कोरोनाको त्रासले रंगमय हुने बिर्तामोड सुनसान
बिर्तामोड । हरेक वर्षको होलीमा रंगमय हुने बिर्तामोड आज सुनसान छ । छिटपुट बाहेकको अनुहारमा रंग पनि देखिएको छैन । विश्वभर फैलिएको कोरोना भाइरसको प्रभावले बिर्तामोडको होलीलाई पनि प्रभावित बनाएको छ । बिर्तामोड मात्र नभई देशभर यो वर्षको होली गतवर्ष जस्तो मनाइएको छैन ।

झापाको बिर्तामोडमा होलीको दिन जिल्लाकै ठुलो भीडभाड हुने गथ्र्याे । आज त्यहि भीड हुने हनुमान कम्प्लेक्स सुनसान बनेको छ । जिल्ला प्रशासन कार्यालय झापा र जिल्ला प्रहरीको अनुरोधले सर्वधासारणले गतवर्ष जस्तो होली पर्व मनाएका छैनन् ।

तराईको होली पहाडको भन्दा बृहत मनाइने गरिन्छ । होली आउनुभन्दा हप्तादिन अघि सेतो भेस्ट र कुर्ता जोहो गर्नेहरुले यो वर्ष रंग पनि खरिद गरेका छैनन् । बिर्तामोडमा रंग र टिसर्टको मारामार व्यापार गर्नेहरु समेत निरास बनेका छन् । भद्रपुर रोडमा रंग बेच्नेहरु भन्छन्, ९० प्रतिशत व्यापार घट्यो । यस्तै, हनुमान कम्प्लेक्स पूर्वमा जुस बेच्ने सनोज शाह कोरोना भाइरसका कारण होली राम्रो नमनाइएको बताउछन् । उनले भने, अरु वर्ष होलीको दिनको व्यापार दशै हुन्थ्यो, आज व्यापार छैन । यत्तिकै दिन बताउँदैछु ।

होलीको दिन बिर्तामोडमा हिडडुल गर्न समेत गाह्रो हुन्थ्यो, एक व्यापारी भन्छन्, यसपालीको होली भाइरसले खत्तम पार्यो । यस्तै, भीडभाडलाई रोक्न इलाका प्रहरी कार्यालय अनारमनीले बाक्लै प्रहरी परिचालन गरेको छ ।

