जेष्ठ ५, २०८१ शनिबार

चाँडै काममा फर्किन्छु : प्रधानमन्त्री

काठमाडौं । दोस्रोपल्ट मिर्गौलाको शल्यक्रिया गराएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको बताएका छन् ।

शुक्रबार बिहान प्रधानमन्त्रीलाई भेट्न पुगेका उनका राजनीतिक सल्लाहकार विष्णु रिमालसँग ओलीले आफू छिट्टै काममा फर्किने बताएको उनले जानकारी दिएका छन् ।

प्रधानमन्त्रीलाई भेटेपछि रिमालले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘सर्जरीपछि आज पहिलो पटक प्रधानमन्त्री ज्यूसँग कुरा गर्ने अवसर मिल्यो । ‘साथीहरूलाई भनिदिनुस्, मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भईरहेको छ ।’ छिट्टै म काममा फर्किन्छु । धेरै खुशी लाग्यो, शीघ्र स्वास्थ्य लाभको कामना प्रधानमन्त्री ज्यू !

प्रधानमन्त्री ओलीको बुधबार त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । चिकित्सकहरूले पनि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार आइरहेको बताएका छन् । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई हेरेर सात दिन अस्पतालमै राखिने भएको छ ।

अस्पतालबाट डिस्चार्ज गरिने प्रधानमन्त्रीसँग भेटघाट गर्न चाहनेको भीड बढ्न सक्ने भएकाले अस्पतालमै राखिएको अस्पताल स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्रीलाई उनकी भान्जी समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दान गरेकी हुन् । १२ वर्षअघि प्रधानमन्त्री ओलीको भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका थिए ।

प्रकाशित मिति : फाल्गुन २३, २०७६ शुक्रबार  १२ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]