दमकको मस्जिदमा ५० बेडको क्वारेन्टाइन बनाउने
बिर्तामोड । दमकको सुन्नी जामे मस्जिदलाई अब ५० बेडको क्वारेन्टाइन बनाइने भएको छ । मुस्लिम धर्मगुरु बसेको झापाको दुई मस्जिदमध्ये सो मस्जिदलाई क्वारेन्टाइन बनाएर जमातलाई एकै क्वारेन्टाइनमा राख्ने तयारी भएको झापा प्रहरीले जनाएको छ ।
बिर्तामोडको मस्जिदमा बसेका जमातलाई भद्रपुरस्थित कलवलगुरीको क्वारेन्टाइनमा लगिएको थियो । अब उनीहरुलाई समेत दमककै मस्जिदमा बनाइने क्वारेन्टाइनमा राख्ने तयारी गरिएको छ । त्यसको सुरक्षाको जिम्मेवारी इकाला प्रहरी कार्यालय दमकलाई दिइएको छ ।

हिजो सम्पन्न बैठकमा दमकका मेयर रोमनाथ ओली, प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना, प्रहरी उपरीक्षक कृष्ण कोइराला, मस्जिद्का अगुवा र अन्य जनप्रतिनिधिबिच भएको छलफलले आजबाट क्वारेन्टाइन सञ्चालन गर्ने निर्णय भएको छ ।
उनीहरु सबैको कोरोना आरडिटी परीक्षण भइसकेको छ । दमकमा रहेका १० भारतीय जमातसहित ११ जना र बिर्तामोडमा ८ भारतीय सहित ९ जनाको आरडिटी परीक्षणमा रिपोर्ट नेगेटिभ आएको छ ।
उदयपुर जिल्लामा रहेको एक मिस्जदममा एकै पटक ठुलो संख्यामा कोरोना पुष्टि भएपछि देशभर रहेका मस्जिद उच्च निगरानीमा राखिएको छ । भारतीय जमात बस्दै आएको खवरले आम नागरिक त्रसित भएपछि सरकारले विशेष निगरानी सहित परीक्षण समेत थालेको छ । झापामा रहेका १८ भारतीय सहित सबै जमातको रिपोट नेगेटिभ आएपछि मस्जिदमाथि रहेको त्रास कम भएको छ ।