दहिझोडा सामुदायिक वन उपभोक्ता समूहको २८ औं बार्षिक साधारणसभा
अर्जुनधारा । अर्जुनधारा नगरपालिका – ४ स्थित दहिझोडा सामुदायिक वन उपभोक्ता समूहको २८ औं बार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ ।
समूहद्वारा आइतबार कार्यालय परिसरमा आयोजित २८ औं बार्षिक साधारणसभा तथा १४ औं अधिवेशनले आर्थिक बर्ष ०८०-०८१ को आन्तरिक लेखा परीक्षण तथा महालेखा परीक्षण माथि छलफल, आ. व .०८१ – ०८२ को अनुमानित बजेट नीति तथा कार्यक्रम, निर्वाचन समिति २०८१ गठन लगायत ६ वटा बिषयहरु पारित गर्दै साधारणसभा सम्पन्न भएको हो ।
पूर्व वन तथा वातावरण राज्यमन्त्री विरमणि ढकालको प्रमुख आतिथ्य रहेको साधारणसभामा समूहका अध्यक्ष टेकनाथ अधिकारीले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन अनुसार आ.व. ०८१-०८२ को अनुमानित वन पैदावर तथा अन्य शिर्षकबाट प्राप्त कुल आम्दानी १ करोड ७८ लाख ३७ हजार ९ रुपैयाँ ४५ पैसा र खर्च तर्फ वन बिकासमा ९७ लाख ६३ हजार ८ सय ८३ रुपैयाँ ,ट्याक्टर सञ्चालनमा ३ लाख ३३ हजार १ सय ९८ रुपैयाँ , प्रशासनिकमा १४ लाख ८ हजार २ सय ४२ रुपैयाँ ४५ पैसा ,सामाजिकमा २ लाख रुपैयाँ, गरीबी न्यूनीकरणमा ४३ लाख ६९ हजार ६ सय ८६ रुपैयाँ र विविधमा १७ लाख ६२ हजार रुपैयाँ रहेको छ ।
उत्तरमा जुकेखाडी सामुदायिक वनको सिमाना र दक्षिणमा प्रजापति सामुदायिक वन सिमानाबीच ७४६.७० हेक्टर क्षेत्रफल रहेको यस सामुदायिक वन पर्दछ । यस वन समूहमा १९ सय २१ घर धुरी क वर्गको उपभोक्ता रहेकोमा जसमध्ये ३० वटा टोल र ५ वटा क्षेत्र रहेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै लेखा समितिको तर्फबाट संयोजक इन्द्रमणि पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सोही अवसरमा वन उपभोक्ता समूह स्थापनाकालमा जंगल रेखदेख गरि सहयोग पु¥याउने राजेन्द्र अधिकारी, पुण्य खाती, पूर्ण बहादुर तामाङ ,मन कुमार तामाङ, राजेन्द्र प्रसाद खतिवडा, रञ्जित डाँगी, बाल कुमार राई, भूपाल राई, खगेन्द्र कार्की ,पदम चौहान, रोहित विश्वकर्मा ,राम बहादुर कार्की र प्रकाश दनुवारलाई सम्मान पत्र र नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यसैबीच समूहबाट बिदाइ भएका कर्मचारीहरु दधिराम दाहाल ,सुरवीर राउत शेरबहादुर तामाङ र भानु कुमार दाहाललाई सम्मान पत्रसहित नगदले सम्मान गरिएको थियो ।
उपभोक्ता समूहका अध्यक्ष अधिकारीको सभापतित्व र सहसचिव सिताराम पराजुलीले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि ढकालले शुभकामना मन्तव्य राख्दै ३० बर्ष अघि वन तथा वातावरण राज्यमन्त्री हुँदा वन ऐन नियम बनाएर आफू हटेको स्मरण गराए । धेरै बर्ष भएकोले वन ऐन नियम आफूले बिर्सिसकेको बताए । वन क्षेत्रभित्र खाली जमिन हुन्छ ,त्यो जमिनमा औषधिजन्य बोके टिमुर जस्ता जडिबुटी लगाउने उनको सुझाव थियोे ।
कार्यक्रममा अर्जुनधारा नगरपालिका – ४ का वडा अध्यक्ष अम्बर बहादुर कटुवाल, वडा नम्बर – ५ का वडा अध्यक्ष गीताराज खड्का (हरि), सामुदायिक वन उपभोक्ता महासंघ अर्जुनधाराका इन्चार्ज तुलसी प्रसाद खतिवडा, प्रजापति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मातृका पोखरेल, नेपाली कांग्रेस अर्जुनधाराका सभापति हेमप्रसाद खरेल( हेमराज ) लगायतले शुभकामना राखेका थिए भने स्वागत मन्तव्य समूहका तुलाराम बस्नेतले राखेका थिए । निर्वाचन सम्बन्धी कार्यक्रमहरु समितिले चाडै तय गर्ने बताइएको छ ।