बैशाख २१, २०८१ शुक्रबार

कोरोना भाइरसको त्रास : ठूला सभा, सम्मेलन, प्रशिक्षण र आवातजावत नगर्न निर्देशन

बिर्तामोड । विश्व स्वास्थ्य संगठनले नेपाल कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको तथ्य सार्वजनिक गरेपछि देशभर त्रास फैलिएको छ । यसबाट सुरक्षित हुन सरकारले नागरिकलाई अपिल पनि गरेको छ । ठूला सभा, सम्मेलन, प्रशिक्षण र आवातजावत नगर्न भनेपछि देशभर सचेतना अपनाउन थालिएको छ ।

यसैक्रममा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सुखानीको आमसभा स्थगित गरेको छ । मंगलवार पत्रकार सम्मेलन गर्दै प्रदेश कमिटीका अध्यक्ष देवराज घिमिरेले आमसभा स्थगित गरेको जानकारी दिए ।

हिजोको लागि आयोजना गरिएको प्रदेश १ भेला तथा प्रशिक्षण समेत स्थगित भएपछि पत्रकार सम्मेल नै गरेर कार्यक्रम स्थगन भएको घोषणा गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली कार्यक्रममा सहभागी नहुने भएपछि कार्यक्रम स्थगित गरिएको हल्ला गलत भएको नेकपाका नेताहरुले बताएका छन् । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमका कारण भेला स्थगित गरिएको प्रदेश अध्यक्ष घिमिरेले बताए ।

सरकारले कोरोनाको सम्भावित जोखिमबाट टाढा रहन ठूला सभा, सम्मेलन, प्रशिक्षण नगर्न आग्रह गरेकाले भेला रोकिएको उनले जानकारी दिए । ‘नेपाल कोरोना जोखिमको सूचीमा छ, सरकार र केन्द्रीय कमिटीको आग्रह अनुसार भेला रोकेका हौँ’– उनले भने । घिमिरेका अनुसार भेला तथा प्रशिक्षणका लागि सबै तयारी पूरा भएको थियो । मंगलबार विर्तामोडमा तय भेलामा सहभागी हुन प्रतिनिधि आउने क्रम समेत सुरु भएको थियो ।

वरिष्ठ नेता झलनाथ खनाल सोमबार नै झापा आएका थिए । भेलालाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य रामबहादुर थापा लगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो । अनुकुल परिस्थिति भएपछि मात्र भेलाको नयाँ मिति तोकिने घिमिरेले जानकारी दिए ।

केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार नेकपाले विशेष अभियानको तयारीका लागि सातै प्रदेशमा भेला गरेको हो । यसअघि नेकपाले वाग्मती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र प्रदेश ५ मा भेला सम्पन्न गरिसकेको छ । अब प्रदेश १ र २ मा मात्र बाँकी छ । पत्रकार सम्मेलनमा विश्वभर कोरोना भाइरसको संक्रमण बारे जानकारी दिदैं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालीहरु विशेष सुरक्षा अपनाउनु पर्ने बताएका छन् । उनले नेपाल स्वास्थ्य उपचारको लागि समुन्नत नभएकाले कोरोनासँग नेपालीहरुलाई लड्न सजिलो नभएको खनालको भनाई छ । उनले भने, अब साथीभाई भेट्दा हात नमिलाउनुस्, नमस्ते गरे हुन्छ ।

वैदेशिक रोजगारमा जान नपाइने
कोरोना भाइरस (कोभिड–१९) को जोखिमका कारण वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति रोकिएको छ । चीनको वुहानबाट फैलिएको कोरोना विश्वव्यापी बनेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रम रोकेको सरकारले तत्काललाई श्रम स्वीकृति स्थगित गरेको हो ।
सरकारले नेपाल भ्रमण वर्ष, अन्तराष्ट्रिय सगरमाथा संवाद लगायत कार्यक्रम रोक्ने घोषणा गरिसकेको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोरोना संक्रमणको जोखिमयुक्त देशको सूचीमा राखेपछि सरकारले उच्च सतर्कता अपनाएको छ ।

सरकारले अत्यावश्यक कामबाहेक वैदेशिक रोजगारीमा समेत नजान आग्रह गरिसकेको छ । कोरोनाको प्रभाव कम नभए सम्म श्रम स्वीकृति दिने काम स्थगित गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले जानकारी दिए ।

कोरोना संक्रमणको जोखिम रहेका देशमा नेपाली कामदार नपठाइने बताउँदै उनले भने– ‘सरकारले अत्यावश्यक काम बाहेक विदेश नजान आग्रह गरेको छ, सर्वोच्च अदालतले पनि प्रभावित देशसँगको हवाई उडान रोक्न आदेश दिएको छ, यही कारण हामीले तत्काललाई श्रम स्वीकृति दिने काम रोकेका हौं ।’

मन्त्री यादवका अनुसार कोरोना त्रास हटेपछि श्रम स्वीकृति दिने काम नियमित हुनेछ । सरकारले यसअघि नै अध्ययन, घुमफिर एवं मनोरञ्जन भ्रमणका लागि विदेश नजान अनुरोध गरिसकेको छ । सरकारले अहिले विदेश जान चाहने विद्यार्थीहरुलाई स्वीकृतिपत्र जारी नगर्ने, वैदेशिक रोजगारीमा जानेका लागि पनि अत्यावश्यक अवस्थाबाहेक नजान अपिल गरेको थियो ।
दक्षिण कोरियामा कोरोनाको संक्रमण फैलिएपछि सरकारले यसअघि नै त्यहाँ जान रोक लगाइसकेको छ । बहराइन जान लागेका ३० नेपालीलाई केही दिनअघि संयुक्त अरब इमिरेट्सको दुबईबाट त्यहाँका अध्यागमन अधिकारीले फर्काएका थिए ।

