कोरोना रोक्न प्रदेश १ सरकारको तयारी : नाकामा कडा निगरानी, ६ अस्पतालमा आइसोलुसन वार्ड तयार
झापा । प्रदेश एक सरकारले कोरोना भाइरस ( कोविड–१९ ) संक्रमण रोक्न तयारी सुरु गरेको जनाएको छ ।
बुधबार विराटनगरस्थित समाजिक विकास मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा मन्त्री जीवन घिमिरेले कोरोना संक्रमण रोक्न सतर्कता सुरु गरिएको जानकारी दिए । यसक्रममा मन्त्री घिमिरेले प्रदेश एकका विभिन्न ६ वटा अस्पतालमा आइसोलुसन वार्ड तयार गरिएको बताए । जसमा २८ वटा शैय्या तयार गरिएको छ । मन्त्री घिमिरेका अनुसार संक्रमण शंकास्पदलाई पहिलो चरणमा विराटनगरको कोशी अस्पतालमा राखिने छ ।
त्यहाँ शैया पूर्णरुपमा भरिएपछि धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्यसपछि विराटनगरकै नोबेल शिक्षण अस्पतालमा राखिने तयारी गरिएको छ । यसक्रममा प्रदेश सरकारले विराटनगरकै विराटनगर अस्पताल, मेची अञ्चल अस्पताल, झापाको बी एण्ड सी अस्पतालमा समेत वार्ड तयार गरेको छ ।
पत्रकार सम्मेलनका क्रममा मन्त्री घिमिरेले कोरोना नियन्त्रणका लागि स्वास्थ्य निर्देशक डा. सुरेश मेहेताको संयोजकत्वमा विशेषज्ञसहितको टोली तयार गरिएको बताए । त्यसैगरी प्रदेश सरकारले मुख्य चार नाकालाई कडा निगरानीमा राख्ने जनाएको छ ।
विराटनगर जोगबनी नाका, भद्रपुर नाका, काकडभिट्टा नाका र इलामपशुपति नाकाबाट भित्रिने विदेशीहरुमाथि सरकारले निगरानी राख्ने भएको हो । पत्रकार सम्मेलनका क्रममा केन्द्र सरकारकातर्फबाट कोरोना संक्रमण रोक्न सहयोगका क्रममा केन्द्र सरकारकातर्फबाट स्वास्थ्य सेवा विभाग जनस्वास्थ्य शाखा प्रमुख डा. भोगेन्द्रकुमार डोटेलसहित तीनजनाको टोली विराटनगर आएको पत्रकार सम्मेलनका क्रममा जानकारी दिइएको छ ।