बैशाख २०, २०८१ बिहीबार

मेची अस्पताललाई ६ थान पीपीई

रोहित काफ्ले

भद्रपुर । विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमणबाट जोगिन झापाको भद्रपुरस्थित मेची अस्पताललाई रोटरी क्लवले ६ थान उच्च गुणस्तरीय पीपीई सेट प्रदान गरेको छ ।

स्वास्थ्यकर्मीहरुलाई उच्च मनोबलका साथ उपचार सेवामा लाग्न सहयोग पुर्याउने उद्देश्यले रोटरी क्लव अफ विर्तामोड र रोटरी क्लव अफ भद्रपुरले आज संयुक्त रुपमा अस्पतालमा मेडिकल सुपरिन्टेन्डेन्ट डा. पीताम्बर ठाकुरलाई पीपीई सेट हस्तान्तरण गरेका हुन् । रोटरी डिस्ट्रिक्ट ३२९२ ले उपलब्ध गराएको पीपीई सेट, १० लिटर स्यानिटाइजर र ५ सय थान सर्जिकल मास्क प्रदान गरिएको रोटरी क्लव अफ विर्तामोडका प्रेसिडेन्ट इलेक्ट निर्मल भट्टराईले बताउनु भयो ।

सामाजिक दूरीलाई कायम राख्दै मेची अस्पताल पुग्नुभएका रोटरी क्लव अफ भद्रपुरका अध्यक्ष टिकाराज ढकाल, विर्तामोडकी अध्यक्ष निकिता गिरी, दुबै क्लवका पूर्व अध्यक्षहरु र वर्तमान कार्यसमितिका पदाधिकारीहरुले ती स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको पनि उपस्थिति थियो ।

वेलायतमा निर्मित पीपीई सेटमा गाउन, चश्मा, जुत्ता रहेको र एक सेटको मूल्य १७ हजारदेखि २५ हजारसम्म पर्ने रोटरी विर्तामोडकी अध्यक्ष गिरीले जानकारी दिनु भयो ।
सामाजिक सेवामा समर्पित रोटरीले हालको संकटको बेला विभिन्न अस्पतालमा स्वास्थ्य सामग्री र विपन्न वर्गका मानिसलाई रहतका लागि स्थानीय तहहरुमार्फत खाद्यान्न र नगद सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति : बैशाख ५, २०७७ शुक्रबार  २ : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]