असार ५, २०८२ बिहीबार

बिर्तामोड १ लाई डुवानरहित वडा बनाउन सफल भयौं : वडाध्यक्ष पाण्डे

अग्नी प्रसाद पाण्डे
विर्तामोड नगरपालिका, झापा

झापाको बिर्तामोड नगरपालिका वडा नं. १ अहिले विकासको तीब्र गतिमा छ । शहरसँगै गाउँका अधिकांश भागमा विकासका पूर्वाधारहरु निर्माण गरिएका छन् । वडावासीको आवश्यकतालाई मध्यनजर गर्दै वडाका जनप्रतिनिधिहरुले विकासलाई अघि बढाएका छन् । शिक्षा, स्वास्थ्य, पूर्वाधारमा वडा नं. १ ले फड्को मारिरहेको छ । हालसम्म के कति काम भयो ? अबको योजना के छ ? लगायतका सन्दर्भमा वडाध्यक्ष एवम् नगरका प्रवक्ता अग्नी प्रसाद पाण्डेसँग पत्रकार मनकुमार गदालले गर्नुभएको कुराकानी :

१. विर्तामोड नगरपालिका वडा नं. १ ले चालु आर्थिक वर्षमा के–के काम गर्न सफल भयो ?
हामीले धेरै काम गरेका छौ । त्यसमा पनि हामीले सबैभन्दा धेरै भौतिक पूर्वाधार तर्फलाई बढि प्राथमिकता दिएर काम गरेका छौ । म पहिलो कार्यकाल पनि वडा अध्यक्ष थिए । पहिले र अहिले पनि गर्दा हामीले सबैभन्दा धेरै भौतिक पूर्वाधार तर्फ काम गर्न सफल भएका छौं । डुवान रहित वडा बनाउने काममा लागेका छौं ।

२.तपाई दोस्रो कार्यकाल वडाध्यक्ष भईरहँदा भौतिक पूर्वाधारको क्षेत्रमा मुख्य–मुख्य के काम गर्नुभयो ?
मुलतः सबैलाई चाहिने भनेको बाटो । बाटो भनेको समृद्धिलाई चाहिने मुख्य पाटो नै बाटो हो । बाटाघाटा बनाउने कुरामा हामी लाग्यौ । डुबान भएको ठाउँ हो यो । अदुवा खोला सडकबाट बग्ने भएकोले अदुवा खोलालाई नियन्त्रण गरेर डुबान रहित वडा बनाउन सफल भयौ । डे«नसहितका बाटाहरु बनायौ । ह्युम पाइप लगायौं ।

३. जनप्रतिनिधिहरुले भौतिक पूर्वाधारका योजना मात्रै छनौट गर्छन् भन्ने आरोप छ नि ?
त्यस्तो आरोप लगाउनेलाई जति सुकै ठूलो महल बनाई दियो भने पनि यति ठूलो महल किन बनाएको सानो बनाएको भए हुन्थो नि भन्ने विरोध गर्नेका लागि विरोध मात्र हो । हामीले सामाजिक क्षेत्रलाई पनि उत्तिकै ध्यान दिएका छौं । आर्यआर्जनको क्षेत्रमा पनि उत्तिकै काम गरेका छौं । सबै क्षेत्रलाई समेटेका छौ । विकासको पहिलो पूर्वाधार भनेको बाटो हो । सबैको मुखमा बाटो चाहिएको छ । पछाडिको बाटो अगाडी सारेर पेवर लगाउने काम गरांै । यो आर्थिक वर्षमा बिर्तामोड वडा नं. १ मा ५ किलोमिटर जति सडक कालोपत्रे गर्न सफल भयौं ।

४. वडाको समग्र भौतिक पूर्वाधारको अवस्था कस्तो छ ?
हिजोका दिनमा वडाका सबै बाटाहरु हिलाम्मे, धुलाम्मे थिए । आज सबै बाटा कालोपत्रे भए । हिजो सबै बाटाहरु बर्खायाममा डुब्थे आज सबै बाटाघाटा डुबान रहित बनाइएको छ ।

