पूर्वका केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना
काठमाण्डाै – बुधबार पनि मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । मङ्गलबार र साेमबार पानी पारेको पश्चिमी वायु कमजोर हुँदै गएकाले पश्चिमको मौसम विस्तारै खुल्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार बुधबार पश्चिमको मौसम खुले पनि मध्य र पूर्वका केही ठाउँमा भने चट्याङसहित पानी पर्ने सम्भावना छ ।
अहिले बदली भएको काठमाण्डाैको मौसम दिउँसो घाम लागे पनि बेलुकीतिर फेरि बदली भइ पानी पर्ने उहाँको अनुमान छ । बुधबार पानी पार्ने प्रणाली कमजोर हुँदै गए पनि बिहीबार फेरि अर्को पश्चिमी वायु नेपाल प्रवेश गर्ने भएकाले देशभरिकै मौसम पूर्णरुपमा खुल्न अझै केही दिन लाग्ने मौसमविद् श्रेष्ठको भनाइ छ । तर त्यो प्रणालीले थोरै मात्र पानी पार्ने उहाँले बताउनुभयो ।
यसैबीच प्रिमनसुनी गतिविधि सुरु भएकाले अब दिउँसोपछि हुरिबतास पनि चल्न थाल्ने मौसमविद्ले बताएका छन् । मौसमविद् श्रेष्ठका अनुसार प्रिमनसुनमा बिहान मौसम खुलेर दिउँसो घाम लाग्छ तर बेलुकीतिर बदली भएर हुरीबताससहित चट्याङ र असिना पर्छ ।
सामान्यतया मार्च अर्थात् फागुनको मध्यदेखि तीन महिनासम्म प्रिमनसुन हो । केही दिनयता बिहान खुलेको मौसम दिउँसोपछि बदली भएर बेलुकीतिर हुरीबताससहित चट्याङ पर्न थालेको छ ।