बैशाख २३, २०८१ आईतबार

प्रशासनको निर्णय उल्लंघन, झापा जिल्लाभर भीडभाडको कार्यक्रम जारी

बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाको निर्णय विरुद्ध संघ संस्थाहरुले कार्यक्रम आयोजना गरिरहेका छन् । कोरोना भाइरस (कोभिड–१९) को जोखिमबाट सुरक्षित हुन गरेको निर्देशन जिल्लास्थि विभिन्न संघ संस्थाले उल्लंघन गरिरहेको पाइएको छ । प्रशासन कार्यालयको २२ र २३ गतेको बैठकले सबै प्रकारका सभा, सम्मेलन र भेला नगर्न अनुरोध गरेको थियो ।

निर्णयकै बिचमा चलिरहेको बाहुण्डाँगी महोत्सव सकिएको छ । निर्णय भइरहँदा कार्यक्रम चलिरहेको थियो । यस्तै, सैनिक महोत्सव जारी छ । शुत्रबार मात्रै साँझमा कनकाई माईस्थित गंगा आरती गरियो । जहाँ सयाँैको भीडभाड जम्मा भएको थियो । आरतीमा जिम्मेवार निकायकै प्रतिनिधिहरु सहभागी भएका थिए ।

विपद् व्यवस्थापन समितिको बैठकले गरेको निर्णय नं. ४ मा भनिएको छ, होली लगायत सबै प्रकारका सभा सम्मेलन कार्यक्रमबाट भीडभाड भई सोको कारण जोखिम बढ्ने संभावना भएकाले भीडभाड नगर्न वा भीडभाडमा सामेल नहुन अनुरोध गरिएको छ । यस निर्णयलाई उल्लंघन गर्दै शनिवारबाट बिर्तामोडमा संग्रौला वंश समन्वय समाजकल्याण समिति नेपालको चौथो महाधिवेशन शुरु गरिएको छ । शनिावरबाट बिर्तामोडमा ब्याडमिन्टन शुरु भएको छ , यस्तै अर्जुनधारा धामको सभा चलाएको छ ।

त्यस्तै झापाको विर्तामोड–२ चारपानेस्थित श्रीकृष्ण प्रणामी मन्दिरले बृहत धार्मिक अनुष्ठान गरिरहेको छ । जहाँ हजारौं भक्तजनको दैनिक उपस्थिति हुने गरेको छ । मन्दिरले भ्रमण वर्ष २०२० लाई समेत प्रवद्र्धन गर्ने गरी स्वर्ण महोत्सवको अवसरमा साताव्यापी श्री १०८ सागर पाठ पारायण एवम् श्रीकृष्ण कथा ज्ञान महायज्ञ आयोजना गरेको बताइएको छ ।

जिल्ला प्रशासनले जारी गरेको २२ गतेको सूचनामा मानिसहरु जम्मा हुने कुनै पनि कार्यक्रम सभा, समारोह मेला , गोष्ठी, मेला महोत्सव हाललाई नगर्न भनिएको थियो । त्यस्तै प्रशासन कार्यालयले शैक्षिक क्षेत्र विधालयहरुमा समेत कुनै कार्यक्रम नगर्न भनेको छ ।

कोरोना भाइरसको संक्रमण जोखिमकै कारण फागुन २० गतेको नेकपाको प्रदेश स्तरीय प्रशिक्षण र सुखानीको आमसभा स्थगित गरिएको थियो । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले २७ औं वार्षिक उत्सव स्थगित ग¥योे । संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले सामाजिक सञ्जाल फेसबुकमा सरकारले गरेको अपिलका कारण यस वर्षको पूर्वनिर्धारित कार्यक्रम रद्द गरेको सूचना जारी गरे । संस्थाको वार्षिकोत्सव फागुन २४ लाई तय गरिएको थियो ।

यसै सन्दर्भलाई लिएर नेपाल पत्रकार महासंघ झापाका सचिव सन्तोष आचार्यले सामाजिक सञ्जालमा लेखे – कोरोना भाइरसका कारण विश्व आतंकित छ । नेपाल सरकारले धेरै मानिसहरु जम्मा हुने खालका कार्यक्रमहरु नगर्न आग्रह गरेको छ । तर, हामीलाई यस्तो आग्रहले छुदैन । सार्वजनिक संस्थाहरु चाहे ती राजनीतिक, धार्मिक या जातीय हुन् सबैले उत्सव, साधारण सभा, भेला समारोह, कार्यक्रम जस्ता नाममा मानिसहरुको भिडभाड गराई रहेका छन् । र, यस्ता कर्मको विभिन्न माध्यमबाट प्रचारबाजी पनि भइरहेको छ । यो कोरोनालाई चुनाति हो कि आफ्नै स्वास्थ्यलाई मैले चाहि बुझेको छैन ।

झापाका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले निर्णयपछि कुनै कार्यक्रमका लागि अनुमति नदिएको बताएका छन् । उनले भने, हामीले सबैलाई अनुरोध गरेका छौं । जिल्लाभर मानिस भीडभाड हुने कार्यक्रम चलिरहेको छ नि भन्ने जवाफ दिँदै प्रजिअ रानाले थपे, – सबैलाई आग्रह गरिएकै छ ।

प्रकाशित मिति : फाल्गुन २५, २०७६ आईतबार  ११ : २९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]