५.वडामा तपाईहरुले गरेका परिर्वतनहरु के हुन ?
ज्येष्ठ नागरिकको भवन बनायौं । वडाभित्र अर्काे भवन बनाएर उनीहरुलाई त्यहाँ दैनिक भजन किर्तन गराएका छौ । स्वास्थ्यमा छलाङ्ग मारेका छौ । आधारभूत स्वास्थ्य केन्द्र छ । आयुर्वेद स्वास्थ्य केन्द्र, थेरापी स्वास्थ्य केन्द्र छ । यिनीहरु वडा नं. १ मा छन् । नगरपालिका भरिमा ३ वटा सेवा प्रदायक संस्था भएको यहि १ नं. वडा हो । हरेक विषय, क्षेत्रमा काम गरेका छौं । रोजगारमुलक तालिम दियौं । तालिम लिएर गएपछि केहिले काम गर्दै हुनुहुन्छ । कतिले काम गर्नु भएको छैन ।
६. वडावासीको माग कुन क्षेत्रमा धेरै रहेछ ?
माग त सबैभन्दा धेरै भौतिक निर्माण तर्फको बाटोै हो । व्यक्तिलाई खानलाई समस्या भए पनि पहिलो त बाटो चाहिन्छ । प्लम रहित बाटो बनाएका छौं । केही बाँकी होला त्यसलाई पनि ध्यान दिएर अघि बढेका छौ ।

७. भौतिक निमार्णपछि वडावासीको माग कुन क्षेत्रमा धेरै छ ?
भौतिकपछि रोजगारमा धेरै माग आउने गरेको छ । रोजगार मुलक कार्यक्रम हामीले दियौ । ड्राइभिङ्ग तालिम, हाउस वाइरिङ तालिम दियौं । फ्याब्रिक माला बनाउने तालिम सञ्चालन गरियो । साबुन हारपिक बनाउने तालिम दियौं । गुडिया बनाउने तालिम पनि दिइयो । साथै नगरको महिला विकास शाखाबाट सञ्चालन हुने तालिम पनि एक नम्वर वडामा आयोजना गरियो । गरिएका तालिमले कति सार्थकता पायो भन्ने कुराको अनुगमनको कमि नै भयो । अहिले भन्नु पर्दा वडा नं.१ मा लगभग–लगभग एक घर एक रोजगार हुनु भएको छ ।

८. तालिमहरु कति उपलब्धि मुलक बने ?
त्यसमा राम्रो भनेको साबुन फिनेल, हरपिक उत्पादन गरी बिक्री वितरण भइरहेको छ । यसबाट २५÷३० जना दिदीबहिनीहरु आत्मनिर्भर र रोजगार हुनु भएको छ ।

९.आउँदो बजेट निर्माणमा तपाईहरुको प्राथमिकता के हो ?
अबको हाम्रो बजेटको प्राथमिता भनेको केही –केही भौतिक पूर्वाधार तर्फ पनि हुन्छन् । अर्को सामाजिक विकास तर्फ योग शिविर सञ्चालन गर्ने, मौरीपालन गर्ने, दलित समुदायलाई सिलाइ कटाई तालिम दिने, वडावासीको मृत्यु संस्कारमा सहयोग गर्ने । टोल विकास मार्फत लागु औषध नियन्त्रण, साइबर क्राइम सम्बन्धि सचेतना कार्यक्रम गर्ने । बाल क्लवहरु सञ्चालन र उनीहरुको क्षमता अभिवृद्धि गर्ने । नौमती बाजा बजाउन सिकाउने, बहिरा संघलाई सहयोग गर्ने । अर्को महत्वपूर्ण काम ३ वर्षे प्राविधिक सिभिल इन्जीनियरिङ तर्फ वडा सरकारले दुई जना विधार्थीलाई निःशुल्क पढाउने (छात्रवृत्ति ) व्यवस्था गरेको छ । त्यसमा एक जना दलित र एक विपन्न समुदायको विधार्थी रहेका छन् । यो नगर भित्रकै नयाँ कार्यक्रम हो ।

१०. समृद्ध वडाका लागि के कस्ता योजनाहरु ल्याउनु हुन्छ ?
सडक त बनिसकेको छ । अब त्यहाँ हिड्ने बाटो फराकिलो भएर मात्र हुदैन । उपभोक्तालाई चप्पल किन्न सक्ने वातावरण बनाउनु पर्छ भन्ने हाम्रो मान्यता हो । स्वास्थ्यको क्षेत्रमा हामीले २ सय परिवारलाई निशुल्क बीमा गराएका छौ ।
विपन्नलाई घर पनि उपलब्ध गराएका छौ । १ नं. वडामा जम्मा ५५ घर बनाइसकेका छौं । यस चालु आर्थिक वर्षमा ३ वटा घर तयार गरी सकेका छौ ।

