शिवसताक्षीलाई योगमय बनाइने
झिलझिले । झापाको शिवगगञ्जमा शुक्रबारदेखि एकहप्ते योग शिविर सञ्चालन भएको छ । पतञ्जली योग समिति शिवसताक्षीले योग शिविर सञ्चालन गरेको हो ।
शिवसताक्षी नगरपालिका–६ स्थित शिवगञ्जको जेष्ठ नागरिक भवनमा आयोजित शिविरको एक कार्यक्रमबीच वडा अध्यक्ष मनोज खुलालले उद्घाटन गरे । वडा अध्यक्ष खुलालले योगमार्फत वडाबासी नागरिकको स्वास्थ्य चुस्त राख्न वडाले शिविरलाई सहयोग गर्दे योग कक्षालाई निरन्तरता दिने बताए ।
उनले अहिले विश्वभर नै योगको महत्व बढेको भन्दै जो कोहीले योग साधनाबाट आफूलाई स्वस्थ राख्न सक्ने बताए । आम नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरी आफूले काम गरिरहेको भन्दै उनले आगामी दिनमा पनि यस्ता रचनात्मक कार्य जारी राख्ने प्रतिबद्धता जनाए । शिविरमा नगर कार्यपालिका सदस्य गोमा रिजाल पनि सहभागि थिइन् । उनले शिविरमा महिलाको उत्साहपुर्ण सहभागिता देखेर आफु खुसीले गदगद भएको बताइन् ।
कार्यक्रममा पतञ्जली योग शिविर झापा अध्यक्ष देवि घिमिरेले शरीर स्वस्थ बनाउन योगको महत्वपूर्ण योगदान रहेको भन्दै यहाँ सिकेका कुरा आफ्नै घरमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिए । गलत खानपान र रहन सहनले मानिसको शरिरलाई दिनहुँ सिथिल बनाउदै गइरहेको बताउँदै उनले भने,‘ रोग प्रतिरोधात्मक क्षमता बढाउन योग उत्तम उपाय हो ।’ उनले योग जहाँ पनि गर्न सकिने बताएका छन् ।
कार्यक्रम पतञ्जली योग समिति शिवसताक्षीका अध्यक्ष मोहन निरौलाको अध्यक्षतामा वडा अध्यक्ष खुलाले दिप दान गरेर उद्घघाटन गरेका थिए । पतञ्जली योग समिति झापाका महामन्त्री कृष्ण प्रसाद ओझा, कमलकी महिला महामन्त्री इन्दिरा गौतम, शिवसताक्षीका सल्लाहका समिति प्रमुख पर्शुराम ढुँगाना, कार्यक्रम संयोजक गोकुल पौडेल लगायतले योगको महत्वका बारेमा सहभागिलाई दर्शाएका थिए ।
शिवसताक्षीको ८ नम्बर वडाका दुई ठाँउमा दुई महिना अघि देखिनै योग सिविर संचालनमा छ । डुडामारीमा संचालित सिविरमा ५५ जना, झिलझिले माविको सभाहलमा संचालित सिविरमा ५६ जना सहभागि छन् । शिवगञ्जको जेष्ठ नागरिक भवनमा ५९ जना सहभागी भएको पतन्जली योग समिति शिवसताक्षीले जनाएको छ ।
योग शिविरलाई नगरको हरेक वडामा संचालन गर्नुपर्ने सहभागिले सुझाव दिएका छन् । शिवसताक्षीमै योग प्रशिक्षक उत्पादन गरेर वडाका हरेक गाँउमा योग शिविर संचालन गरिने शिवसताक्षी योग शिविरका अध्यक्ष मोहन निरौलाले जानकारी दिएका छन् । कार्यक्रमको सहजिकरण महामन्त्री कृष्ण खरेलले गरेका थिए ।