भएको थियो । कारागार क्षमताभन्दा चौगुणा धेरै केदीबन्दी रहेको झापामा लागुऔषध र जबरजस्ती करणीको मुद्धामा सजाय भुक्तान गर्नेको संख्या उच्च रहेको छ । लागुऔषधमा सजाय भुक्तान गर्नेको संख्या पहिलो छ भने जकमा दोस्रो छ ।
झापा जिल्ला कारागार भद्रपुरमा अहिले लागुऔषधको मुद्धामा १ सय १ जना कैदीबन्दी छन् भने थुनुवाका रुपमा ५८ जना बस्दै आएका छन् । यस्तै, जबरजस्ती करणीमा ७६ जना कैदी सजाय भुक्तान गरिरहेका छन् भने १ सय ९३ जना थुनुवा रहेका छन् । थुनुवाको फैसला बाँकी रहेकाले कैदीको आधारमा लागुऔषधकै मुद्धामा बस्ने बढि देखिएका छन् ।
तेस्रोमा कर्तव्य ज्यान मुद्धामा सजाय भुक्तान गर्नेको संख्या पाइएको छ । ३९ जना कैदी छन् भने सोहि मुद्धामा पुर्पक्षका लागि ४७ जना बसिरहेका छन् । बहुविवाह मुद्धामा थुनुवा सहित १४ जना छन् भने खुन डाकामा १ जना कैदी रहेको बताइएको छ ।