अरबौँ अरब रकम लुट्नेहरुले देशको सिस्टमलाई नै च्यालेन्ज गरे : मुख्यमन्त्री कार्की
झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासनको माध्यमबाट लोकतन्त्रलाई सुदृढिकरण गर्नु पर्ने बताउनुभएको छ ।
इलामको चुलाचुली गाउँपालिकाको चपेटीमा नेकपा एमाले दमक नगरकमिटीले आयोजना गरेको वनभोज कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सहकारीको अरबौँ अरब रकम लुट्नेहरुले देशको सिस्टमलाई नै च्यालेन्ज गरिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – जनताले आधा पेट खाएर सहकारी जम्मा गरेको रकम लुट्न कुनै लुटेरालाई छुट छैन सबै कानुनको दायरा आउनु पर्छ ।
सहकारीको रकम हिनामिना र ठगीमा एमाले, काँग्रेस वा रास्वपा अन्य कोही भएपनि छोड्न नहुने उहाँको भनाइ छ ।
देशमा राजनीतिक समस्याहरु आएको, लोकतान्त्रिक शासन प्रणाली, कानुनी राज र संविधानको सर्वोच्चतामाथि हस्तक्षेप गर्ने र सिस्टममाथि नै कालो पोत्ने प्रयासहरु भइरहेको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले त्यसलाई अन्त्य गर्दै लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्दै सुशासनको माध्यमबाट लाग्नु पर्ने बताउनुभयो । यही कारण न्रै दुई ठुला दलहरु मिलेर संघदेखि प्रदेशसम्म सरकार गठन गरेको उहाँले बताउनुभयो । मुख्यमन्त्री कार्कीले भन्नुयभो – लोकतन्त्र, सुशासन र लोकतन्त्रविरुद्धका गतिविधिलाई परास्त गर्न अहिलेको गठबन्धन बनेको हो । उहाँले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाउँदै विभिन्न लान्छान लगाउने काम भइरहेको भन्दै उहाँले देशका सबै नेताहरुका सम्पत्ति छानबिन गर्न चुनौति दिनुभयो ।
सुशसान कायम गर्दै देश विकासमा संघमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार र प्रदेशमा आफूले काम गरिरहेको उहाँले बताउनुभयो । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले सामथ्र्य र राजश्वले भ्याएसम्म विकासलाई तीव्र बनाउने बताउनुभयो ।