बैशाख ७, २०८१ शुक्रबार

मेचीनगरमा बिदेशबाट आउनेको तथ्याङक संकलन शुरु

झापा । भारतलगायत अन्य मुलुकबाट फर्किएकाहरुमा मात्र नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण धमाधम फेला पर्न थालेपछि मेचीनगर नगरपालिकाले विदेशबाट आउनेहरुको तथ्याङ्क संकलन शुरु गरेको छ ।

नेपालमा हालसम्म ५ जनामा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरु सवै विदेशबाट फर्किएको पुष्टि भएको छ । सवैभन्दा पहिला चीनको वुहानबाट फर्किएकाका एक व्यक्तिमा यसको संक्रमण देखिएको थियो । एक हप्तासम्म संक्रमण कसैलाई देखिएन । एकहप्ता यता फ्रान्स, युएई, दुवई र वेल्जियमबाट आएका थप चारजनामा यसको संक्रमण देखिएको छ ।

यस लगत्तै स्थानीय सरकार मेचीनगर नगरकार्यपालिकाको कार्यालयले विदेशबाट आउनेको तथ्याङ्क संकलन गर्न शुरु गर्न थालेको हो । कार्यालयका सामाजिक शाखा प्रमुख अनन्तप्रकाश वस्तीका अनुसार नगरमा गठन भएका टोल विकास संस्थाका पदाधिकारीहरुको सहकार्य र समन्वयमा तथ्याङ्क संकलन गर्न शुरु गरिएको हो ।

२०७६ फागुन २२ यतादेखि मेचीनगर नगरपालिकाभित्र अहिलेसम्म भारतलगायत तेस्रो मुलुकबाट १ सय ६४ जना फर्किएका छन् । वस्तीका अनुसार अहिलेसम्म सवैभन्दा बढी भारतबाट १ सय २३ जना फर्किएका छन् । यसैगरी युएइबाट १९, कतारबाट ७, साउदी अरबाट ६, मलेसियाबाट ४ , अमेरिकाबाट २ तथा इजरायल,वहराइन र कतारबाट १ / १ जना आएका छन् । तथ्याङ्क संकलन गर्ने कार्य जारी रहेको र केहि सम्पर्कमा नआएका बताइएको छ ।

उनीहरुलाई घरमै व्यवस्थित रुपमा होम क्वारेन्टाइनमा त कतिलाई मेचीनगर नगरपालिकाले तयार गरेको वडा नम्बर ७ को सतिघट्टास्थित माइती नेपालको भवन, ११ को घाइजनस्थित स्वास्थ्य चौकी, वडा नम्बर ३ को वडाखालस्थित पशुपति माध्यमिक विद्यालय र वडा नम्बर ४ को बाहुण्डाँगीस्थित सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको नगरपालिकाले जनाएको छ । यसको लक्षण १४ दिनपछि मात्र देखिने भएकाले यस्तो व्यवस्था मिलाइएको नगरपालिकाको स्वास्थ्य शाखा संयोजक शशीकला राईले बताइन् । उनीहरु सवै भारतलगायत विभिन्न मुलुकबाट रोजगारीका लागि वा अध्ययनका लागि गएर फर्किएका हुन् ।

नगरपालिकाले यसको संक्रमण फैलिन नदिन र यसको नियन्त्रणमा हरेक नगरवासीको समेत अहम भूमिका हुने भएकाले आफ्नो गाउँ टोल छरछिमेकमा यस्ता मुलुकबाट आएर बसेका भए आफ्ना वडाका जनप्रतिनिधि, टोल विकास संस्था, सुरक्षाकर्मीलाई जानकारी गराउन आग्रह समेत गरिएको नगरप्रमुख विमल आचार्यले बताए ।

नगरप्रमुख आचार्यले नगरका १५ वटै वडामा रहेका ७० वर्षमाथिका ज्येष्ठ नागरिकको विवरण समेत संकलन कार्य शुरु भएको बताएका छन् ।

हालसम्म वडानम्बर १ मा ३ सय ४०, २ मा ३ सय ७५, ३ मा ३ सय ८८, ४ मा २ सय ९८, ५ मा २ सय ६७, ६ मा ६ सय ५६, ७ मा ४ सय ४८, ८ मा २ सय ८५, ९ मा ४ सय ८४ , १० मा ४ सय ६४, ११ मा २ सय २१, १२ मा २ सय ९३, १३ मा २ सय ९३, १४ मा २ सय ८१ र १५ नम्बर वडामा २ सय ५४ जना ज्येष्ठ नागरिक रहेको विवरण प्राप्त भएको नगर प्रमुख आचार्यले बताए ।

विदेशबाट फर्किएकाको घरमा रातो रंग

मेचीनगरक्षेत्रमा स्थायी बसोबास भएका तथा भारतलगायत तेस्रोमुलुकबाट फर्किएकाको पहिचानका लागि मेचीनगर नगरकार्यपालिकाको कार्यालयले उनीहरुको घरमा रातो रंगको संकेत गर्ने भएको छ । अब उप्रान्त नगरको जुन घरमा नगरपालिकाले रातो रंगको लगाउछ सम्झि हुन्छ त्यो घरको कुनै न कुनै सदस्य भरखरै भारतलगायत तेस्रो मुलुकबाट फर्किएको छ ।

सोझै क्वारेनटाइनमा लगेर राख्ने

सरकारले लागू गरेको लक डाउनको पालना नगर्ने जो कोहिलाई घरबाट बाहिर निस्किए सोझै क्वारेनटाइनमा लगेर राख्ने स्थानीय प्रशासनले जनाएको छ । मेचीनगरक्षेत्रमा यसको पालना पुर्णरुपमा भएपनि छिटफुटरुपमा केही मान्छे साँझतिर सडकमा निस्किने गरेका कारण अब सोझै पक्राउ गरेर क्वारेनटाइन लगेर राख्ने तयारी गरेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : चैत्र १६, २०७६ आईतबार  १० : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]