बैशाख २०, २०८२ शनिबार

शनिश्चरे-अर्जुनधारा खोनपानी संस्थाको वर्षेनी भ्रमणमा उपभोक्ताको आपत्ति

झापा । झापाको शनिश्चरे–अर्जुनधारा खानेपानी उपभोक्ता समिति फागुन ८ गते अवलोकन भ्रमणका लागि प्रस्थान गर्दैछ । वर्षेनी अवलोकन भ्रमण गरेका विषयलाई लिएर केहि उपभोक्ताहरुले आपत्ति जनाएका छन् ।

तत्कालिन अध्यक्ष छत्रमणि ढकालको पालामा एक कार्यकालमा एक पटक भ्रमण गर्ने निर्णय भएको उपभोक्ताहरुको भनाई छ । उक्त निर्णय विपरित अहिलेको समितिले वर्षेनी भ्रमण गरेर वार्षिक लाखौं रुपैयाँ संस्थाको खर्च गरिरहेको उपभोक्ताहरुको आरोप छ ।

खानेपानी संस्थाका अध्यक्ष किरण शिवाकोटीले ८ गते अवलोकन भ्रमणमा जाने कुरा साँचो भएको स्वीकार गरेका छन् । उनले कहाँ जाने भन्ने बारे टुंगो नलागेको बताए । आसन्न अवलोकन भ्रमण अध्यक्ष शिवाकोटीको कार्यकालको अन्तिम रहेको छ । अध्यक्ष शिवाकोटीले भने, मेरो ४ वर्षे कार्यकालमा २ पटक भ्रमण भइसकेको छ, अब तेस्रो पटकको अवलोकन भ्रमणको तयारी भइरहेको छ ।

गत मंसिरमा सम्पन्न साधारणसभाबाट प्राप्त भएको म्याण्डेड अनुसार नै खानेपानी संस्थाको अवलोकन भ्रमण जान लागेको अध्यक्ष शिवाकोटीले जानकारी दिए । साधारणसभाले नै अवलोकन भ्रमणको खर्च स्वीकृति एवम् अनुमोदन गर्दै आएको उनको भनाई छ । ८ गते जाने भनिएको भ्रमणका लागि २ लाख रुपैयाँ स्वीकृत गरिएको छ । वर्षेनी सरदर २ लाखका दरले अवलोकन भ्रमणमा खर्च गरिरहेको समितिले के सिक्यो, त्यसबाट उपलब्धी भयो भन्ने प्रश्न स्थानीय उपभोक्ताहरुले उठाइरहेका छन् ।

आफ्नो कार्यकालमा सन्दकपुर र कालिन्चोक भ्रमण गरिसकेको बताउने अध्यक्ष शिवाकोटीले विभिन्न खानेपानी आयोजनाहरुको भ्रमण गर्दै सिक्ने र यहाँको अनुभवहरु सुनाउने गरेको बताए । २१ सय उपभोक्ता रहेको शनिश्चरे – अर्जुनधारा खानेपानीमा विगतकै कार्यक्रमलाई निरन्तरता दिएको अध्यक्षको धारणा छ ।

यसअघिका समितिहरु पनि अवलोकन भ्रमण गर्नुहुन्थ्यो, उनले भने – त्यसैको निरन्तरता मात्रै हो ।
अवलोकन भ्रमणमा खानेपानी समिति, कर्मचारी, उपसमितिहरु, सल्लाहकारहरु सहभागी हुने गरेका छन् ।

प्रकाशित मिति : फाल्गुन ४, २०८१ आईतबार  १२ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]