चैत्र २४, २०७६ सोमबार

लघुवित्तको चर्को ब्याज र किस्ताको तनावले विपन्न परिवारमा आत्महत्याको श्रृंखला

काठमाडौं । बिरामी श्रीमान् राजो दासलाई बचाउन सिराहा नगरपालिका–२ की सनेचरी दासले लघुवित्तबाट ऋण लिइन् । श्रीमान् बचाउन सकिनन् । ऋण तिर्न नसक्दा १८ वर्षीय छोराले पनि आत्महत्या गरेका छन् ।

सनेचरीले निर्धन लघुवित्त, डिप्रोक्स, नेरुडे, नयाँ नेपाल, महिला लघुवित्त, ग्रामीण महिला उत्सुकता विकास मञ्चलगायत लघुवित्तबाट करिब पाँच लाख ऋण लिएकी थिइन् । तर, किस्ता तिर्न नसकेपछि लघुवित्तले निरन्तर ताकेता गर्न थाले । व्यक्तिसँग ऋण लिएर केही किस्ता पनि तिरिन् । तर, ऋणको बोझ घटेन ।

लघुवित्तका कर्मचारीबाट धम्की नै आउन थाले । तनाव थेग्न नसकेर १८ वर्षीय कान्छो छोरा धीरजकुमार दासले गत १२ साउनमा घरनजिकै आँपको रूखमा झुण्डिएर आत्महत्या गरे । ‘श्रीमान् बचाउन सकिनँ, छोरो पनि गुम्यो,’ सनेचरीले भनिन्, ‘ऋणको पासो छँदैछ ।’ परिवारलाई ऋणबाट उकास्न भन्दै जेठो छोरा श्रवण ऋण काढेर डेढ वर्षअघि वैदेशिक रोजगारीमा गएका छन् । तर, उनले विदेश जाँदा लागेको ऋण पनि तिर्न सकेका छैनन् ।

लघुवित्तको ऋण तिर्न साहुको भर, कीर्ते तमसुक गरेर साहुले उठाई दिए घर

सिराहा–२ कै रामराजीदेवी लहेरी र रेखा लहेरीको परिवार पनि लघुवित्त संस्थाको धम्कीले त्रसित छन् । रामराजीदेवीले स्वावलम्बन, डिप्रोक्स, नयाँ नेपाल, मिथिला लघुवित्त विकास बैंकबाट ऋण लिएकी थिइन् । ‘हिजो किस्ता लिन आएको थियो ।

अहिले दिन नसक्ने भनेपछि सामानहरू घरबाहिर निकाल्यो,’ रामराजीदेवीले बिलौना गरिन्, ‘यसअघि पनि लघुवित्तको किस्ता तिर्न साहुसँग ऋण लिएकी थिएँ, तर साहुले कीर्ते तमसुक बनाएर झन् समस्यामा पारिदिएका छन् ।’

रामराजीदेवीकी देउरानी रेखाले पनि यस्तै पीडा सुनाइन् । ‘सात लाख ऋण लिँदा साहुले १६ धुर जग्गा रजिस्ट्रेसन गरेर लिए । तर, नौ लाख बुझाउँदासम्म पनि जग्गा फिर्ता गरेका छैनन्,’ रेखाले भनिन्, ‘१४ लाखको तमसुक बनाएको रहेछ । जग्गा माग्दा अदालतमा मुद्दा दियो । हामी गरिबले कसरी मुद्दा लड्ने रु हाम्रो घरबार सबै गइसक्यो ।’

सिराहा–१ की ६५ वर्षीया रामप्यारी पासवानले घर बेचेर साहुलाई बुझाए पनि ऋणको भारी हट्न नसकेको बताइन् । ‘१० धुर जग्गामा रहेको घर सस्तैमा बेचेर साहुलाई बुझाएँ,’ पासवानले भनिन्, ‘अहिले स–साना बच्चा लिएर अरूको घरमा डेरा लिएर बस्दैछु ।’ पासवान परिवारलाई अहिले हात मुख जोड्न समस्या छ ।

लघुवित्तका कारण सिराहामा धेरै परिवार तनावमा छन् । लघुवित्त संस्थाहरूले मुनाफा लिने नाममा एउटै व्यक्तिलाई ऋण दिन हानथाप गरेपछि समस्या बढ्दै गएको स्थानीय अगुवा शम्भु साह बताउँछन् । ‘लघुवित्तले ऋण लगाउँछ, तर परिचालन गर्ने तरिका सिकाउँदैन । यसले विपन्न व्यक्तिहरू ऋणको भारीमा थिचिँदै जान्छन्,’ उनले भने, ‘किस्ता तिर्न नसक्दा लघुवित्तका प्रतिनिधिहरूले अनेक धम्की दिन्छन् ।

