कनकाई नगरपालिका भोली बालमैत्री नगर घोषणा हुँदै
झापा – झापाको कनकाई नगरपालिकाले बालमैत्री नगर घोषणाको तयारी पूरा भएको छ ।
मापदण्ड पूरा भएसँगै भोलि बिहीबार बालमैत्री नगर घोषणा गर्न लागिएको कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभयो । नगरको १२ औं स्थापना दिवसको अवसर पारेर बिहीबार बालमैत्री नगर घोषणाको तयारी गरिएको उहाँले बताउनुभयो ।
झापाको तेस्रो र कोशी प्रदेशको पाँचौ बालमैत्री नगरको रुपमा कनकाई नगर बालमैत्री नगर घोषणा गर्न लागिएको हो । बालबिवाह, लागूऔषध नियन्त्रण, शिक्षा र स्वास्थ्यका क्षेत्रमा बालबालिकाका लागि कार्ययोजना बनाएर काम गरिने नगरका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले बताउनुभयो ।
बालमैत्री नगर घोषणा कार्यक्रमको उद्घाटन कोशी प्रदेशका खानेपानी तथा सिञ्चाई मन्त्री एकराज कार्कीले गर्नु हुनेछ भने लिम्बू, किरात, सन्थाल लगायत विभिन्न जातीय झाँकीसहित नौमती बाजा, बाल सञ्जाल र स्काउटको सहभागितामा भृकृटी मावि दुर्गापुरबाट भित्री सडक हुँदै नगरपालिकासम्म ¥यालीसमेत निकालिने छ ।
नगरले बालमैत्री नगरका लागि आवश्यक ९६ प्रतिशत मादपण्ड पूरा गरेको छ । औषतमा ८० प्रतिशत मापदण्ड पूरा हुनुपर्ने भए पनि ९६ प्रतिशत मापदण्ड पूरा भएको कनकाई नगरपालिकाका बाल कल्याण अधिकारी उमानाथ ढकालले जानकारी दिनुभयो ।
बाल सञ्जाल कनकाई नगर अध्यक्ष विजय तिवारीले बालबालिकाको क्षेत्रमा आफूहरु नगरसँग समन्वय गरेर काम गरिरहेको बताउँदै आगामी दिनमा पनि त्यस कार्यलाई निरन्तरता दिने उल्लेख गर्नुभयो ।
राष्ट्रिय मापदण्ड अनुसार ५१ वटा सूचक पूरा गर्नुपर्ने भए पनि नगरले दुई वटा सूचक थप गरी ५३ वटा सूचक पूरा गरेको छ । गत २०८१ असार ४ गते नै सम्बन्धित निकायबाट कनकाई नगरपालिकाले बालमैत्री नगर घोषणाको अनुमति पाइसकेको थियो ।
बालमैत्री नगर घोषणा अभियानका क्रममा नगरपालिकाले छ जना बाल श्रमिकलाई उद्धार गरेर एकदेखि छ महिनासम्म राखेर आफन्तको जिम्मा लगाएको छ भने नौ जना बालबालिकालाई स्थायी संरक्षण केन्द्रमा पठाइएको बाल कल्याण अधिकारी भण्डारीले बताउनुभयो ।
बालमैत्री नगरपालिका घोषणाका लागि नगरले आवश्यक संचरना तयार गर्नुका साथै कार्यविधि, ऐन, कानून निर्माण गरिसकेको छ ।
अभियान अन्तरगत नगरप्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा बालमैत्री स्थानीय शासन समिति, उपप्रमख आशा शर्मा शिवाकोटीको अध्यक्षतामा बाल अधिकार समिति, वडास्तरीय, समुदायस्तरीय समिति गठन, विद्यालय, टोल, नगर र वडा बाल क्लब, नगर बाल सञ्जाल गठन गरिएको छ ।
कार्यपालिकाबाट बालमैत्री स्थानीय शासन कार्यन्वयन गर्ने निर्णय २०७९ माघ १८ गते भएको नगरले जनाएको छ । चार वर्षको अन्तरालमा पूर्ण रुपमा बालमैत्री नगर घोषणा गर्ने कार्य सम्पन्न भएको हो ।