पूर्वाञ्चल गोल्डकप आयोजकले अझै दिएन रेफ्रीलाई पारिश्रमिक
बिर्तामोड । अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपमा काम गरेका रेफ्रीले पारिश्रमिक नपाएको बताएका छन् ।

गत कात्तिक महिनामा सञ्चालित गोल्डकपका आयोजकले हालसम्म पारिश्रमिक नदिएको रेफ्री श्याम दनुवारले जानकारी दिए । उनीहरुसँगै काम गरेका मोरङ र काठमाडौंका १/१ जना रेफ्रीलाई तत्कालै पारिश्रमिक दिए पनि झापाका ४ जनाले नपाएको दनुवारले इजलाससित बताए ।
र यो पनि : आयोजक जायोन क्लवले दिएन विजेतालाई १८ लाख ७५ हजार, एन्फामा उजुरी
झापाका प्रदिप बस्नेत, प्रकाशनाथ काफ्ले, लक्ष्मण जैसवाल र दनुवारले पारिश्रमिक नपाएको जानकारी दिए । उनका अनुसार जनही ३० हजार पारिश्रमिक पाउनुपर्ने हो । उनले भने, – हालसम्म आयोजकले पारिश्रमिक दिने छाँटकाट देखाएको छैन । आयोजक जायोन क्लवमध्येका मणि राईसँग पारिश्रमिकको कुरा गर्दा आफु आधिकारिक नभएको बताएका थिए । रेफ्रीले पैसा नपाएपछि रेफ्री संघ र फुटबल संघलाई पारिश्रमिक उपलब्ध गराउनका लागि पहल गरिएको दनुवारले बताए ।
यस्तै, आयोजकले विजेता आर्मी र उपविजेता चर्च ब्वाइजलाई अहिलेसम्म १८ लाख ७५ हजार पुरस्कार समेत उपलब्ध गराएको छैन ।