व्यक्तिगत कर्जा र लघुवित्तको ऋणकै कारण समुदायमा महिलाहरूबीच पनि द्वन्द्व बढ्दै गएको रामकिशोर यादवले बताए । लघुवित्तले महिला समूह बनाएर ऋण लगाउने गरेको र असुलीमा पनि समूहकै महिला खटाउने गरेको उनले बताए । समूहबाट ऋण असुली नहुँदा लघुवित्त संस्थाका कर्मचारीहरू घरमै पुगेर गालीगलौज गर्ने मात्र होइन, घरमा तालाबन्दी गर्नेसम्मका घटना भएको उनी बताउँछन् ।

लघुवित्तले भाँडा फालिदिन्छु भनेर धम्क्याएपछि ६० वर्षीया महिलाले गरिन् आत्महत्या

झापा गौरादह–७ ग्वालडुब्बाकी ६० वर्षीया बालकुमारी हुमागाईंले २० भदौ ०७५ मा घरमै झुन्डिएर आत्महत्या गरिन् । कारण थियो– लघुवित्तबाट लिएको किस्ता बुझाउन नसक्नु ।

उनले घर बनाउन तीन लघुवित्तबाट ऋण लिएकी थिइन् । कर्णाली लघुवित्त, जीवन विकास समाज लघुवित्त र नागवेली लघुवित्तले गाउँमा समूह बनाएर लगानी गरेका थिए । सबैबाट उनले एक–एक लाख लिएकी थिइन् । प्रत्येकलाई महिनामा ६ हजार ६ सय ६६ रुपैयाँका दरले किस्ता बुझाउनुपथ्र्यो । तर, उनले नियमित बुझाउन सकिनन् ।

२० भदौमा किस्ता बुझाउनुपर्ने दिन थियो । अघिल्लै दिन कर्णाली लघुवित्तका कर्मचारी दिनभर घरमै आएर ताकेता गरेका थिए । किस्ता नबुझाए घरका सामान उठाएर लाने धम्की दिए । अर्को दिन उनले आत्महत्या गरिन् ।

‘अघिल्लो दिन लघुवित्तका कर्मचारीले दिएको धम्कीले आमा तनावमा हुनुहुन्थ्यो । तर, तिर्न पैसा थिएन । मसँग जम्मा तीन सय रुपैयाँ मात्रै थियो,’ बुहारी रञ्जनाले भनिन्, ‘आमालाई घरमै छाडेर म घाँस काट्न निस्किएकी थिएँ । फर्केर आउँदा त अकल्पनीय घटना देखेँ ।’

१४ असार ०७४ मा गौरादह–७ का जलिम ऋषिदेवले लघुवित्तको किस्ता तिर्न नसकेकै कारण आत्महत्या गरे । जीवन विकास समाज लघुवित्तले गाउँगाउँमा समूह गठन गरेर ऋण उपलब्ध गराउँदै थियो । उनी पनि समूहमा आबद्ध भए । समूहमा बचत पनि गर्न थाले । घरपरिवार चलाउन लघुवित्तबाट ७० हजार ऋण लिए । सर्त थियो– महिनैपिच्छे किस्ता बुझाउने ।

१४ असार किस्ता तिर्ने दिन थियो । अघिल्लै दिन लघुवित्तका कर्मचारी घरमा आएर किस्ता ठीक पार्न भनेका थिए । किस्ता नदिए घरका सामान उठाउने धम्की पनि थियो । तर, दैनिक ज्यालादारी गर्ने जलिमसँग त्यतिवेला पैसा भएन । हप्तैपिच्छे ज्याला दिने साहुले त्यस हप्ता दिएनन् । किस्ता जोहो गर्न नसकेपछि आत्महत्या रोजे ।

अहिले उनका दुई छोरा र दुई छोरीको बिचल्ली छ । एक छोरा मामाघरमा बसेका छन्, अन्य तीनजना अर्काको घरमा घरेलु मजदुरका रूपमा छन् । श्रीमती धनमाया वैदेशिक रोजगारीका लागि कुवेतमा छिन् । परिवारको सम्पत्तिको नाममा ग्वालडुब्बा बजारमा तीन धुर जग्गा छ । ‘मान्छे मरेपछि पनि संस्थाले छाडेन ।

