क्वारेन्टाइनमा ११२ , आइसुलेसनमा ५ जनाको उपचार हुँदै
(काँकडभिट्टा) — भारत तथा तेस्रो देशबाट आएकाहरु क्वारेन्टाइनमा बस्नै नमान्ने गरेको पाइएको छ ।
मेचीनगर १३ को धाइजनमा रहेको क्वारेन्टाइनमा स्थानीय सरकारले भारतबाट आएका १९ जनालाई राखेको थियो । जसमध्ये ७ जनाले बुधबार नै क्वारेन्टाइन छाडेर गए । मेचीनगरको कार्यपालिका सदस्य टीकाराम मंग्रातीले सेल्फ क्वारेन्टाइनमा बस्ने सहमतिमा उनीहरुलाई छाडिएको बताए ।
क्वारेन्टाइनमा रहेका मेचीनगर ३ बाहुनडागीका समिर दर्जीले आफूहरुलाई कुनै समस्या नभएको भन्दै क्वारेन्टाइनमा बस्न नसक्ने जनाए । उनले भने,‘हामीसँगै आएका अरु घरमै छन् हामीलाई मात्रै किन राखियो ?’नगर कार्यपालिका सदस्य मंग्रातीले क्वारेन्टाइनको व्यवस्थापन पक्षसँगको समस्याका कारण ७ जनालाई सेल्फ क्वारेन्टाइनमा बस्ने सर्तमा छाडिएको जनाए । उनका अनुसार हाल १२ जना क्वारेन्टाइनमा छन् ।
मेचीनगर ४ का दुई वटा स्कुलको क्वारेन्टाइनमा ९ जना छन् । उनीहरु भारत र खाडीबाट आएका हुन् । भद्रपुर नगरपालिकाका मेयर जीवन श्रेष्ठले कलवलगुडीको क्वारेन्टाइनमा २ जना मात्रै छन् । भद्रपुरमा विदेशबाट आएर बसेका मध्ये अधिकांश होम क्वारेन्टाइनमा छन् । भारत, खाडी, जापान, थाइल्यान्ड, मलेसिया आदि मुलुकबाट फर्किएका १८ जना होम क्वारेन्टाइनमा छन् । ‘क्वारेन्टाइनमा बस्न नमानेका कारण घरमै सुरक्षित भएर बस्ने व्यवस्था नगरपालिकाले मिलाएको हो’, मेयर श्रेष्ठले भने ।