प्रधानमन्त्री ओलीको विकल्प छैन :उपप्रधानमन्त्री
बिराटनगर । उपप्रधानमन्त्री ईश्वर पोखरेलले वर्तमान सरकारको नेतृत्वको विकल्प नरहेको बताएका छन्। विराटनगर विमानस्थलमा शुक्रबार साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले वर्तमान प्रधानमन्त्री विधिसम्वत ढङ्गले नियुक्ति भएको र पार्टीभित्र अर्को प्रधानमन्त्रीका सम्बन्धमा खोजी र चर्चा नभएको प्रष्ट पारे ।
उनले भने, ‘ वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली विधिसम्वत ढङ्गले नियुक्ति हुनुभएको हो । पार्टीभित्र पनि अर्को प्रधानमन्त्री बनाउने सम्बन्धमा खोजी र चर्चा भएको छैन । त्यसैले उहाँको विकल्प छैन ।
रक्षामन्त्रीसमेत रहेका उनले वर्तमान सरकार आफ्नो हैसियतमा रहेकाले सार्वजनिक भएका समाचारप्रति अलमल र चिन्ता नलिन कार्यकर्तालाई आह्वान गरे ।
पार्टी सचिवालयले उपाध्यक्षलाई राष्ट्रिय सभामा मनोनितको सिफारिश गर्ने निर्णय आफ्नो प्रक्रियाबाट भएको र कार्यान्वयन हुनका लागि भएको तर यसको विधि र प्रक्रिया रहेकाले त्यसका विरुद्ध प्रधानमन्त्रीले केही वोल्नु नभएको जानकारी दिए ।
उनले एक व्यक्तिलाई प्रधानमन्त्री बनाउनका लागि मात्र संविधान संशोधन नगरी अभ्यास, अनुभव र औचित्यका आधारमा हुने बताए । उनले मुलुकमा अस्थिरता उत्पन्न गर्न भइरहेका विभिन्न षड्यन्त्रलाई परास्त गरिने जिकिर गर्दै पार्टीभित्र विवाद सिर्जना गर्ने कार्य भइरहेको उल्लेख गरे ।
स्वेतपत्र कसैलाई वदनितपूर्णवाट होच्याउने आधारमा नभएकाले सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गरेको र यसमा भएका केही मिति सच्याइने उनले जानकारी दिए ।