समूहका अरूले ७० हजार तिरिदिए । समूहका मान्छेले मलाई अहिले ताकेता गर्दै छन्,’ कुवेतमा रहेकी श्रीमती धनमायाले भनिन्, ‘म त्यो पैसा जसरी पनि तिर्छु । अहिले त म पनि पैसा टिप्न गएकी होइन । कमाएरै तिर्ने हो । जति ताकेता गरे पनि अहिले सक्ने अवस्था छैन ।’

सल्यानको शारदा नगरपालिका–२ सितलपाटीकी दिलकुमारी रावतको घर ०७२ मा बाढीपहिरोले बगाएको थियो । घर बनाउनकै लागि उनले लघुवित्तबाट ऋण लिएकी थिइन् । थुप्रै लघु वित्तबाट मासिक किस्ता बुझाउनेगरी लिएको ऋण तिर्ने उपाय उनीसँग थिएन । तनावबीच उनी गाउँ छाडेर बेपत्ता भइन् । पैसा खाएर बेपत्ता भएको भनेर उनीमाथि लाञ्छना लाग्यो ।

आमा र परिवारको बद्नामी सहन नसकेर १६ वर्षीया छोरी सपनाले ६ माघ ०७३ मा झुण्डिएर आत्महत्या गरिन् । भरतपुर महानगरपालिका–२४, जगतपुरकी ५६ वर्षीया भगवती बाँस्तोला मोबाइलको घण्टी बज्दा र घरमा नयाँ मान्छे आउँदा झस्किन्छिन् । यो तनाव उनलाई वित्तीय संस्थामा तिर्नुपर्ने ११ लाखले निम्त्याउँछ ।

०४६ मा पसल थाप्न उनले साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडबाट ६ हजार ऋण लिएकी थिइन् । उनले सो रकम दुई किस्ता गरेर तीन–तीन हजार लिएकी थिइन् । पसलबाट कमाएको पैसाले उनले ब्याज र साँवा घटाइन् । तर, ऋण बढिरह्यो । ०५० मा चार कट्ठा जग्गा बेचेर थप १२ हजार तिरेर ऋण चुक्ता गरिन् ।

तर, गरिबीले उनलाई फेरि लघुवित्तमै पु¥यायो । छिमेकी लघुवित्त विकास बैंकबाट पाँच हजार झिकिन् । तोकिएको एक वर्षमा तिरेर सकिन् । फेरि त्यही लघुवित्तबाट १० हजार झिकिन् । त्यसयता भगवतीले १० वटा लघुवित्तबाट ऋण निकालिन् । निर्धन उत्थान लघुवित्त, डिप्रोक्स लघुवित्त, स्वरोजगार लघुवित्त, मुक्तिनाथ लघुवित्त, विजय लघुवित्त, नेरुडे लघुवित्त, माइक्रोफाइनान्स शिवनगर र लक्ष्मी लघुवित्तबाट पनि ऋण लिँदै गइन् ।

सबैबाट गरी ११ लाख ऋण लिएकी उनले सके जति किस्ता तिर्दै आएकी छिन् । तर, लघुवित्तले उनलाई पासबुक दिएका छैनन् । त्यसैले कति पैसा तिरेको भन्ने नै उनलाई थाहा छैन । ‘वित्तीय संस्थाका कर्मचारी किड्नी बेचेर भए पनि तिर्नुपर्छ भनेर धम्क्याउँछन्,’ भगवतीले भनिन् ।

जगतपुरका २३ वर्षीय राजवीर थोकरको परिवारलाई पनि वित्तीय संस्थाको ऋणले बिल्लीबाठ पारिदिएको छ । ऋणकै तनावले बाबु डेढ वर्षअघि परिवार छाडेर बेपत्ता भए । आमा पुष्पा वैदेशिक रोजगारीका लागि कुवेतमा छिन् । दुई भाइको जिम्मा लिएर घरमा बसेका राजवीरलाई वित्तीय संस्थाका कर्मचारीले ऋण तिर्न दबाब दिने गरेका छन् ।

उनलाई पनि ऋण कति छ थाहा छैन, किनभने वित्तीय संस्थाले पासबुक नै दिएका छैनन् । परिवारले चार कट्ठा जमिनसहित पक्की घर बेचेर ऋण तिरेको छ । ‘म पनि घरमा राम्रो गरौँ भनेर वैदेशिक रोजगारीमा दुवई थिएँ । फर्केर आउँदा त खाने–बस्ने ठेगान रहेनछ,’ राजवीरले भने, ‘अहिले आमा बिदेशिनु भएको छ ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

इजलास डट.कम

बिर्तामोड,झापा
सूचना तथा प्रशारण विभाग दर्ता नं.
टाइम्स मिडिया नेटवर्क प्रा लि