वडाको ९० प्रतिशत योजना सम्पन्न भइसक्यो : वडाध्यक्ष शर्मा
झापाको बिर्तामोड नगरपालिका वडा नं. ४ बजार क्षेत्रमा रहेको वडा हो । व्यापार र शैक्षिक क्षेत्र रहेको वडा विकासको दौडमा छ । धेरै संभावना बोकेको यस वडाले कार्यकालको तीन वर्ष पुरा गरेको छ । वडाबाट के कति काम भयो । के कस्ता चुनौतिहरु आइरहेका छन् भन्ने सन्दर्भमा वडाअध्यक्ष राहुल शर्मासँग पत्रकार मनकुमार गदालले गर्नुभएको कुराकानी :
१. तपाईको वडाबाट चालु आर्थिक वर्षमा केके गर्नुभयो ?
यस चालु आर्थिक वर्षमा वडा नं. ४ मा मुलत भौतिक संरचनाहरुको निर्माण गरियो । बाटा घाटा, नाला र सडक कालोपत्रे भए । संगसंगै आत्मनिर्भरताको निम्ति सीप विकासका तालिमहरु, स्थानीय बासिन्दाहरुलाई स्वास्थ्य सम्बन्धि ज्ञानहरु, लागुऔषध विरुद्धको अभियानहरु सञ्चालन गरियो ।
२. भौतिक पूर्वाधार निर्माण अन्तर्गत वडामा ठूला योजनाहरु के के सञ्चालनमा छन् ?
२०४७ सालमा खनिएको बाटो हर्कलाल मार्ग बाटोले ४ नं. वडाको ठूलै भूगोल ओगट्छ । त्यस सडकको लगभग सबै भाग कालोपत्रे सम्पन्न भइसकेको छ । वडाभित्रका धेरै सडकहरु कालोपत्रे भइसकेका छन् । अदुवा खोलामा कोरिडोरको संघीय सरकारबाट आएको एक करोड बजेटबाट निर्माण कार्य जारी रहेको छ । मेघावारी चोक देखि दक्षिण कालिका नगर हुँदै शिव नगर चोकसम्म जोड्ने बाटोमा पनि नाला तथा पेवर्स निर्माण हुदैछ । यी भए ठूला योजनाहरु । वडा कार्यालयबाट हुने सानातिना योजनाहरुको निर्माण कार्य निरन्तर जारी छन् ।
३. वडाको समग्र भौतिक पूर्वाधारको अवस्था अहिले कस्तो छ ?
वडाको भौतिक पूर्वाधार निर्माणको अवस्था राम्रो छ । यहाँको ६० प्रतिशत बढी भौतिक निर्माण सम्पन्न भइसकेका छन् । ठूला किसिमका योजना धेरै नभएको, भएका केही योजना निर्माणधिन अवस्थामा रहेको छ ।
४. साना योजनाको माग कति आउने गरेको छ ?
यो बजार क्षेत्रको वडा हो । वडाका बासिन्दाको माग पनि धेरै छन् । साना गल्ली गल्लीका बाटाहरु धेरै छन् । आएका मागलाई पनि वडा मार्फत वडा कार्यालयले सम्भव नभएको मागलाई नगर पालिका मार्फत र नसकेको प्रदेश मार्फत सम्वोधन भइरहेको छ । काम नभएको, केही नगरेको भन्ने अवस्था चाहि छैन । ५ वर्षसम्म हुनुपर्ने काम भइरहेका छन् । ढिलै भए पनि विकास भइरहेको छ । जनताहरुमा सुन्तष्ट नै छन् ।
५. वडामा तपाईहरुले गरेका परिर्वतन के हुन् ?
वडामा अहिले प्राथमिकता दिएको भनेको भौतिक संरचना निर्माण नै हो । किन भने बाटो निर्माण नभएसम्म अरु काम गर्न गाह्रो हुन्छ । तसर्थ, नगरपालिकाको पनि एक खालको योजना पनि सडक विस्तार कालोपत्रे, पक्की ढल बनाउने अदुवा खोलालाई कसरी नियन्त्रण गर्ने, वडाभित्र भएको एक मात्र सामुदायिक विधालयलाई विस्तारै विकास गर्ने गरी रहेका छौ । वडावासीहरुलाई सीपमुलक तालिम प्रदान गरिरहेको छ । वडाभित्रको शान्ति सुरक्षा दिन धेरै वडाहरुमा सडक बत्ती जडान र सिसी क्यामेरा जडान गरिएको छ ।
६.आर्थिक वर्ष ०८१-०८२ को नीति कार्यक्रम अनुसार के कति काम पुरा गर्नुभयो ?
