बैशाख १२, २०८१ बुधबार

सांसद लिङ्देनद्धारा हल्दिवारीमा जडित १० लाखको सडक बत्ति खरिद प्रक्रियामा शंका

बिर्तामोड । प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले हल्दिवारी–२ पाराखोपी बजारलाई झलमल्ल बनाएका छन् । स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तर्गत १३ वटा सडक बत्ति जडान गरिए पछि सो क्षेत्र झलमल्ल भएको हो । सांसद लिङदेनकै योजनामा सडक बत्ति जडान गरिएको छ ।

सांसद लिङ्देनले पूर्वाधार बिकास साझेदारी कार्यक्रम मार्फत १० लाख रुपैयाँ बजेटबाट सडकबत्ति जडान गरेको जानकारी दिए । उनले माघ अन्तिम साता हल्दिवारी – २ को विभिन्न ठाउँमा बत्ति जडान गरेको इजलाससित बताए । १० लाख बराबरको योजना सम्पन्न गर्न स्थानीय कुमार भण्डारीको अध्यक्षतमा उपभोक्ता समिति बनाएर सडक बत्तिको काम सकेको लिङ्देनको भनाई छ ।

यता, २ नं. वडाका अध्यक्ष राजेन्द्र योङहाङले सडक बत्ति जडानमा वडा कार्यालयसँग कुनै समन्वय नभएको जानकारी दिएका छन् । उनले भने, सडक बत्ति जोडिसके पछि मात्र थाहा भयो । हल्दिवारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलाराज थापा मगरले यस योजनाबारे आफुलाई थाहा नभएको बताएका छन् । उनले आफु भर्खरै आएकोले सडक बत्ति जडान कसरी भयो भन्न नसक्ने जानकारी दिए ।

सडक बत्ति जडान प्रक्रिया विधि विपरित भएको भन्दै स्थानीय तहभित्र आलोचना भइरहेको छ । तर, सांसद लिङ्देनले विधि बाटै काम गरेको बताए । वडासँग सरोकार नभएको बताउँदै लिङ्दनेले उपभोक्ता समितिले सबै काम गरेको बताए ।

सडकबत्ति जडान गर्ने ब्राइटसन कम्पनी प्रालिका सञ्चालक मेख बहादुर पराजुलीले टेण्डर मार्फत उक्त काम सम्पन्न गरेको जानकारी दिए । गाउँपालिकाले आव्हान गरेको अनलाइन टेण्डर मार्फत आफुले बत्ति जडान गरेको पराजुलीको भनाई छ ।

उपभोक्ता समितिका अध्यक्ष भण्डारीले गाउँपालिका अध्यक्ष कै उपस्थितिमा समिति बनाएको बताएका छन् । कुन प्रक्रियाबाट १० लाखको बत्ति खरिद गर्नुभयो भन्ने जिज्ञासामा उनले भने– खरिद प्रक्रियाबारे मलाई थाहा छैन, सांसदलाई नै सोध्नु । जनताले वर्षौपछि सुविधा पाएका छन्, बरु आएर हेदिर्नु ।

उपभोक्ता समितिका अध्यक्षलाई नै आफ्नो समितिले सम्पन्न गरेको योजनामा खरिद गरेको सामग्री बारे थाहा नहुनुले शंका उब्जाएको छ । विधि भन्दा बाहिर गएर १० लाखको सामग्री खरिद गरेको हुन सक्ने अधिकांशले आरोप लगाएका छन् ।

सांसद लिङ्देनले सडक बत्ति जडान सकिए पछि तस्वीर राख्दै आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखे – मौका पाए देशै उज्यालो र पुरै जनताका मनमा खुसी ल्याउँला भन्ने छ । त्यो त जुर्ला नजुर्ला समयलाई नै जिम्मा । स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तर्गत थोरै रकमबाट हल्दिवारी –२ को पाराखोपी बजार लगायतका विभिन्न स्थानमा सोलार सडक बत्तिको सानो उज्यालो मात्रै दिन पाउँदा पनि मन आनन्दित । जनता खुसी, हामी खुसी ।

प्रकाशित मिति : फाल्गुन ४, २०७६ आईतबार  ८ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]