बैशाख २०, २०८२ शनिबार

देवभूमिका विद्यार्थी : प्रतिभा प्रस्तुतिमा अब्बल

बिर्तामोड । विद्यालयको वार्षिकोत्सवहरु प्रायः भाषणले विरक्त लाग्दो हुने गर्छन् । अधिकतम भाषणले गर्दा विद्यार्थी, अभिभावकहरु दिक्क मान्छन् । शुक्रवार अर्जुनधारा– ५ मा रहेको देवभूमि विद्यापीठ अंग्रेजी बोर्डिङ स्कुलको माहोल भने त्यसको विपरित थियो । जसका कारण अभिभावक र वार्षिकोत्सवमा निम्त्याइएका पाहुनाहरु मन लगाएर अन्तिमसम्म बसिरहे ।

देवभूमिको कार्यक्रम तालिकामा विद्यार्थीहरुको प्रतिभा प्रस्तुति गर्ने नामहरुले भरिएको थियो । भाषण गर्ने, नेताहरुको नाम थिएन । कार्यक्रम सञ्चालन देखि प्रतिभा प्रस्तुत गर्नेहरुमा विद्यार्थीहरु मात्रै थिए ।

हरेक वर्षको वार्षिकोत्सवमा देवभूमिले विद्यार्थीको प्रतिभा अभिभावक र अतिथिहरुलाई प्रस्तुत गर्दै आएको छ । शुक्रवार पनि रचनात्मक क्रियाकलापमा अघि रहेका साना विद्यार्थीहरुदेखि ठुला विद्यार्थीसम्मले आआफ्नो जिम्मेवारी अनुसार कसैले प्रतिभा देखाए भने कतिपयले सुनाए ।

कक्षा ३ मा अध्ययनरत समता श्रेष्ठले वक्तृत्वकला मार्फत अर्जुनधाराका बारेमा आफ्नो धारणा प्रस्तुत गरिन् । वार्षिकोत्सवमा विद्यार्थीहरुले वक्तृत्वकलासँगै कविता प्रस्तुत गरे भने कति विद्यार्थीहरुले लाइभ म्यूजिक प्रस्तुत गरे । स्टेजमा सुरु देखि अन्तिमसम्म विद्यार्थीले नृत्य, गायन, करातेसँगै नाटक देखाए । साना विद्यार्थीहरुले मोवाइलको प्रयोग, युट्युव, पर्यावरण र नेपालमा शिक्षाको अवस्था जस्ता विषयहरुमा वक्तृत्वकला प्रस्तुत गरेका थिए । मोवाइल र युट्युवका सकारात्मक र नकारात्मक पक्षहरु राखेका थिए । शिक्षाको वर्तमान अवस्था बारे वक्तृत्वकला प्रस्तुत गर्ने विद्यार्थीको निष्कर्ष थियो, समृद्ध नेपालका लागि शिक्षा महत्वपूर्ण छ । शिक्षामा राज्यको लगानी कमजोर भयो ।

देवभूमिका विद्यार्थीहरुको प्रस्तुति हेरेपछि जो कोहिको मनमा एउटा जिज्ञासा उब्जिएको थियो, विद्यालय अतिरिक्त क्रियाकलापमा अब्बल रहेछ । सँगै अर्को प्रश्न पनि जोडिएको थियो, अतिथिहरुको कानेखुशीमा । अतिरिक्त क्रियाकलापमा अब्बल छ, पढाई तर्फ नतिजा के होला ?

अतिथिहरुसँगै रहेका विद्यालयका अध्यक्ष सुमनशर्मा जमरकट्टेलका अनुसार पछिल्लो समय एसईईमा दुई पटक नगरमा उत्कृष्ट भयो । धेरै जिपिए ल्याउनेमा पनि विद्यालय अगाडि रहेको जानकारी दिनुभयो ।

सामुहिक एवम् एकल प्रस्तुतिहरुमा रमाएका विद्यार्थीहरुलाई अगाडिबाट अभिभावकको हौसला प्राप्त भइरह्यो । धेरै जसो विद्यालयहरुमा कार्यक्रम सञ्चालन गर्न पैसा तिरेर सञ्चालक ल्याइने गरिन्छ । देवभूमिका दर्जनौ विद्यार्थीहरुले पालैपालो कार्यक्रम सञ्चालन गरेका थिए । व्यवसायिक कार्यक्रम सञ्चालक जस्तो आकर्षक ढंगले कार्यक्रम चलाउने विद्यार्थीहरुको प्रस्तुतिले पनि आकर्षण थपेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्याब्सन झापा अध्यक्ष छत्र कार्कीले विद्यार्थी संस्कार सिकाउन जरुरी रहेको बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई विद्यालयमा शिक्षा दिने र अभिभावकले संस्कार सिकाउनुपर्ने धारणा राख्नुभयो । संस्कार सिकाउन विद्यालयको २० प्रतिशत र अभिभावकको ८० भूमिका हुने बताउनुभयो ।
कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत र सरसफाई अभियान्ता गणेश ढुंगानालाई सम्मान गरिएको छ । ०६४ मा स्थापना भएको विद्यालयमा हाल ५५७ जना विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित मिति : फाल्गुन ३, २०८१ शनिबार  ९ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]