बैशाख २२, २०८१ शनिबार

ममाथि ठूलो धनराशी खर्च गरेर षड्यन्त्र भएको छ : मुख्यमन्त्री राई

झापा । दोलखाकी बालिका खड्काले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई आफ्नो पति भएको भन्दै काठमाडौं जिल्ला अदालतमा अंश मुद्दा दर्ता गरेकी छन् ।

‘नाता कायम गरी अंश दिलाइ पाऊँ’ भन्दै उनले शुक्रबार मुद्दा दिएकी हुन् । खड्काले दिएको मुद्दामा मुख्यमन्त्री राईले शारीरिक यातना दिएको र यौन दुव्र्यवहार गरी घरेलु हिंसा गरेको आरोप लगाएकी छन् ।

खड्काले मुद्दा दिएको भोलिपल्ट मुख्यमन्त्री राईले प्रेस संगठन प्रदेश नम्बर १ ले गरेको कार्यक्रममा आफूविरूद्ध ठूलो धनराशी खर्च गरी षड्यन्त्र भएको बताएका छन् ।

कार्यक्रममा मुख्यमन्त्री राईले राखेको धारणाको अंश

मैले केही कुरा बोलिनँ भने आफैं अन्यायमा पर्ने देखेको छु । अब मैले बोल्ने बेला आयो । म यहाँहरूको थौरै समय लिन चाहन्छु । त्यो मसँग सम्बन्धित छ । म विरूद्ध २०७२ सालबाट एउटा षड्यन्त्र सुरू भएको छ । म सञ्चार मन्त्री भएको दुई र तीन महिनापछि त्यो षड्यन्त्र सुरू भयो ।

म विरूद्ध विभिन्न ठाउँमा बैठकहरू बसे । एउटा गिरोह त्यसमा सक्रिय भयो । केही पात्रहरूको खोजि गरियो, पात्रहरूको खरिद गरियो । र त्यसपश्चात ममाथि त्यसलाई प्रयोग गरियो ।

हिजो मात्रै एउटा कुन अदालतमा मुद्दा दर्ता भयो भन्ने कुरा सामाजिक सञ्जालमा आइरहेको छ । ०७२ सालेदेखि लगातार मौसम अनुसार सामाजिक सञ्जाल र केही सानामसिना अनलाइनहरूमा मेरो प्रसंगमा केही कुराहरू आइरहेको यहाँहरूलाई सर्वविविधै छ ।

बोल्ने उपर्युक्त समयको पर्खाइमा थिएँ म । आजसम्म यस प्रसंगमा मैले बोलेको थिइनँ । किनभने मेरो कुनै दोष छैन, कुनै कमजोरी छैन । जुन पात्रको कुरा छ ती पात्रसँग मेरो कहिल्यै चिनजान भएको र बोलचाल भएको पनि छैन ।

म सञ्चारमन्त्री भएको तीन महिनापछि फटाफट मेरो नम्बरमा म्यासेज आउँछ, त्यो म्यासेज एउटा दुइटा होइन । सयौंको संख्यामा आउँछ । भोलिपल्ट पनि आउँछ । मलाई म्यासेज आएको नम्बरमा कल ब्याक गर्छु र को मान्छे हो भनेर म चिन्न खोज्छु । नामसम्म थाहा हुन्छ । त्यसपछि मैले फोन राख्छु । तर म्यासेज लगातार आयो ।

त्यसपछि मैले ती म्यासेजहरूलाई जस्ताको त्यस्तै मोवाइलमा राखेर मैले सञ्चारमन्त्रीको हैसियतमा सरकारको प्रवक्ता हैसियतमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई मैले देखाएँ । उहाँ पनि अचम्मित हुनुभयो । यसभन्दा अगाडि पनि तपाईंका बारेमा एउटा गलत पोको लिएर मान्छेहरू यहाँ आएका थिए । आज प्रमाणित भयो कि तपाईंमाथि ठूलो षड्यन्त्र भएको रहेछ । त्यो कुरा पुष्टि भयो । अब तपाईं ढुक्कले केही विचलित नभईकन आफ्नो काममा अगाडि बढ्नुस र कसैलाई कुनै प्रतिक्रिया नदिनुस् । मैले मान्छे चिनेँ ।