नेपाली कामदार धेरै भएका विभिन्न श्रम गन्तव्य मुलुकमा कोरोनासंक्रमण देखिएको छ । अमेरिका, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (युएई), कतार, बहराइन, जापान र ओमानमा पनि कोरोनाको संक्रमण देखिएको छ । ती मुलुकमा लाखौं नेपाली कार्यरत छन् । वैदेशिक रोजगारमा रहेका नेपालीलाई सतर्क रहन तर, नआत्तिन सरकारले आग्रह गरेको छ ।
सरकारले कोरोनाको जोखिमबाट बच्न ठूला सभा, समारोह, सम्मेलन, भोज लगायत कार्यक्रम नगर्न पनि अपिल गरिसकेको छ ।

कोरोना भाइस नेपाल भित्रन नदिने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले बाहिरबाट आउने यात्रीहरुलाई निगरानी गर्दा कोरोना भाइरस नेपाल भित्रिन नसक्ने बताएका छन् ।
मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने,‘कोरोनालाई नेपाल आउन नदिनु हाम्रो प्रमुख लक्ष्य हो । सोहीअनुसार काम गरिररहेका छौं । सरकारले राम्रो तयारी गरेको छ ।’

डा. देवकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘हेल्थ–डेस्क’ राखेर काम गरिरहेको स्पष्ट पारे । उनले भने,‘रुघाखोकी, ज्वरो, छाती दुःख्ने र श्वासप्रश्वासमा गाह्रो भएको लक्षण देखियो भने चेकजाँच गरिन्छ । विमानस्थलमा टेम्प्रेचर लिने र स्कानर लिने काम हुन्छ । सयभन्दा बढि फरेनहाईट टेम्प्रेचर देखियो भने निगरानीमा राखिन्छ ।’
उनले विमानस्थलमा हरेक यात्रुलाई चेकजाँच गरिने गरिएको सुनाए । त्यतिमात्रै, होइन विमानस्थलको हेल्थ डेस्कमा जनशक्ति बढाइएको पनि उनले जनाए । उनले भने,‘अहिले १९ जनाको जनशक्तिले काम गरिरहेको छ । ६ वटा थर्म मिटर प्रयोग भएको छ । व्यवस्थापन चुस्तदुरुस्त बनाएका छौं ।’

हवाई नाकामात्रै नभएर उनले चीन र भारतसँगको स्थलगतमार्गमा समेत निगरानी बढाइएको उनले स्पष्ट पारे । शुक्रराज ट्रपिकल अस्पतालमा सय बेड रहेको र त्यसमा पनि बेड आईसोलेशन बेड समेत राखिएको उनले जनाए । चीनबाट उद्धार गरेर ल्याईएका सबैको दुई पटकसम्म स्वास्थ्य परीक्षण गरिएको र सबै रिपोर्ट राम्रो आएकोले भर्खरै घर फकाईएको पनि उनको भनाई छ ।
कार्यक्रममा सरुवा रोग विशेषज्ञ एवम् शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले टेकु अस्पतालमा कोरानाको शंकास्पद विरामीलाई आईलोसेनमा राखेर उपचार गरिएको सुनाए ।

अहिलेसम्म एक जनामा पोजिटिभ देखिएपनि पछि राम्रो भएर विरामी डिस्चार्ज भैसकेको बास्तोलाले सुनाए । उनले भने,‘२३ जना भर्ना हुनुभएको थियो । त्यसमध्ये एक जनामा पोजिटिभ देखिएको छ । १८ जनामा नेगेटिभ देखियो । बाँकीको रिपोर्ट आउँदैछ ।’

कोरोनाको लक्षण देखिए त्यहीअनुसार उपचार गर्ने गरिएको सुनाउँदै उनले टेकु अस्पतालमा अहिले ४० बेड क्वारेन्टाईन बेड र ५ आईसोलेशन बेड बनाईएको र त्यस्तो लक्षण देखिएकाहरुलाई १४ दिन राखेर उपचार गर्ने व्यवस्था गरिएको बताए । कोरोनाको संक्रमण ८० देखि ८२ प्रतिशत चाहीँ सामान्य रुघाखोकी र बाँकी निमोनियालगायतबाट देखिने उनले स्पष्ट पारे । यसबाट मृत्यु हुने दर एक सयमा २ देखि ३ मात्रै रहेको बास्तोलाले बताए ।

ज्वरो आए यात्रा नगर्नुस् : बुद्ध एयर
नेपालको सबैभन्दा ठूलो आन्तरिक वायुसेवा कम्पनी बूद्ध एयरले कोरोना भाइरसको मूख्य लक्षण रुघाखोकी र ज्वरो आएका यात्रुलाई विमानस्थलमा नआउने आग्रह गरेको छ ।
यस्तो लक्षण देखिएका व्यक्ति हवाईजहाज र विमानस्थलमा नआउन आहृवान गर्दै कम्पनीले बरु यात्रा रद्द गर्न सुझाव दिएको छ ।

टिकट रद्द गरेवापत नियमअनुसार भाडा फिर्ता गरिने कम्पनीको भनाइ छ । ‘कोरोना भाइरसको प्रकोप संसारभरी नै फैलिरहेको छ,’ कम्पनीले भनेको छ, ‘यसका लागि हामी सबैले सावधान अपनाउनै पर्छ, तसर्थ कोरोनाको मूख्य लक्ष्य रुघाखोकी तथा ज्वरो आएका व्यक्ति र आफन्तजनले हवाई यात्रा तथा विमानस्थलमा नगइदिनुहुन अनुरोध गर्दछौं ।’

प्रकाशित मिति : फाल्गुन २१, २०७६ बुधबार  ११ : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]