चैत्र १५, २०८० बिहीबार

कोरोनाको युद्ध मैदानमा भ्रमको खेति किन ?

पर्वतराज भण्डारी

कोरोना भाइरसले आज संसारका सर्वाधिक शक्ति सम्पन्न राष्ट्र अमेरिका लगायत थुप्रै युरोपेलि राष्ट्रलाई चुनौति बनेको छ । सामुन्नेमा उभिएर मृत्युको चहेरा देखाएको छ । इटली जस्तो सम्पन्न राष्ट्रका राष्ट्र प्रमुख जनताको कहालिलाग्दो स्तरमा भइरहेको मृत्यु देखेर डाको छोडेर रुँदै आफ्नो देश तहस नहस भएको र पहिले नागरिकको बलिदानीले बचाएको इटली अब आफ्ना नागरिकलाई बचाउन राष्ट्रले आफ्नो बलिदान चढाउने समय आएको बताइरहेका छन् ।

हाम्रोमा महामारीको स्तर तुलनात्मक रुपमा न्यून छ र ठिकै छ । तर, महामारी एकैपटक भयावह रुपमा फैलन र देखिन सक्ने जोखिम पनि उत्तिकै छ । यस्तो अवस्थामा उच्च सुरक्षा सतर्कता सहित साबधानी पूर्वक सरसफाई, चेकजाँज र उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री सहित हाई–अलर्टमा बस्नुपर्ने समय हो, यो ।

यसै सन्दर्भमा स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य बिभागले यस आपतकालिन स्थितिमा एउटा नीजि कम्पनि (ओम्नि ग्रुप) सँग पिपिइ र टेस्ट किट , ग्लोब्स र मास्क लगायत अत्यावश्यकीय सामग्री मन्त्रालयको कोटेसन भन्दा झन्डै २० प्रतिसत महंगो पर्ने गरी भए पनि तत्काल आपुर्ति गर्ने सर्तमा खरिद सम्झौता गरेको र उक्त कम्पनीले समेत १० प्रतिशत जति मात्रै सामग्री उपल्ब्ध गराई सर्तनुसार बाँकी सामग्री उपलब्ध गराउन नसक्ने स्थिति देखिएपछि सरकारले हिजो मात्रै सम्झौता रद्ध गर्दै उक्त कम्पनीको धरौटी बापतको रु ५ करोड रकम जफत गर्ने र सर्तनुसार काम नगरेकोले कालो सुचिमा समेत राख्ने गरि प्रकृया अघि बढाएको सर्वबिदितै छ ।

यहाँ प्रष्ट के कुरामा हुनु पर्यो भने सामग्री महंगो भयो भनेर उक्त कम्पनीसंँगको सम्झौता रद्ध गरिएको होइन । किनकि हामीलाई तत्काल अत्यावश्यक स्वास्थ्य सामग्री चाहिएकै छ र यो आपतकाल हो । जबकि उक्त कम्पनीले सर्तनुसार सामग्री उपलब्ध गराउन नसेकेकोले सरकारले सहमति तोड्नु परेको हो ।

आज संसारभर २ सय बढि मुलुकमा तिब्र गतिमा संक्रमण फैँलदो छ । यस बिरुद्धको पूर्व तयारी र भाइरसको पहिचान र नियमित स्वास्थ्य उपचारका लागि आवश्यक पर्ने सुरक्षा सामग्री र उपकरणको अन्तराष्ट्रिय बजारमै चरम अभाव र हाहाकार सुरु भएको छ । विश्व बजारमा पीपीई ,टेष्ट किट ग्लोब्स र स्यानिटाइजर लगायतको कुरा छोड्नुहोस, हात धुने गुणस्तरिय साबुन समेतको आपूर्ति असहज भइसकेको छ ।

तर, केहि पोलिटिकल खेलाडि, मिसन मिडिया र तिनका कार्यकर्ताहरु जनताका बिचमा भ्रम छर्ने र यस्तो बिपत्तिको बेला समेत राजनीति गर्ने घृणित दुश्कर्म गरेका छन् । निष्ठा र त्यागको राजनीतिमा जीवन सुम्पिएका स्वास्थ्य मन्त्री भानुभक्त ढकाल जस्ता नेताहरुलाई बदनाम गरि राजनीतिक दाउपेच मार्फत सरकारलाई असफल सिद्ध गर्ने घृणित दुश्प्रयास गरेका छन् । र, त्यस निम्न स्तरको हर्कत प्रति हामी युवाहरु खबरदार भन्न चहान्छौँ । यो तिम्रो राजनीति गर्ने समय होइन जनतालाई जुनसुकै मुल्यमा बचाउने समय हो ।

