अर्जुनधारा संस्कृत आदर्श माविको ३३ औं वार्षिकोत्सव सम्पन्न
शनिश्चरे । अर्जुनधारा नगरपालिका –७ स्थित अर्जुनधारा संस्कृत आदर्श माध्यमिक विद्यालयको ३३ औं बार्षिकोत्सव तथा सावित्रादेवी प्रसाई स्मृति अक्षयकोष छात्रवृत्ति वितरण समारोह सोमबार सम्पन्न भएको छ । प्रमुख अतिथि एवं अर्जुनधारा जलेश्वरधामका अध्यक्ष नवीन गट्टानीले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद भट्टराईले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदनमा विद्यालयको ऐतिहासिक पृष्ठभूमि , शैक्षिक तथा भौतिक गतिविधि बारे उल्लेख छ । सोही अवसरमा अक्षयकोष दाता तथा समाजसेवी देवकला प्रसाईंले बिद्यालयका जेहेन्दार बिद्यार्थीहरु विपना पाँचकोटी, अञ्जना खातुन , दिपक विश्वकर्मा, हिमाल घिमिरे , खेमराज लामिछाने , मनिष बराल, छत्रपति गुरागाई, भूपेन्द्र भट्टराई , विष्णु खतिवडा लगायत १० जनालाई जनही ७ सय ६० रुपैयाँको दरले छात्रवृत्ति पुरस्कार वितरण गरिन् ।
त्यसै अवसरमा बर्ष उत्कृष्ट शिक्षकका रुपमा विद्यालयका सहायक प्रधानाध्यापक हरिनारायण खतिवडा, उत्कृष्ट कर्मचारीतर्फ दशरथ रिजाल र अभिभावक नारायण प्रसाद खनाललाई सम्मान–पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने संस्थापक प्रधानाध्यापक स्व. पुष्पलाल निरौलाकी धर्मपत्नी इन्द्रलक्ष्मीलाई दोसल्ला ओढाई सम्मान गरिएको थियोे ।
विद्यालयको विविध कार्यक्रम अनुसार आयोजित अन्तरपालिका गुरुकुल (संस्कृत बेद बिद्यापीठ) स्तरीय धर्म ग्रन्थ गीता वाचन प्रतियोगितामा प्रथम सप्तऋषि गुरुकुलका विद्यार्थी हृदम पौडेल ,द्वितीय कालिका बेद विद्यापीठका प्रयास खतिवडा र तृतीय आयोजक विद्यालयका कृजल नेपाल भएको निर्णायक थीर प्रसाद भट्टराईले जानकारी दिए ।
प्रथम, द्वितीय र तृतीय हुने मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै शंख बजाउने प्रतियोगितामा अर्जुनधारा जलेश्वरधामका मुल अर्चक अग्नि प्रसाद सिग्देल प्रथम र प्राचार्य हेमन्त भण्डारी द्वितीय भएका थिए । मकैको दाना अनुमान प्रतियोगिता सम्मानित व्यक्तित्व इन्द्रलक्ष्मी निरौलाले जितेकी थिइन् । त्यसैबीच एसईई उत्कृष्ट विद्यार्थी सौगात सापकोटा , कक्षा –३ मा प्रथम हुने अञ्जना खातुन ,कक्षा –८ मा प्रथम हुने पुकार भट्टराई र कक्षा –९ मा प्रथम हुने कृजल मेडल र प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियोे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल गुरागाइँको सभापतित्व र हरिप्रसाद ढुङ्गेलले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि गट्टानीले यस संस्कृत आदर्श माध्यमिक विद्यालय नगरको गहना भएको बताएका छन् । झापा कै उत्कृष्ट संस्कृत आदर्श माध्यमिक विद्यालय बनाउने पर्नेमा उनको जोड थियो । कसरी हुन्छ ? विद्यार्थी र अभिभावकहरुलाई विश्वास दिलाएर विद्यालयमा विद्यार्थीहरुको संख्या बढाउन आवश्यक रहेको छ । यस संस्कृत बिद्यालय उन्नतिका लागि आफू र आफ्नो परिवारबाट सक्दो सहयोग गर्ने प्रतिवद्वता गरे ।
अर्का वक्ता धरोहर संस्कृत आदर्श मावि बचाएर भविष्यमा यसै विद्यालयमा ११ र १२ सञ्चालन गरे एसईई परिक्षा उत्तीर्ण गरी विद्यार्थीहरु अध्ययन गर्न भारत बनारस तिर जानु नपर्ने बताए । कार्यक्रममा विद्यार्थीहरुले स्वागत गीत, हाँस्यब्यङ्ग्य प्रस्तुत गरेका थिए भने विद्यार्थी कृजल नेपालले स्वागत मन्तव्य राखेका थिए ।