को हुन्, अनेरास्ववियुको अनुसन्धान आयोगको अध्यक्षमा उम्मेदवारी दिएका प्रकाश विष्ट ?
काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को कीर्तिपुरमा जारी २४ औं महाधिवेशनमा प्रकाश विष्टले नीति, योजना तथा अनुसन्धान आयोगको अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
हाल अनेरास्ववियुको केन्द्रीय कमिटी सदस्य रहेका विष्टले संगठनमा थिंकट्यांकका रूपमा रहेको नीति अध्ययन तथा अनुसन्धानको संयोजकको जिम्मेवारी पनि निर्वाह गरिरहेका छन् ।
झापा कचनकवलका विष्टले त्रिभुवन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिमा एमफिल गरिरहेका छन् र प्रथम सेमेस्टरमा पूर्ण ४ जीपीए ल्याएर उनी विश्वविद्यालयमा सर्वप्रथम भएका छन् ।
विद्यालयदेखि नै पढाइमा अब्बल विष्ट एसएलसी विद्यालय टप र कक्षा १२ मा कलेज टप गरेका थिए । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन र कानूनमा स्नातक गरेका विष्टसँग विभिन्न विधामा विशेष ज्ञान छ ।
नेपाली सेनाले हरेक वर्ष प्रकाशन गर्ने युनिटी जर्नलको चौथो संस्करणमा अंग्रेजी भाषामा लेखिएको जियोपोलिटिकल राइभलरी अफ ग्लोबल पावर्स इन नेपाल : यान इम्प्याक्ट एनालिसिस शीर्षकको लेखमार्फत विष्टले प्रथम पुरस्कार समेत प्राप्त गरेका छन् ।
त्यस्तै पोल्यान्डको एजिया पेसिफिक जर्नलमा उनको ‘ह्वाई डिडन्ट नेपाल जोइन दी इन्डो–पसिफिक स्ट्राटेजीः ए क्रिटिकल एसेसमेन्ट अफ नेपाल्स फरेन पोलिसी रेस्पोन्सेस टु आईपीएस’ शीर्षकमा लेख पनि छापिएको छ । त्यसबाहेक पनि उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय जर्नलहरूमा दर्जनौं लेख प्रकाशित गरिसकेका छन् ।
त्रिभुवन विश्वविद्यालयकै अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागको विद्यार्थीका रूपमा रहँदा विष्टले चीनको सिचुआन विश्वविद्यालयको इन्स्टिच्युट अफ साउथ एसियन स्टडीजमा एक्सचेन्ज स्टुडेन्टका रूपमा अध्ययन गर्ने अवसर पनि प्राप्त गरेका थिए ।
प्राज्ञिक क्षेत्रमा निष्ठापूर्वक होमिएका विष्टले विभिन्न देशमा गएर शोधमूलक प्रस्तुति समेत दिइसकेका छन् । सन् २०१६ मा मलेसियामा अनि सन् २०१७ मा दुबईमा उनले एकेडमिक पेपर प्रस्तुत गरेका थिए ।
अनेरास्ववियुमा एक दशकभन्दा लामो समयदेखि सक्रिय रहेका विष्टले संगठनात्मक यात्राको आरम्भ २०६८ सालमा गरेका थिए । त्यसबेलामा उनी गोमेन्द्र कलेजको कमिटी सदस्य थिए । २०७५ सालबाट उनी त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसको अनेरास्ववियुमा आबद्ध रहे ।
संगठनमा द्रुत गतिमा प्रगति गरेका विष्ट २०७७ सालमा अनेरास्ववियुको विदेश विभागका सदस्य बनेका थिए । २०७९ सालमा भएको स्ववियु निर्वाचनमा उनी त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा स्ववियु सभापति पदको उम्मेदवार बनेका थिए । त्यसैबीचमा उनले दुईपटक त्रिभुवन विश्वविद्यालयको जिल्ला कमिटीमा रहेर काम गरेको अनुभव बटुलेका छन् । २०८० सालमा विष्ट अनेरास्ववियुको केन्द्रीय कमिटी सदस्य बनेका हुन् ।
अनेरास्ववियुमा मात्र नभई नेकपा एमालेमा पनि विष्टले महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका छन् । झापा काठमाडौं सम्पर्क कमिटीको सचिवालय सदस्य रहेका विष्ट २०७८ सालबाट पार्टीको विदेश विभागमा इन्डिया डेस्क सदस्यका रूपमा क्रियाशील छन् । त्यस्तै २०८० सालमा उनी पार्टीको थिंकट्यांकका रूपमा रहेको नीति अध्ययन तथा अनुसन्धान केन्द्रको सदस्य छन् ।
प्राज्ञिक कुशलता र सांगठनिक सक्रियतामार्फत आफूलाई अब्बल सिद्ध गरिसकेका विष्ट सामाजिक कार्यमा पनि उत्तिकै दत्तचित्त भएर लागिपरेका छन् । आफ्नो जन्मभूमि झापाको कचनकवलमा उनले सर्पदंश उपचार केन्द्र स्थापना गरी त्यसको नेतृत्व सम्हाल्दै आएका छन् । हालसम्म उक्त उपचार केन्द्रबाट १० हजारभन्दा बढी मानिसले उपचारसेवा पाइसकेका छन् ।
त्यसबाहेक देशको दुर्गम क्षेत्रमा पुस्तकालय बनाउनका लागि उनले अभियान पनि चलाउँदै आएका छन् ।