वडावाट हुनेपर्ने कामहरु ९० प्रतिशत जति सम्पन्न भएको छ । केही कामहरु सम्पन्न हुन बाँकी रहेको छ । जुन निर्माण भई रहेका छन् ।
७. रोजगारी सिर्जनाका लागि के कस्ता काम गरिरहनु भएको छ ?
वडा कार्यालयले प्रत्यक्ष रुपमा रोजगारी दिन नसके पनि टोलमा रहेका विभिन्न महिला समुह, आमा समुह, आदिलाई सिलाई कटाई तालिम, धुप बात्ती बनाउने तालिम, कुक तालिम दिएका छौ । प्रत्यक्ष र अप्रत्यक्ष रुपमा वडावासीलाई जोडिने सेवा पुग्ने कार्यक्रमहरु गरिरहेका छौ ।
८.जनप्रतिनिधि र स्थानीय वडावासीबीच के कस्तो समन्वय छ ?
वडावासीबीच जनप्रतिनिधिको समन्वय राम्रो छ । किन भने प्रत्यक्ष निर्वाचित म आफू वडा अध्यक्षसहित ४ जना जनप्रतिनिधि निर्वाचित भएका छौ । त्यससँगै वडा नं. ४ कै दुई जना कार्यपालिका सदस्य हुनुहुन्छ । हामी ७ जना रहेका छौ । समय– समयमा टोल–टोलमा जाने, आफू पनि जाने, सदस्यहरुलाई बेला–बेला टोलमा पठाई रहेको छु । अनुगमनमा होस या त त्यसै पनि टोलवासीका पुग्ने गरेका छौ । उहाँहरुको गुनासो सुन्न टोल–टोलमा पुगेका छौ ।
९. वडाको मेलमिलाप केन्द्रमा कुन कुन प्रकृतिका मुद्धा आउछन ?
मेलमिलपा केन्द्रमा अहिलेको समयमा आर्थिक लेनदेनका मुद्धा धेरै आउने गरेका छन् । अघिल्ला वर्षहरुमा चाहि पारिवारिक झगडा, सीमा विवाद आउने गरेका थिए ।
१०.मुद्धा छिनाफानो गर्दा वडामा के कस्ता चुनौति आउँदा रहेछन् ?
०७४ को स्थानीय तहको निर्वाचनबाट वडा सदस्य निर्वाचित भई मेलमिलाप केन्द्रको संयोजकको जिम्मेवारी पुरा गरेको थिए । मेलमिलाप केन्द्र भनेको छिनोफानो गर्ने भन्दा पनि समन्वय, समझदारी गराउने हो । दुई पक्षलाई एक ठाउँमा राखेर उहाँहरु बीचको विवादलाई बुझेर उहाँहरुसँगै राखेर समझदारी गर्नु हो । विवाद मिलाउदा चुनौतिहरु आउछन् । नियतवस भएका बद्मासी र अन्जानमा भएको बद्मासीमा फरक पर्छ । तपाई हामी भन्छौ नी निदाएको मान्छेलाई उठाउन सजिलो हुन्छ । तर निदाए जस्तो गर्नेलाई उठाउन गाह्रो हुन्छ । त्यस्तै हो ।
११.यस वडाको आन्तरिक कर संकलनको अवस्था कस्तो छ ?
विर्तामोड नगरभित्र आन्तरिक कर संकलन गर्ने वडाहरुमध्ये वडा नं.४ दोस्रो स्थानको वडा हो । भौगोलिक रुपमा सानो भए पनि जनसंख्याको रुपमा दोस्रोमा पर्छ वडा नं.४ । बजार क्षेत्र, ब्यवसायिक फर्म, आवास क्षेत्र भएको हुँदा वाहाल कर, व्यवसाय कर सकंलन हुन्छ । साढे ४ करोड कर संकलन गरेर नगरपालिकालाई बुझाउने गरेको छ ।
१२.यहाँ (जनप्रतिनिधि) हरु निर्वाचित भएको ३ वर्ष भयो । अहिले सम्मको अनुभव-सिकाई के भयो ?
मेरो चाहि विगतको ५ वर्ष र यो कार्यकालको ३ वर्ष गर्दा ८ वर्षको सिकाई अनुभव भएको छ । अनुभव के भयो भन्नुहुन्छ भने उहिले स्कुलमा पढ्दै गर्दा इकोनोमिक्समा एउटा च्याप्टरमा पढेका थियौं । वान वान आर अन लिमिटेड त्यो कुरा चाहि साँचो रहेछ भन्ने अहिले आएर महसुस भएको छ ।
बाटो नभएको ठाउँमा बाटो बनाइ देउ भन्छन् । बाटो बनेपछि बत्ती लगाइ देउ भन्छन् । बत्ती लगाएपछि सिसी टिभीको माग आउछ । सिसी टिभी लगाएपछि अरु कुराको माग आउछ । यसरी आवश्यकता भन्ने कुरा कहिले नसकिदो रहेछ ।