चैत्र १६, २०८० शुक्रबार

सुखानी गोल्डकप : ताप्लेजुङ र कनकाई फाइनल भिड्ने

झापा । साविक विजेता कर्णसिं सोनम एफसी यहाँ जारी १ नम्बर प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकपमा कनकाई नगर खेलकुद विकास समिति झापासँग भिड्न भएको छ ।

धनकुटा जिल्ला फुटबल संघलाई २–० गोलले पराजित गर्दै ताप्लेजुङले कनकाईसँग फाइनल भेट पक्का गरेको हो । फाइनल यात्रासँगै साविक विजेता ताप्लेजुङले कम्तिमा नगद ७५ हजार सुरक्षित गर्यो ।

ताप्लेजुङको जीतमा पहिलो र दोस्रो हाफमा गोल सम्भव भएको थियो । खेलको १५औँ मिनेटमा सुनकला राईले हेडरमार्फत गोल गर्दै ताप्लेजुङलाई अग्रता दिलाएकी थिइन् । सुनकलाको हेडरलाई क्लियर गर्ने क्रममा धनकुटाकी विनिता लिम्बूबाट हेड फ्लिक भएको थियो ।

रोमाञ्चक खेलमा ताप्लेजुङले खेलको ५७औँ मिनेटमा युकी गुरुङले थप गोल गरेर जीत सुनिश्चित गरिन् । धनकुटाकी गोलरक्षक सुस्मिता राईको हातबाट फुत्किएको बललाई युकीले गोलपोस्टको दिशा दिएकी थिइन् ।

खेलको वुमन अफ दी म्याच ताप्लेजुङकी सुनकला राई घोषित भइन् । उनलाई १ नम्बर प्रदेश सांसद अर्जुन राई र अर्जुनधारा नगर पशुपक्षी, मत्स्य तथा कछुवा विकास शाखा प्रमुख पदमलाल राईले नगद ३ हजार पुरस्कार प्रदान गरे । त्यस्तै, खेलमा पहिलो गोल गर्ने सुनकलालाई स्थानीय शिवलाल गिरीले नगद एक हजार प्रदान गरे ।

बिहीबार आयोजकसँग अर्जुनधारा प्रेस क्लबले मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । अर्जुनधारा ९ वडास्तरीय खेलकुद विकास समितिका अध्यक्ष सुरेन राईले अर्जुनधारा प्रेस क्लबलाई जर्सीका लागि नगद ५ हजार प्रदान गरेका छन् ।

महिला फुटबल खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले सुखानी सहिद स्मृति प्रतिष्ठान अर्जुनधारा–९ झापाको आयोजनामा गरिएको यस प्रतियोगिता १ नम्बर प्रदेशमै सर्वाधिक राशिको हो ।

गोल्डकपमा ९ जिल्लाका १० टिमको सहभागिता रहेको छ । गोल्डकपको विजेताले नगद १ लाख २५ हजार पाउँदा उपविजेताले नगद ७५ हजार पाउनेछ । अन्य विधागत पुरस्कारतर्फ बेस्ट गोलकिपर, बेस्ट डिफेन्स, बेस्ट मिडफिल्डर, बेस्ट फरवार्डले जनही ७ हजार पाउँदा फाइनल खेलको उत्कृष्ट खेलाडीलाई नगद ५ हजार प्रदान गरिनेछ ।

त्यस्तै, फेयर प्ले टिमलाई आयोजकले नगद १० हजार प्रदान गर्नेछ भने वुमन अफ दी टुर्नामेन्ट बन्ने खेलाडीलाई नगद १२ हजार पुरस्कार प्रदान गरिनेछ ।

प्रकाशित मिति : फाल्गुन २८, २०७६ बुधबार  ६ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]