११.रोजगारी सिर्जनाका लागि के कस्ता काम गरि रहनु भएको छ ?
धेरै कार्यक्रम वडामा आउछ । तर वडावासीहरु आउनु हुन्न । खबर पठाउछौं ,उहाँहरु आई दिनुहुन्न । अब के बुझनु प¥यो भने सबै रोजगार भइसकेका छन् भन्ने बुझ्नु प¥यो नि ।

१२. जनप्रतिनिधि र स्थानीय वडावासीसँग के कसरी समन्वय गर्दै आउनु भएको छ ?
हामीले काम गर्दा पारदर्शी रुपमा गर्छौं । सबै माध्यमबाट सूचना गर्दछौ । उपभोक्ता समिति गठन गर्दा कसैको घर,कोठामा गर्दैनौं । खुल्ला ठाउँमा उपभोक्तालाई राखेर वडा सदस्यको अध्यक्षतमा बसेको भेलाले उपभोक्ता समिति गठन गर्छौं । योजना छनौट गर्दा पनि टोल बिकास संस्थालाई जिम्मा दिएर योजना छनौट गर्छौ । टोलबाट आएका योजनाको औचित्य र आवश्यकताका आधारमा छलफल गरी योजना बजेटमा समावेश गर्छौं ।

१३. पछाडी पारिएको वर्ग क्षेत्र र समुदायको उत्थानका लागि कस्ता कार्यक्रमहरु सञ्चालनमा रहेका छन् ?
उनीहरुलाई मध्यनजर गरेर मौरीपालन कार्यक्रम राखेका छौ । बहिरा संघका सदस्यहरुको वृत्ति विकासका लागि निरन्तर सहयोग गरिरहेका छौ । दलित समुदायका लागि सिलाई कटाई कार्यक्रम राखेका छौ । सब–इन्जिनियर अध्ययनको लागि एक जना दलित समुदाय र अर्को एक जना अन्य समुदायको विपन्नलाई पढाउने कार्यक्रम राखेका छौ । प्रत्येक वडाले दलित विधार्थीलाई प्राविधिक विषयमा पढाउने कार्यक्रमलाई प्राथमिकता दिनुपर्छ ।

१४. वडाको कामले वडावासी कत्तिको सन्तुष्ट छन् ?
सम्रगमा वडा नं.१ बासी, सबै राजनीतिक दलहरुका मानिसहरु सबै खुशी हुनुहुन्छ । कसलाई चित्त बुझेको छ भने जसको घर अगाडी बाटो बनेको छ । अरुको घर अगाडी बाटो बन्यो, मेरो अगाडीको बाटो बनेन भन्नेमा अलिकति गुनासो आउछ । त्यस्ता साथीहरुकोमा पनि अर्को पटक भइहाल्छ । विकास भनेको फुमन्तर होइन । एक चोटी मात्रै आउने होइन । विकास भन्ने निरन्तर चलिरहने प्रक्रिया हो । बाँकी रहेका काम अर्को पटक आउने जनप्रतिनिधिले पनि गर्नुहुन्छ ।

१५. वडाका कर्मचारीको काम प्रति वडावासीको प्रतिक्रिया कस्तो छ ?
वडावासीको एकदम सकारात्मक प्रतिक्रिया रहेको छ । म आफू योजना अनुगमन छ भने नगर पालिकाको बैठक भए बैठकमा जान्छु । बाँकी समय वडा कार्यालयको डियुटीमा हुन्छु । कर्मचारी पनि डियुटीमा हुनुहुन्छ । कर्मचारीले दिएको सेवाको बिषयमा बुझ्दा वडावासीहरु धेरै खुशी छन् । हाम्रो वडामा मुस्कान सहितको सेवा रहेको छ । विवाद गर्ने दुवै पक्षलाई आपसमा छलफल गरी उनीहरुमा मेलमिलाप गराउने गरेको छ । त्यसैले न्याय सम्पादनमा हाम्रो वडा उत्कृष्ट रहेको छ ।

प्रकाशित मिति : असार ५, २०८२ बिहीबार  ९ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]