निश्चय पनि अन्तराष्ट्रिय बजारमै सामग्रीहरुको अभाव हुँदा ति सामग्रीहरुको सिघ्र आपूर्तिको सम्भावना असहज भएको छ । तर, प्रचलित मुल्य भन्दा महँगो लिएर यस्तो मानवीय संकटको समयमा समेत पुँजीपति ब्यापारीहरुले व्यापार भनेको सिर्फ नाफा हो भनेर बुझ्नु र अनुचित नाफा लिन प्रयास गर्नु बास्तवमै मानव सभ्यताकै एउटा दुःखद पक्ष हो । तर, पनि हामीलाई जे जसरी पनि सामग्री त चाहिएको छ । एकातिर अत्यावश्यकीय सामग्री समयमै व्यवस्थापन नहुँदा पनि केहि गर्न सकेन भनेर सरकारको आलोचना गर्ने, अर्कोतिर यस अभाव र त्रासदिपूर्ण बिपद्का समयमा जे जसरी पनि ब्यवस्थापन गरौँ भन्ने सरकार र त्यसका निकायको सकारात्मक पहल कदमीलाई समेत बिबादित गरी राजनीति घुसाउने र जनतामा भ्रम छर्ने काम निन्दनीय छ ।

सरकारले फेरि अर्को प्रकृया गरेर सामग्री छिटो भन्दा छिटो ल्याउनुपर्छ । जीटुजी या अन्य कुनै पारदर्शी प्रकृयाबाट छिटो भन्दा छिटो आवश्यक सामग्री ल्याउने काम होस । कोहि आलोचक बरिष्टहरु हुनुहुन्छ । तत्काल डेलिभर गर्न सक्ने भए तुरुन्तै सरकारलाई खुल्ला प्रस्ताव गर्नुहोस र यो काम गर्नुहोस बिपद्को यो समयमा तपाईको ब्यापार पनि हुनेछ । राज्यले प्रचलित मुल्य भन्दा बढि नै खर्चिएर तपाईबाट सामग्री खरिद गर्नेछ ।

यो जनताको सरकार हो, केपि ओली जस्ता आदर्श नेता जस्ले आफ्नो सिंगो जीवन राष्ट्र र जनताका लागि समर्पण गर्नुभयो । उहाँको नेतृत्वमा रहेको सरकार हो । जनताको सुरक्षा गर्नु यो सरकारको पहिलो सर्त हो । कुनै पनि पोलिटिकल खेलाडी, मिसन मिडिया र देशिबिदेशी प्रतिगामिहरुका षड्यन्त्रहरु सफल हुन दिँदैनौँ । नेतृत्व माथि भइरहेका नियोजित हमला स्विकार्य छैन ।

अझ पार्टी भित्रैबाट भइरहेको हमलाले झन् धेरै पीडा दिएको छ । पूर्व माओवादी साथीहरु जनयुद्ध लडेर आउनुभएको कुरा गर्नुहुन्छ, हो लड्नुभयो, त्याग गर्नुभयो । हाम्रो सम्मान छ, साथिहरुले नराम्रो नसोच्नुहोला हामी पनि डन्डिबियो खेलेर यहाँसम्म आएको होइन ।

पार्टी एकता इतिहासलाई नयाँ मोड दिनका लागि हो । देशको भाग्य भविस्य बदल्नका लागि हो । मिलेर जनताका लागि काम गर्न हो भन्ने बुझौँ । कसैका लागि पार्टी कब्जा गर्न, गुटबन्दी गरेर चटक देखाउन र द्वेश साँध्नका लागि हुँदै होइन । हामी आम प्रगतिशिल युवा साथीहरुलाई अपिल गर्छौँ । कि, यो बिपत्तिको मिलेर सामना गरौँ, तिललाई पहाड बनाएर राजनीति गर्ने समय यो होइन । कृपया च्याँखे राजनीति बन्द गरौँ !

(लेखक : राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य हुन् । )

प्रकाशित मिति : चैत्र २०, २०७६ बिहीबार  ४ : ५० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]