अर्जुनधारा ५ का वडाध्यक्ष खड्काको ज्यादती, दलित जनप्रतिनिधिको पर्खाल भत्काएको आरोप
बिर्तामोड । जिल्ला समन्वय समिति झापाको सदस्य एवम् दलित नेतृ रिता नेपालीले आफूमाथि अर्जुनधारा वडा नं. ५ का वडाध्यक्ष गिताराज खड्का (हरि) ले लामो समयदेखि जातीय विभेद र अभद्र व्यवहार गर्दै आएको बताएकी छन् । आज झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै आफुमाथि धेरै अन्याय भएपछि पत्रकार सम्मलेन गर्न बाध्य भएको बताइन् ।
दोस्रो पटक सोही वडामा सदस्य निर्वाचित नेपालीमाथि वडाध्यक्ष खड्काले काम सम्हालेको दुई महिनामा जातको आधारमा विभेद गर्ने, ‘दमिनी’ भन्दै कुरा गरेपछि वडा कार्यालयमै माफी मगाइएको थियो । सदस्य नेपालीका अनुसार माफी मगाएको रिसमा आफुमाथि वडाध्यक्षले पटक–पटक अन्यायपूर्ण काम गर्दै आएका छन् ।
नेपालीलाई विकासमा समेत अवरोध गर्दै आएका वडाध्यक्षले दलबलसहित घरको पर्खाल नै भत्काइदिएको जानकारी दिइन् । गत बिहीवार सदस्य नेपाली घरमा नभएको बेला वडाध्यक्ष खड्काले मान्छे लगाएर पर्खाल भत्काएको उनको आरोप छ ।
उनले भनिन्, ‘मलाई वडाध्यक्षले दिउँसो घरमा भिजट गर्न आउछु भन्नु भएको थियो । म तालिममा भएको बेला मेरो पर्खाल भत्काएर जानुभएछ । उहाँलाई अर्को दिन आउनु भन्दा पनि नमानेपछि, तिमि नआउदा पनि हुन्छ, घर हेरेर जान्छु भन्नुभएको थियो ।’
छिमेकीसँग सीमा विवाद भएपछि सो सम्बन्धमा न्यायिक समितिमा उजुरी समेत परेको थियो । छिमेकीले न्यायिक समितिमा उजुरी परेपछि नेपालीलाई न्यायिक समितिले बोलाएको थियो । उनले आफु तालिममा भएकाले १२,१३ गते आउने सूचना समेत न्यायिक समितिलाई गराएकी थिइन् । वडाध्यक्षले नगरमा गइसकेको मुद्धाको विषयलाई आफै लागेर पर्खा भत्काइदिनु भनेको अख्तियारीको दुरुपयोग भएको छ, नेपालीले भनिन् ।
उहाँले वडा सदस्य विष्णुप्रसाद कडेंलसहितको समूह ल्याएर पर्खाल भत्काइदिएको दावी गरेकी छन् । पर्खाल भत्काइरहेको बेला घर पुगेकी नेपालीलाई वडाध्यक्ष खड्काले ‘ तँ जति ठुलो कोहि छैन, चुनाव जितेको भन्दै सान देखाउछेस, निरिह मान्छेलाई हेप्छेस दमिनी’ भन्दै गाली गलौच समेत गरेको पत्रकार सम्मेलनमा जानकारी दिइन् । भिजिट गर्न आउँछु भनेर पर्खाल भत्काइदिएको घटनापछि नेपालीले आफुलाई न्याय दिन सबैमा आव्हान समेत गरेकी छन् ।
सो घटनाको सन्दर्भमा नेपालीले इलाका प्रहरी कार्यालय अनारमनीमा जोहरी दिएकी छन् । प्रहरीले आफुमाथि भएको अन्यायलाई राम्रोसँग अनुसन्धान गरेर निष्पक्ष न्याय दिनेमा विश्वस्त रहेको बताइन् । आफूलाई वडाध्यक्षले वडामा निषेध गरेको बताउने नेपालीले दलित भनेरै हेपाईमा परेको गुनासो गरेकी छन् ।
वडा सदस्य विष्णु प्रसाद कडेंलले आफूहरुले पर्खाल नभत्काएको जानकारी दिए । उनले अरुले नै पर्खाल भत्काएको इजलाससँगको कुराकानीमा बताएका छन् । यस विषयमा आफै सम्पर्क गरेर बताउने भन्दै फोन राखे । उनले आफुहरु इप्रकामा सोही विषयमा छलफल गरिरहेको बताए ।
वडाध्यक्ष खड्काले नेपालीले लगाएको आरोप झुटो भएको बताएका छन् । नेपालीको छिमेकीसँग लफडा भएको वडाध्यक्ष खड्काको भनाई छ । उनले छिमेकीसँग ठेलाठेला हुँदा पर्खाल भत्किएको उनले दावी गरेका छन् । उनले पर्खाल भत्काएको घटनामा आफ्नो कुनै संलग्नता नरहेको जानकारी दिए । वडाध्यक्षले थपे – म दलित समुदायमै हुर्किएको मान्छे हो । विभेद गरेको छैन ।