बैशाख २२, २०८१ शनिबार

मास्क लुकाउनेलाई २ लाख जरिवाना

बिर्तामोड । मास्कमा कालोबजारी भएको भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उजुरी परे पनि विभागले अनुगमन थालेको छ ।

कोरोना भाइरसको त्रासले औषधि पसलहरु तथा सर्जिकल फर्महरुले मास्क लुकाउन थालेको र मूल्यसमेत बढी लिएको भन्दै विभागमा उजुरी परेपछि विभागले मास्क केन्द्रित अनुगमन थालेको हो । कोरोना भाइरस संक्रमणको त्रासमा सर्जिकल माक्स, सेनिटाइजेसनलगायत वस्तुको बजार माग बढिरहेको अवस्थामा त्यस्ता वस्तु लुकाउने र बढी मुल्यमा बेच्ने गरेको गुनासो आएपछि विभागले अनुगमन तीव्र बनाएको हो।

विभागले मंगलबारमात्र क्षेत्रपाटीको नेपाल केयर सर्जिकल सप्लायर्सलाई कालोबजारी गर्ने उद्देश्यले माक्स लुकाएको र २ लाख रुपैयाँ जरिवाना गरिएको छ । त्यस्तै क्षेत्रपाटीकै सचिन ट्रेड कन्सर्नलाई पनि १० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

उक्त सर्जिकलले उपभोक्ता संरक्षण ऐनको दफा ३८को उपदफा १ को ९ख० अनुसारको कसुर गरेकाले २ लाख रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ । बजारमा सर्जिकल माक्सको कृत्रिम अभाव देखिएपछि विभागले यो हप्तामात्रै १ दर्जन बढी मेडिकलहरुमा अनुगमन गरेको जनाएको छ ।

अनुगमनका क्रममा औषधि पसल, डिपार्टमेन्टल स्टोर, खुद्रा पसलमा केही समयअघि सजिलै पाइने सर्जिकल माक्सको कृत्रिम अभाव सिर्जना गरेर मुल्य दोब्बर बनाइएको भेटिएको विभागले जनाएको छ । विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बजारमा माक्सको अभाव देखिएको गुनासो आउन थालेपछि बजार अनुगमन त्यस क्षेत्रमा केन्द्रित गरेको बताए । महानिर्देशक सुवेदीले सर्जिकल माक्स अभावको विषयलाई नै केन्द्रमा राखेर बजार अनुगमन गरिने बताए ।

प्रकाशित मिति : फाल्गुन २२, २०७६ बिहीबार  ८ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]