प्रधानमन्त्री ओलीले आज जन्मघर तेह्रथुममा जन्मदिन मनाउने
झापा । प्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नो जन्मदिन मनाउन तेह्रथुम जाने भएका छन् । प्रधानमन्त्री ओलीको आज फागुन ११ गते परेको ६९ औं जन्मदिन मनाउन तेह्रथुमको आठराईमा रहेको आफ्नो पुख्र्यौली घर जान लागेको बालुवाटार स्रोतले जनाएका छन् ।
ओलीको जन्मघर आठराई गाउँपालिका–४ साविकको इवा गाविस–२ स्थित तीनसल्ले खानी गाउँमा पर्दछ ।

त्यही घरमा ओलीको जन्म भएको थियो । उनको बाल्यकाल र किशोरावस्था त्यही घरमा बितेको थियो भने पछि उनको परिवार झापा बसाइँ सरेको हो । ओलीले सो पुरानो घर दशैँअघि पुनर्निर्माण गर्न लगाएका थिए ।
ओलीलाई सो घरको माया कति रहेछ भन्ने जन्मदिन त्यहीँ मनाउन जानुले पुष्टि गर्छ । जन्मदिनको अवसरमा ओलीको घरमा तेह्रथुम जिल्ला पार्टी कमिटीले विशेष कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रमलाई ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।