अन्तराष्ट्रिय नाका काँकरभिट्टा सुनसान
बिर्तामोड । दैनिक हजारौ नागरिकको आवतजावत हुने अन्तराष्ट्रिय नाका काँकरभिट्टामा दुई दिनदेखि चहलपहल घटेको छ ।
अरुबेला काँकरभिट्टाबाट सीमा पार हुन निकै कष्ट व्यहोनुपर्ने हुन्थ्यो । तर, कोरोना भाइरसको संक्रमण भित्रिन नदिन नेपाल र भारतीय पक्षले सीमामा आवतजावत कडाई गरेपछि चहलपहल शून्य जत्तिकै भएको छ ।

विभिन्न राष्ट्रबाट नेपाल भित्रिने मुख्य नाका मध्येको काँकरभिट्टामा अहिले सुनसान भएको छ । किनमेल गर्न जानेहरु पनि घटेका छन् । बंगलादेशमा अध्ययन गर्न गएका नेपाली विधार्थी मंगलवार र बुधबार ठुलो संख्यामा फर्किएको अध्यागमन कार्यालय काँकरभिट्टाले जनाएको छ । यस्तै, काँकरभिट्टा नाकाबाट विभिन्न सामग्री लिएर नेपाल आउने भारतीय सवारी बाहेकको आवतजावत लगभग छैन ।
उच्च सतर्कता
भारतमा कोरोना संक्रमण देखिएपछि पूर्वी नाकामा विशेष सतर्कता अपनाइएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी राजेन्द्र पोखरेलले जानकारी दिए । यद्दपि काँकरभिट्टाको संवेदनशिलता अनुसार जनशक्ति परिचालन भएको पाइएन । खुल्ला सीमाका कारण उच्च जोखिममा रहेको पूर्वी नाकामा आवश्यक जनशक्ति र पर्याप्त स्वास्थ्य सामग्री छैन । त्यसका लागि केन्द्र सरकार र स्थानीय मेचीनगरपालिका समेत गम्भीर नभएको पाइएको छ । मुख्य सीमा काँकरभिट्टाको संवेदनशीलता अनुसार स्वास्थ्यकर्मीको व्यवस्था समेत कमजोर भएको पाइएको छ ।

डीएसपी पोखरेलका अनुसार नेपालबाट भारत तर्फ जानेलाई विना काममा नजान भनिएको छ । र, भारतबाट कुनै पनि सामग्री आयात नगर्न आग्रह गरिएको छ । भारतीय बजारबाट कुनै पनि वस्तु ल्याउँदा त्यसबाट पनि संक्रमण हुन सक्ने भन्दै नागरिकलाई सचेत गराइएको उनको भनाई छ । उनले आवातजावत समेत घटेको जानकारी दिएका छन् ।
मोरङ घर भएका एक व्यक्ति उपचारका लागि सिलिगुडी जाने तयारीमा थिए । उनलाई स्वास्थ्य जाँच गर्दा तापक्रम उच्च देखिएपछि घर फर्काइएको पोखरेलले बताए । हालसम्म १८ जनालाई नेपाल प्रवेशमा रोक लगाई भारत तर्फ नै फर्काइएको छ ।

यस्तै, काँकरभिट्टा – पानीट्याङकी आवतजावत गर्ने अटो समेत बन्द गरिएको छ । भारतीय प्रशासनसँग समन्वय गरेर अटो रोक्ने काम भएको उनले जानकारी दिए । १ सय रुपैयाँ भन्दा बढिको सामान कसैले आयात गरेमा अनिवार्य भन्सार गर्न थालिएको छ । इप्रका प्रमुख डीएसपी पोखरेलले जोखिम बढिरहेको बेला दाल, तरकारीको लागि भारत नछिर्न आग्रह समेत गरेका छन् । नाका बाहेक कुनै ठाउँबाट नेपाल प्रवेश गरेमा नियन्त्रणमा लिइने जानकारी दिएका छन् ।
काँकरभिट्टामा कोरोना भाइरसको संक्रमण भित्रिन नदिन अगुवाई भूमिका निर्वाह गरिरहेका पोखरेलले मेचीनगरका क्वारेन्टाइनको अनिवार्य व्यवस्था हुनुपर्ने बताए ।