बैशाख २३, २०८२ मंगलबार

स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै

धरान – उद्योग वाणिज्य सङ्घ सुनसरीको आयोजनामा यही पुस २५ देखि आगामी माघ ५ गतेसम्म ‘धरान एक्स्पो’ हुन लागेको छ । स्थानीय उत्पादनलाई बिक्री वितरण र प्रवर्द्धन गर्ने उद्देश्यले धरान उपमहानगरपालिका–१६ रङ्गशालामा धरान एक्स्पो आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले भन्नुभयो, “स्थानीय निकायमा उत्पादन भएका सबै उत्पादनलाई एक्स्पोमा प्रदर्शनीका लागि राखिनेछ ।” स्थानीय सरकार, धरान उपमहानगरपालिका, कोशी प्रदेश सरकार, सङ्घीय सरकार र नेपाल उद्योग वाणिज्य सङ्घको सहयोगमा आयोजना गरिने एक्स्पोमा एक सय ४२ वटा स्टल रहने उहाँले जानकारी दिनुभयो ।

एक्स्पोमा धरानमा उत्पादित अग्र्यानिक कृषिउपज, कृषि औजार, घरेलु तथा साना उद्योगका उत्पादन, रेडिमेड तथा कपडा, घरेलु सामानको स्टल रहने एक्स्पोका मुल संयोजक गोपाल श्रेष्ठले बताउनुभयो ।

दैनिक २० हजारले एक्स्पोको अवलोकन गर्ने अनुमान गरिएको बताउँदै एक्स्पोमा रु १० करोड बराबर कारोबार हुने अपेक्षा गरिएको सङ्घका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “धरान एक्स्पो २०८१ मा स्थानीय उत्पादनसँगै मोरङ, झापा, धनकुटा, इलाम, तेह्रथुम, सङ्खुवासभालगायत पहाडी जिल्लाका सबै उत्पादनलाई प्राथमिकता दिएर बिक्री वितरणका लागि राखिनेछ ।”

एक्स्पोमा धनकुटा, भोजपु, इलाम, तेह्रथुम, खोटाङलगायत कोशी प्रदेशका सबै जिल्ला र छिमेकी मुलुक भारत, दाजिलिङलगायत नजिकका सहरबाट अवलोकन तथा व्यापार, व्यवसायका लागि आउने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : पुष ७, २०८१ आईतबार  ९ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]