मैले बुझेँ, प्रधानमन्त्रीज्यूले भन्नुभयो । तर म्यासेज र मलाई त्यसप्रकार ह्यारेस्ट गर्ने काम रोकिँदैन । त्यसपश्चात जब सरकारबाट हामी बाहिरियौं त्यसपश्चात मैले सात पेजको म्यासेज प्रिन्टआउट गरेर ती पात्रले मेरो मोवाइलमा छ वटा नम्बरबाट पठाएका म्यासेजहरू प्रिन्टआउट गरेर त्यो गिरोहको एउटा नाइके जसको नाम किटानी गरेर मैले पार्टीमा एउटा एजेन्डा मैले दर्ज गरेँ । पोटिटव्युरो बैठकमा ।

मैले पार्टी अध्यक्षसँग औपचारिक अनुमति मागेर एजेन्डा दर्ज गरेर पोलिटव्युरो बैठकमा दुई घण्टा छलफल भयो । बैठकमा एकमतले ती पात्र गलत हुन् भन्ने कुराको निश्कर्ष निस्क्यो ।

एउटा छानविन समिति गठन गरेर त्यस गिरोहमा त्यस अपराधमा जसले मेरो व्यक्तिगत राजनीतिक जीवनलाई समाप्त गर्नको निम्ति करोड पैसा खर्च गरेर क्रियाशील छ, सक्रिय छ । त्यो गिरोहलाई बाहिर ल्याउने हिसावबाट एउटा छानविन कमिटी बनोस् । त्यो बनाइयोस् मैले आग्रह गरेँ।

अध्यक्षले स्थायी कमिटीबाट आवश्यक निर्णय लिने र उहाँले निश्कर्ष सुनाउनुभयो र बैठक सकियो । मैले पार्टी अध्यक्षसँग अनुमति मागेर सात पेज म्यासेजसहित छ नम्बरसहित मैले सिआइबीमा आवश्यक अनुसन्धानको निम्ति मैले निवेदन गरेँ । प्रहरीले प्रारम्भिक मान्छेमाथि अध्ययन ग‍र्यो कि यी मान्छे स्वभाविक मनस्थितिमा छैनन् । त्यसो हुँदा अहिले कारबाही अघि नबढाऔं हामी अध्ययन अनुसन्धान गर्छौं भन्ने कुरा त्यतिबेलाको डिआइजी अहिले प्रतिनिधिसभा सांसद हुनुहुन्छ, नवराज सिलवाल उहाँले त्यो जवाफ दिनुभयो ।

यसबारे मैले आजका मितिसम्म कहिँकतै प्रतिक्रिया दिएको थिइनँ । तर लगातार लगातार ममाथि त्यसप्रकारको षड्यन्त्र र गिरोह के कारणले हो मलाई थाहा छैन । म सबैलाई भन्न सक्छु शिर ठाडो पारेर, म भुइँबाट आएको मान्छे हो ।

म विकट गाउँमा जन्मेको मान्छे हो । भुइँबाट आएको मान्छे कम्युनिष्ट पार्टीको सदस्यता लिएर जे जिम्मा पायो पाएको जिम्मा राम्रो र फत्ते गर्दै यो ठाउँमा आएको मान्छे हो । म कसैको चाकडी गरेर आएको होइन ।

कसैको आशीर्वादप्राप्त गरेको होइन । म मिडियाबाजी गरेर, प्रचारबाजी गरेर अनेकथोकको साहरा लिएर आएको मान्छे होइन । मेरो जीन्दगी शतप्रतिशत पारदर्शी छ ।

म चुनौती दिन चाहन्छु सबैलाई आर्थिक र नैतिक मामलामा आजका मितिसम्म कसैले पनि खोट लगाउन सक्ने ठाउँ मैले बनाएर राखेको छैन । म यो कुरा स्पष्टसँग भन्न चाहन्छु ।

यसका बारेमा बोल्ने समयको पर्खाइमा थिएँ भनेर मैले अघि भनिसकेँ । किनभने मलाई यसबारेमा पुलिसले पनि नबोल्न, प्रतिक्रिया दिनुको अर्थ छैन भन्यो । पार्टीले पनि भन्यो। तर आज बोल्नुपर्ने फन्डा ठ्याक्कै आयो । अब दुधको दुध पानीको पानी छुट्टिने समय आयो । केहीदिनमा यो छुट्टिन्छ यहाँहरूले थाहा पाउनुहुन्छ ।

प्रकाशित मिति : फाल्गुन १८, २०७६ आईतबार  १० : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]