कोरोनाको आशंकापछि काँकरभिट्टाबाट युक्रेनीलाई भारत फर्काइयो
काँकडभिट्टा । पूर्वी नाका काँकडभिट्टाबाट बिहीबार नेपाल प्रवेश गरेका एक युक्रेनी दम्पती अस्पताल जान नमानेपछि उनीहरुलाई भारत नै फर्काइएको छ ।

कोरोनाको संक्रमण आशंका गरिएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा जान नमानेपछि उनीहरुलाई भारत नै फर्काइएको हो ।
नाकाको अस्थायी हेल्थ सेन्टरमा जाँचका क्रममा ३४ वर्षीय एन्ड्रिन लार्जेगिन र उनकी पत्नी ४३ वर्षीया ओलेना क्लिन्कोको शरीरमा १ सय ४ फरेनहाइटभन्दा माथि ज्वरो देखिएको र रुघाखोकी समेत लागेको पाइएको मेचीनगर स्वास्थ्य शाखाकी प्रमुख शशिकला राईले जानकारी दिइन् ।
झापाका अस्पतालमा आइसोलेसन वार्ड नभएकाले उनीहरुलाई बीपी प्रतिष्ठान पठाउन लागिएको थियो तर १५ दिनसम्म आइसोलेसनमा बस्न नमानेपछि उनीहरुकै सहमतिमा भारत फर्काइएको राईले जानकारी दिइन् । युक्रेनी दम्पती दिल्ली हुँदै दार्जिलिङ घुमेर नेपाल प्रवेश गरेका थिए ।