चैत्र १६, २०८० शुक्रबार

भारतमा ‘भयावह’ बन्दै कोरोना

काठमाडौं । भारतमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको छ । यहाँ अहिलेसम्म दुई हजार ५४७ जनामा यसको संक्रमण भेटिएका छन् ।

प्राप्त पछिल्लो समाचारका अनुसार भारतमा हालसम्म यो सङ्क्रमणबाट कम्तीमा पनि ६२ जनाको ज्यान गएको छ । त्यसैगरी यसका संक्रमितहरुमध्ये १६२ जना निको भएर घर फर्किएका छन् । अरु सबै जना अस्पतालमा उपचाररत छन् ।

भारतीय अधिकारीहरुले यो अवस्थालाई निकै गम्भीर भनेका छन् । उनीहरुले यसैगरी नयाँ संक्रमित थपिँदै जाने हो भने यसले अवस्था झनै गम्भीर हुने देखिएको उनीहरुको भनाई छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा प्रत्येक दिन नयाँ नयाँ संक्रमितहरु थपिँदै जान लागेकोले भारतले घोषणा गरेको लकडाउनको अवस्थामा थप कडाई गर्नुपर्ने धारणा राख्दै आएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत मार्च २४ मा २१ दिनसम्म सम्पूर्ण देशभरि लकडाउनको घोषणा गरेका थिए । भारतमा सबै देशभरमा लकडाउन गरेर सामाजिक दूरी कायम गर्नसक्नु नै यस रोगका विरुद्धमा लड्ने औजार र औषधि रहेको मोदीले बताएका थिए ।

भारतीय प्रधानमन्त्री लकडाउनको घोषणा भएको हिजो नवौं दिनमा जनतालाई सम्बोधन गर्दै कोरोना भाइरस ९कोभिड १९० विरुद्धको संघर्षमा कोही पनि एक्लो नभएको बताएका थिए । उनले भने, ‘कोरोना भाइरसविरुद्धको लडाईमा भारत पनि एक्लो छैन र भारतभित्र पनि कोही नागरिक एक्लो छैन ।’

उनले यस महामारीका विरुद्धमा लड्न विश्वका सबै देशका नागरिक जस्तै एक अर्ब ३० करोड भारतीय नागरिक पनि एक साथ रहेको भनाई राखेका थिए ।

भारतको महाराष्ट्र, तामिल नाडु, केरला, नयाँ दिल्ली, आन्ध्र प्रदेश, कर्नाटक, राजस्थान, तेलाङ्गाना, चन्डीगढ, जम्मु र काश्मिर, लदाख, मिजोरम, आसाम र मणिपुरलगायतका राज्यहरुमा कोरोना भाइरस सङ्क्रमण पाइएको र कतिपय राज्यमा व्यक्तिहरुको ज्यान गएको छ । सरकारी स्रोतले दिएको पछिल्लो तथ्याङ्कअनुसार भारतमा कोरोना भाइरसको संक्रमणबाट ६२ जनाको मृत्यु भएको छ । रासस–एएनआई

प्रकाशित मिति : चैत्र २२, २०७६ शनिबार  ४ : २५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]