कनकाई क्याम्पस सुरुङाले ६० लाखमा निर्माण गरेका ३१ सटर अलपत्र
प्रदीप परियार
बिर्तामोड । झापाको कनकाई नगरपालिकामा रहेको कनकाई बहुमुखी क्याम्पसले व्यवसायिक प्रयोजनका लागि निर्माण गरेको ३१ वटा सटर अलपत्र भएको छ । २ वर्षअघि ६० लाख लगानी गरेर निर्माण गरिएको सटर अहिलेसम्म भाडामा लाग्न सकेको छैन । भाडामा नलागेपछि उक्त संरचना अलपत्र भएको हो ।
कनकाई नगरपालिकाको ७ लाख ७५ हजार र क्याम्पसको बाँकी रकम लगानीमा संरचना तयार गरिएको क्याम्पस प्रमुख विकास उप्रेतीले जानकारी दिए । उनका अनुसार आर्थिक मन्दीका कारण सटर भाडामा लागेको छैन । ठुलो लगानीबाट निर्माण गरिएको सटर अहिले बन्द अवस्थामा छ । एउटा सटर भाडामा लागेको छ, अर्को एउटा कनकाई प्रतिभा प्रतिष्ठानलाई विजुली पानीको शुल्क बुझाउने सर्तमा उपलब्ध गराइएको छ, क्याम्पस प्रमुख उप्रेतीले ।
भाडा घटाएर भएपनि प्रयोगमा ल्याउने लक्ष्य रहेको उप्रेतीको भनाई छ । उनले बजारलाई राजमार्गको उत्तर भागमा सारेपछि सटर भाडामा लगाउन नसकिएको बताए । बजार पुरानै ठाउँमा हुन्थ्यो भने दक्षिण क्षेत्र जाने सवारीको स्टेशन नै त्यहाँ बन्ने थियो, उनले थपे । क्याम्पसले सटरको ५० हजार धरौटी र २५ सय भाडा तोकेको छ । स्थानीय अगुवाहरुले दक्षिण क्षेत्रमा सटर निर्माण नगर्न सूझाव समेत दिएका थिए ।
यस्तै, कनकाई माविले पनि ५ वटा सटर निर्माण गरेर व्यवसायिक प्रयोजनका लागि भाडामा लगाएको छ । वडा नं. ३ देखि उत्तर भागमा १ र दक्षिण तर्फ ४ वटा सटर निर्माण गरेर भाडामा लगाएको कनकाई माविका सहायक प्रधानाध्यापक तीर्थराज खरेलले जानकारी दिए । चिया, चटपटेदेखि, हार्डवेयर र फोटोकपी सञ्चालनका लागि व्यवसायीहरुले भाडामा कोठा प्रयोग गर्दै आएका छन् ।
मासिक ५ हजार भाडामा कोठा उपलब्ध गराइएको सहायक प्रअ खरेलले जानकारी दिए । उनका अनुसार व्यवसायीहरुको मागका आधारमा कोठाहरु निर्माण गरिएको हो । त्यसका लागि व्यवसायीहरुले ३ लाख २० हजार रुपैयाँदेखि ३ लाख ८० हजार रुपैयाँसम्म धरौटी बुझाएका छन् । पहिले धरौटी बुझाए पछि कोठा निर्माण गरिएको हो खरेलले भने, ‘मागका आधार संरचना बनाएकाले उपयोग भइरहेको छ । अझै पनि २५ वटा कोठा बनाउने ठाउँ हामीसँग छ ।’ व्यवसायीहरुले ठाउँ छोडेको खण्डमा उनीहरुले बुझाएको धरौटी रकम फिर्ता गर्ने सर्त रहेको छ ।