मुलुकभर १ सय २० जना आइसोलेसनमा
काठमाडौँ – सरकारले मुलुकभर १ सय २० जना बिरामी आइसोलेसनमा रहेको जनाएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाभित्र १५ र उपत्यकाबाहिर १०५ जना आइसोलसेनमा रहेको जानकारी दिएको हो ।
मन्त्रालयका प्रवक्ता विकास देवकोटका अनुसार कोरोना संक्रिमत ५ जनाको अवस्था सामान्य रहेको र उनीहरुको उपचार भइरहेको छ । संक्रमित ५ जनामध्ये २ जना टेकु अस्पताल, २ जनाको बागलुङ र अर्का १ जनाको धनगढीमा उपचार भइरहेको उनले बताए।
पोखरामा कोरोना पोजिटिभ नै पुष्टि नभएको बिरामीको सम्बन्धमा सञ्चारमाध्यमहरुमा जथाभावी समाचार आएको भन्दै उनले आपत्ति जनाए। सञ्चारमाध्यमहरुलाई उनले सत्यतथ्य समाचार सम्प्रेषण गर्न आग्रह गरे।
मन्त्रालयले कोरोनासम्बन्धी जिज्ञासाका लागि सञ्चालनमा ल्याएको फोन सेवामा हालसम्म ३५०२ जना जिज्ञासा आएको मन्त्रालयले जनाएको छ।
यस्तै प्रवक्ता देवकोटाले प्रतिदिन नमुना परीक्षणको दायरा सरकारले बढाइरहेको र उपत्यका बाहिर परीक्षण सुरु गरिएको जानकारी दिए।