जंगली हात्तीलाई जंगलमै रोक्न पाथीभरा कालिकाले बनायो पोखरी
बिर्तामोड । जंगली हात्ती र मानवबीचको द्वन्द कम गर्न जंगलभित्रै पोखरी निर्माण गरिएको छ । पोखरी निर्माण गरेर जंगलभित्रै जीवजन्तुका लागि पिउने पानीको व्यवस्था मिलाइएको हो ।
झापाको हल्दिवारी वडा नं. ४ मा रहेको पाथीभरा कालिका सामुदायिक वनले पोखरी निर्माण गरेर जीवजन्तुहरुका लागि पिउने पानीको व्यवस्था मिलाएको वनका अध्यक्ष सागर पोर्तेलले जानकारी दिए । उनका अनुसार वनभित्र रहेको जंगली हात्ती पानी पिउन र खानेकुरा खोज्दै गाउँ पसिरहेको छ । पानी र खानेकुराको व्यवस्था जंलगभित्रै गरेर गाउँ नपस्ने व्यवस्था गरिएको अध्यक्ष पोर्तेलको भनाई छ । उनले भने, ‘जंगलभित्र रहेको हात्तीले गाउँ पसेपछि मानीवय क्षति हुन सक्ने जोखिम धेरै हुन्छ, त्यसैले बाहिर ननिस्क्योस् भनेर उक्त व्यवस्था गरेका हौं ।’
जंगली हात्तीलाई खानाको व्यवस्था मिलाउन वनभित्र सानो प्रजातिको बाँस र केरा रोपिएको छ । गत वर्ष १ हजार विरुवा लगाइएको थियो, यो वर्ष पनि एक हजार विरुवा लगाउने तयारीमा छौं, उनले भने ।
सो क्षेत्रमा २२ वटा सामुदायिक वनहरु रहेका छन् । जलथल जंगलको रुपमा चिनिने सामुदायिक वनहरुमध्ये पाथीभरा कालिका ७४०.६० हेक्टरमा फैलिएको छ । सो क्षेत्रमा रहेका वनहरु माइकेनिया झापाका कारण प्रभावित बनेका छन् । पाथीभराले सधै प्रभावित भएको ठाउँमा डिभिजन वन कार्यालयको सहकार्यमा फाँड्ने काम गरिरहेको अध्यक्ष पोर्तेलले जानकारी दिए । प्राकृतिक पुनरउत्पादनका लागि १५ विगा क्षेत्रमा रहेको माइकेनिया झार मासेर विभिन्न प्रजातिका विरुवा लगाउने बताइएको छ । उनले त्यसलाई नमूना प्लटको रुपमा विकास गरेर जाने बताए ।
अध्यक्ष पोर्तेलले वनभित्र जंगली हात्ती, चितुवा, मृग बदेल लगायतका जीवहरु रहेको जानकारी दिए ।