अर्जुनधारा वडा नं. ८ द्वारा इलेक्ट्रोनिक साइकल बनाउने विद्यार्थीलाई प्रोत्साहन
इन्द्रकुमार राई
अर्जुनधारा । अर्जुनधारा नगरपालिका – ८ स्थित शनिश्चरे माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले इलेक्ट्रोनिक साईकल बनाएका छन् । साइकल बनाएका विद्यार्थीहरुलाई आज वडा कार्यालयले एक कार्यक्रमकाबीच सीप र क्षमताको सम्मान गर्दै प्रोत्साहन गरेको छ ।
विद्यार्थीहरुलाई अर्जुनधारा ८ नं. वडा कार्यालयद्वारा सम्मान गरिएको छ । सम्मान कार्यक्रममा वडा अध्यक्ष कुमार प्रसाद उप्रेतीले कक्षा –९ मा अध्ययनरत बिद्यार्थीहरु १५ वर्षीय रोजन चम्लागाई, १३ वर्षीय रोमन कुँवर र १५ वर्षीय अलोन भट्टराईलाई खादा र अबिर लगाई प्रोत्साहन स्वरुप सम्मान गरेका हुन् ।
शनिश्चरे माविका विद्यार्थी रोजन चम्लागाईको अगुवाइमा विधुतीय साईकल बनाइएको भन्दै उनीहरुको सीप र क्षमतालाई सम्मान गरिएको वडाध्यक्ष उप्रेतीले जानकारी दिए । उनका अनुसार विद्यार्थीहरुले साइकल निर्माण गर्दा लागेको सम्पूर्ण खर्च शैक्षिक गुणस्तर कार्यक्रम अन्तर्गत वडा कार्यालयले व्यहोर्ने छ । खर्च वडाले प्रदान गरे पनि उक्त साइकल विद्यार्थीहरुलाई नै विद्यालय आउन जान दिने वडाध्यक्ष उप्रेतीको भनाई छ ।
साइकलको सम्पूर्ण पार्टपुजाहरु स्वदेश र विदेशदेखि अनलाइन माध्यमबाट मगाइएको थियो । ३९ हजार रुपैयाँको लगानीमा साइकल तयार गरेको चम्लागाईले जानकारी दिए । उनका अनुसार १ हप्ता १० दिनमा ७ वटा गियर भएको ब्याट्रीबाट २५ देखि ३० किलोमिटर प्रति घण्टा गतिमा चल्ने साइकल बनाउन सकिन्छ ।
सम्मान तथा प्रोत्साहन कार्यक्रममा वडा सदस्यहरु मनोज रैका मगर, ऋषि प्रसाद घिमिरे , सरु बुढाथोकी, जानुका विश्वकर्मा, विद्यालयका प्रधानाध्यापक विनोदकुमार गौतम, बुद्धशान्ति – २ वर्ने माविका प्रधानाध्यापक टंक घिमिरे, स्थानीय सविन श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।