बैशाख २०, २०८२ शनिबार

एम्स एकाडेमीको २७ औं वार्षिकोत्सव सम्पन्न

शनिश्चरे । अर्जुनधारा नगरपालिका – ८ स्थित एम्स एकाडेमी अंग्रेजी माध्यमिक विद्यालयको २७ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार सम्पन्न भएको छ ।

सीप, संस्कार र प्रविधिसहितको शिक्षा आजको आवश्यकता भन्ने मुल नाराका साथ कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि तथा झापा प्याब्सनका अध्यक्ष छत्रबहादुर कार्कीले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका हुन् । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले विद्याकी सरस्वती माताको बन्दना प्रार्थना गरेका थिए भने प्रधानाध्यापक ओमप्रकाश ओझाले कार्यक्रमको औचित्यसहित बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सो अवसरमा विद्यार्थीहरुले मार्च पास र पीटी प्रदर्शन गरेका थिए । विद्यालयको विविध कार्यक्रम अनुसार साँस्कृतिक नृत्य तथा गायन प्रस्तुत क्रममा कुमारी राजवंशी र साथीहरूले देशभक्ति भावना झल्काउने नृत्य , कक्षा एल.के.जी का विद्यार्थीहरुले पुतली नाच प्रस्तुत गरेका थिए । त्यस्तै लतसा राजवंशी र साथीहरूले लाइदेऊ माया ए ! साइली भन्ने गीतमा नृत्य, सदिक्षा कोइराला र साथीहरूले नेवारी नृत्य, एलिना घिमिरे र साथीहरूले लिम्बू नृत्य र कृति सेन्दाङ र साथीहरूले तामाङ सेलो र एवल सुवेदीले भगवान शिवजीको ताण्डव नृत्य प्रस्तुत गरेका थिए । गायनतर्क सुप्रिया घिमिरेले चौवन्दीमा पटुकी बाँध्या छैन र सुभम कार्कीले कम्मरैमा पटुकी कसेर भन्ने गीत प्रस्तुत गरेका थिए भने कक्षा ९ का रिया चौहानले मेरो विद्यालय, मेरो गौरव भन्ने शिर्षक कविता वाचन गरे ।

कार्यक्रममा अभिभावक तथा दर्शकहरुलाई मनोरञ्जन गराउनका लागि विद्यार्थीहरुले खुसीको बर्षा लघु नाटक प्रस्तुत गरेका थिए । त्यसै अवसरमा अतिरिक्त क्रियाकलाप तर्फ उत्कृष्ट र परीक्षामा प्रथम ,द्वितीय , तृतीय हुने विद्यार्थीलाई प्रमाणपत्र र पुरस्कार वितरण गरिएको थियो । अभिभावकहरुका लागि लक्की ड्रो ( भाग्य चिठ्ठा ) तनाइएको आयोजकले जनाएको छ ।

शिक्षक, अभिभावक संघका अध्यक्ष रमेश नेपालको सभापतित्व र तिलोचन दाहालले सञ्चालन गरेको कार्यक्रममा विशिष्ट अतिथि एवं मेची बहुमुखी क्याम्पसका पूर्व प्राध्यापक लोकनाथ पौड्याल, शनिश्चरे बहुमुखी क्याम्पस प्रमुख मोहन प्रसाद ओली लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रबन्ध निर्देशक टिआर गौतमले राखेका थिए ।

प्रकाशित मिति : फाल्गुन १९, २०८१ सोमबार  १० : १९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]