बैशाख ६, २०८१ बिहीबार

झापा गाउँपालिकाका सबै विपन्न समुदायलाई अब पक्की घर

चन्द्रकला भण्डारी

भद्रपुर । झापाको झापा गाउँपालिकाले ‘फुस हटाऊँ, टिनको छाना लगाऔँ’ भन्ने अभियान नै चलाएर विपन्न समुदायलाई धमाधम घर बनाउँदै हस्तान्तरण गरिरहेको छ ।

सात वडा रहेको गाउँपालिकाले सबै वडाका विपन्न समुदायलाई हालसम्म ९० घर बनाएर हस्तान्तरण गरिसकेको पालिकाका अध्यक्ष जयनारायण यादवले बताए। विसं २०६८ को जनगणनाअनुसार ३६ हजार ६०१ जनसङ्ख्या रहेको गाउँपालिकामा हाल बढेर ५० हजार बढी रहेको उहाँको भनाइ छ । तीमध्ये २० प्रतिशत मुस्लिम, २० प्रतिशत सन्थाल गरी विभिन्न जातजातिको मिश्रित बसोबास रहेको गाउँपालिकामा ६० प्रतिशत विपन्न समुदायको बसोबास रहेको उनको भनाई छ ।

गाँससँगै बास पनि महत्वपूर्ण रहेको बताउँदै अध्यक्ष यादव भन्छन्, “सबै जनतालाई सुरक्षित बासको व्यवस्था गर्ने उद्देश्यले सहारा नेपालको ह्युमानिटी फर हेल्भेटाससँग मिलेर धमाधम कतै घर बनाइरहेका छौँ कतै हस्तान्तरण गरिसक्यौँ ।”

वर्षौंदेखि कच्ची घरमा बस्दै आएका सन्थाल समुदायलाई नै लक्षित गरी वडा नं २ मा रहेको पालिकाको तीन बिघा जमीनमा सङ्घीय सकारको तराई–मधेश कार्यक्रमअन्तर्गत रु ९५ लाखमा भूकम्प प्रतिरोधी २० घर गत आर्थिक वर्ष २०७५÷७६ मा बनाएर हस्तान्तरण गरिएको पालिकाका इञ्जिनीयर अभिषेक दासले बताए।

उनका अनुसार सोही आर्थिक वर्षको बजेटबाट ह्युमानिटी फर हेल्भेटासको प्रतिघर  ७५ हजार रुपैयाँ र गाउँपालिकाको प्रतिघर रु ७५ हजार गरी रु एक लाख ५० हजारका दरले ४० वटा तीनकोठे पक्की घर निर्माण गरी बुधबार मात्र हस्तान्तरण गरिएको छ । पालिकाले आर्थिक वर्ष विसं २०७/७५ मा ३० घर बनाएर हस्तान्तरण गरेको उनको भनाई । उनका अनुसार सबैभन्दा बढी वडा नं १ को लसुनगञ्जमा ३४ घर बनाएर हस्तान्तरण गरिएको छ । घर पाउनेमा अधिकांश सन्थाल समुदायका छन् ।

अध्यक्ष यादवले गाउँपालिकाको जग्गामा थप भूकम्प प्रतिरोधी घर निर्माण गर्ने तयारी भइरहेको बताउँदै भने, “२० घर बनाएर राखिसक्यौँ थप घर बनाएर त्यहाँ सन्थाल समुदायलाई नै लक्षित गरी घरवास सञ्चालन गर्छौँ ।” उनले सन्थाल समुदायको सांस्कृतिक र धार्मिक पहिचानलाई जीवन्त राख्ने उद्देश्यले ‘सन्थाल सामुदायिक एरिया’ नामकरण गरेर उनीहरुलाई आर्थिक उन्नयनमा लाग्न अभिप्ररित गरिने बताए।

सहारा नेपालसँग मिलेर चालू आवमा १०० घर निर्माण भइरहेको बताउँदै उनले ४१ वटा एक हप्ताभित्रमा हस्तान्तरण गरिने र बाँकी बन्दै गरेको जानकारी दिए। गाउँपालिकामा थप २३० घर निर्माणका लागि तयारी हुँदै गरेको उनको भनाई छ । जनप्रतिनिधि निर्वाचित भएर आएपछि विपन्न समुदायलाई लक्षित गरेर घर, बिजुली र पानीलाई बढी प्राथमिकतामा राखेको अध्यक्ष यादवको भनाइ छ । कच्ची घरमा जोखिमपूर्ण बसोबास गर्दै आएका सन्थाल परिवार नयाँ पक्की घर पाएपछि दङ्ग छन् । 

प्रकाशित मिति : फाल्गुन ९, २०७६ शुक्रबार  ५ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]