स्वास्थ्य बिमा कार्यक्रम : झापा देशभरमै अगाडि
सागर गौतम
बिर्तामोड । झापामा स्वास्थ्य बिमा गर्नेको संख्या ३ लाख ६ हजार ४ सय ७४ पुगेको स्वास्थ्य बिमा बोर्डले जनाएको छ । शाखा कार्यालय झापाले जनाए अनुसार देशभरमै धेरै बिमा गर्ने जिल्लामा झापा परेको छ ।

धेरै बिमा गर्ने जिल्लामा झापा पहिलो, दोस्रो चितवन र तेस्रोमा सुनसरी रहेको झापा शाखा प्रमुख लक्ष्मी कणेलले जानकारी दिइन् । उनका अनुसार हालसम्म देशभर २६ लाख ७७ हजार ७ सय ३३ जनाले सरकारको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत स्वास्थ्य बिमा गरेका छन् ।
देशभर ५२ जिल्लामा सञ्चालित स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन भइरहेको कणेलको भनाई छ । जिल्लाको प्रत्येक वडामा कम्तिमा १ जना प्रतिनिधि खटाएर बिमा गराउने गरेको उनको भनाई छ । झापाको १५ वटा स्थानीय तहमध्ये दमक नगरपालिका धेरै बिमा गर्ने स्थानीय तहमा परेको छ ।
हालसम्म अर्जुनधारामा २१ हजार ३ सय २६, भद्रपुर २२ हजार ७ सय ४७, बाह्रदशी ८ हजार ४ सय, बिर्तामोड ३४ हजार ६ सय ९४, बुद्धशान्ति १२ हजार ४ सय ३५, दमक ६३ हजार ५ सय ७, गौरादह २२ हजार ४ सय १६ , गौरीगञ्ज ५ हजार ९ सय ९४, हल्दिवारी ९ हजार ६ सय १७, झापा ६ हजार ७ सय २२, कचनकवल ७ हजार ६ सय ६५, कमल २३ हजार ३ सय ३६, कनकाई १८ हजार २ सय ६५, मेचीनगर २४ हजार ३७ र शिवसताक्षीमा २५ हजार ३ सय ३ जनाले स्वास्थ्य बिमा गरेका छन् । प्रदेश १ मा ७ लाख ३६ हजार ८ सय ८७ जनाले बिमा गरेका छन् । त्यसमध्ये महिलाको संख्या ३ लाख ८५ हजार २ सय ५ जना रहेका छन् । देशभरको तथ्याङक अनुसार सबैभन्दा कम बिमा गर्ने प्रदेशमा २ नं. रहेको स्वास्थ्य बिमा बोर्डको तथ्याङकमा उल्लेख छ ।

झापामा स्वास्थ्य बिमा गरेका नागरिकले मेची अञ्चल अस्पताल, बिएण्डसी अस्पताल बिर्तामोड, आम्दा दमक, मेची आँखा अस्पताल बिर्तामोड, धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्र, शनिश्चरे , बनियाँनी, सुरुङा, शिवगञ्ज, खजुरगाँछी स्वास्थ्य केन्द्र, लाइफलाइन अस्पताल दमक, दमक अस्पताल, एड्भान्स मल्टिस्पेसियलिटी दमक, कनकाई अस्पताल बिर्तामोड, दृष्टि आँखा अस्पताल बिर्तामोड, ओम मेची अस्पताल, बिर्तामोड आँखा अस्पताल , निम्स अस्पताल दमक , मेची नेत्रालय काँकरभिट्टा, दमक हस्पिटल एण्ड रिसर्च सेन्टरमा सेवा पाउने बोर्डले जनाएको छ ।
स्वास्थ्य बिमा बोर्ड झापाकी प्रमुख कणेलले स्थानीय तहहरु बिमा गराउने कार्यमा सक्रिय भएको बताएकी छन् । उनले जनशक्तिको अभावले स्थानीय तहसँग समन्वय गर्न कठिनाई भएपनि पालिकाहरु आफै सक्रिय भएको बताइन् । कणेलले भनिन्, झापाका सबै नागरिकले २०३० सम्ममा बिमा गरिसक्नेछन् । त्यसका लागि स्थानीय तहहरुले अझै प्रभावकारी रुपमा भूमिका निर्भाह गर्न जरुरी देखिन्छ ।
झापामा ०७४ असोज २५ देखि शुरु भएको बिमा कार्यक्रम थप प्रभावकारी बनाउन बोर्ड लागिपरेको जनाएकी छन् ।